व्यवसायतर्फ पूर्वलडाकु पार्टी नेतृत्वप्रति असन्तुष्ट

ladakuकैलाली, १४ कात्तिक । आफ्नो ज्यान र भविश्यको कुनै प्रवाह नगरी देश तथा जनताको मुक्तिका लागि भनेर सशस्त्र युद्धमा होमिएका माओवादीका पूर्वलडाकुहरु पछिल्ला दिनमा आफ्ना नेताका कामकारबाही प्रति असन्तुष्ट रहेका छन् ।

तत्कालीन राज्य व्यवस्था हटाउन विभिन्न जिल्लाको मोर्चामा कटिबद्ध भएर लागेका पूर्वलडाकुहरु पार्टी तथा नेतृत्वले धोका दिएको भन्दै धमाधम व्यवसायतर्फ आर्कषित समेत भएका छन् । उनीहरु भन्छन्–‘पार्टीले जो आश्वासन दिएको थियो । त्यस बमोजिम काम नभएपछि बाच्नलाई भएपनि ऋणदान गरेर सानोतिनो व्यवसाय गर्नुपरेको हो ।’ कलिलै उमेरमा पढाइ छोडेर माओवादीमा लागेको बताउँने अधिकांस लडाकुहरु शान्तिपुर्नबहालीसँगै पार्टीले सेनाबाट बाहिर ल्याएर वाइसिएल र विभिन्न जनसंगठनमा जिम्मेवारी दिएको बताउँछन् । नेतृत्वपंक्तिले जनमुक्ति सेनामा नरहेकालाई सेनामा भर्ना गरेको र उनीहरुले राज्यबाट सेवासुविधा पाएको तर वास्तविक लडाकुहरु भने बञ्चित भएको कैलाली बौनियाँकी पवित्रा जैशी गिरीले बताइन् ।
नौ कक्षासम्म अध्ययन गरेकी ३१ वर्षीया पवित्रा २०५८ सालमा भूमिगत भएकी थिइन् । कैलाली, कञ्चनपुर, बर्दिया तथा चुरेक्षेत्रमा पार्टीको जनसंगठनमा रहेर काम गरेको बताउने पवित्राले २०६१ सालमा पाल्पाको तानसेन, अर्घाखाचीको धरमपानी लगायतका ठाउँमा लडेको समेत बताइन् । पवित्राले सेनामै रहेका गणेश गिरीसँग जनवादी विवाह गरेको बताइन् । १ छोरा १ छोरीको आमा रहेकी पवित्राले पार्टीमा लागेर सवै सम्पत्ति गुमाएको दुखेसो गरिन् । देशमा परिवर्तन आएर सवैले मुक्ति पाउँलान् भन्ने आसा थियो । तर, आफ्ना नेताका क्रियाकलाप हेर्दा त्यो आसा खेर गयो पवित्राले भनिन् । कैलालीको दोदोधरा गाविस–७ वस्ने पवित्राले घरखर्च जोहो गर्नकै लागि ऋणदान गरेर आजकाल बौनियाँ बजारमा ठेलामा फलफूल बेच्नेगरेकी छन् ।
तत्कालिन राज्य व्यवस्थाले २०६० सालको वार्ताको समयमा दार्चुलामा नन्द तारा गिरी ‘प्रतिभा’ लाई छोपेर मारेको थियो । ‘उनै मृत नन्दको शहिदपरिवारका नाममा पाएको तीनलाखले बौनियाँमा घडेरी किनेर सामान्य वस्ने जोहो गरेर ठेलामा फलफूल बेच्न सुरुगरेकी छु,’ पवित्राले भनिन्, ‘सवैभन्दा ठूलो आर्थिक रहेछ । यो (आर्थिक) भए मात्र सवै सम्भव छ ।’ त्यस्तै, सेना समायोजनका बेला स्वैच्छिक अवकास लिएकी पूर्वजनमुक्ति सेनाकी प्लाटुन कमाण्डर सुशिला साउँद ऐडी (२६) पनि बौनियाँ बजारमा जुत्ताचप्पलको पसल खोलेर बसेकी छन् । अछामको सुतार गाविसको बिन्देश्वरी माविमा नौ कक्षामा अध्यनन गरेकी १ छोरा १ छोरीकी आमा सुशिलाले अछामकै भटाकाटे घरभएका माओवादी सेनाकै आकास साउँदसँग २०६२ सालमा जनवादी विवाह गरेकी थिइन् ।
कैलालीको तालबन्द शिविरमा रहेकी सुशिलाले स्वैच्छिक अवकास पश्चात् पाएको रकमले एक वर्षअघि सवा दुई लाखको लगानीमा बौनियाँ बजारमा जुत्ताचप्पलको व्यवसाय गरेकी हुन् । पढाइ छोडेर देश र जनताको लागि भनेर २०६० सालमा भूमिगत भएको बताउने सुशिलाले आजकाल राम्रोसँग पढेको भए हुन्थ्यो भन्ने लाग्नेगरेको बताइन् । ‘बीचमै पढाइ छोडेर ज्यान र भविश्यको प्रवाह नगरी सशस्त्र युद्धमा होमिए । तर, सोचेजस्तो नभएको सुशिलाको भनाई छ । पार्टीमा ठूलो लगानी भएकोले छोड्न पनि नसकेको नेताहरुप्रति केही गर्छन् भन्ने आसा पनि छैन्, सुशिलाले भनिन् ।’ उमेर नपुगेर सेना समायोजनबाट बाहिरिएका आकास साउँदले बैनियाँ बजारमै फैन्सी पसल खोलेका छन् ।
सेना समायोजनमा जान १८ वर्ष पुग्नुपर्ने तर १७ वर्ष मात्र भएर शिविरबाट बाहिरिन पुगेका साउँदले जिविकोपार्जनका लागि तत्कालिन जनमुक्ति सेनाको शिविरबाट बाहिरिँदा पाएको रकमबाट फैन्सी पसल राखेको बताए । साउँदले बौनियाँ बजारमा रहेका कम्तिमा पनि ५०/६० जना पूर्वलडाकुले सिलाइटाइ, तरकारी खेती, फलफूल, फैन्सी, किराना लगायतका पसल राखेर बसेको जानकारी दिए । देश र जनताको मुक्तिको लागि भनेर लडेका आफूहरुलाई आफ्नै नेतृत्वको अदूरदर्शीका कारण आजभोली घर न घाँटको बनाएको पूर्वलडाकाहरुले दुखेसो गर्छन् । उनीहरु भन्छन्–‘पहिले यस्तो बेरोजगार उत्पादन गर्ने शिक्षा लिनु हुँदैन् भनेर पार्टीमा हिडाए । आजभोली आफू सुखसयलमा बसेका छन् । हाम्रो भविश्य भने खस्कदो छ ।’

प्रतिक्रिया