ब्यानर, पोस्टर हटाउँदैको सास्ती

Election Ballat Boxस्याङ्जा, १४ कात्तिक । आसन्न संविधानसभा निर्वाचनमा सहभागी स्याङ्जाका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्न थालेपछि स्थानीय प्रशासनले निगरानी, अनुगमन र हस्तक्षेप बढाउन थालेको छ ।

स्याङ्जाका विभिन्न स्थानमा राजनीतिक दल र तिनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर राखेका झन्डा, पोस्टर, तुल तथा ब्यानर हटाउन सुरु गरेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत, प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिना र निर्वाचन अधिकृतहरू सम्मिलित अनुगमन टोलीले स्याङ्जाको सदरमुकाम पुतलीबजार, फेदीखोला, बयरघारी बजार, राम्बाच्छा, वालिङ मिर्दीलगायतका मुख्य बजार क्षेत्रमा राखेका तुल, ब्यानर तथा पोस्टर हटाएको हो ।
सदरमुकामदेखि वालिङसम्म सिद्धार्थ राजमार्ग र सहायक मार्गमा बढी आचारसंहिता उल्लङ्घन गरी राखिएका प्रचार सामग्री हटाइएको प्रहरी नायब उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
आचार संहितामा उम्मेदवारले दुईवटा मात्र हलुका सवारी साधन प्रयोग गर्न पाउने भएपनि चार/पाँच वटासम्म सवारी साधन बिना अनुमति सञ्चालन गरेको भन्दै नेपाली कांग्रेसको झन्डा राखेर चलाइएका दुई वटा सवारीसाधन समेत नियन्त्रणमा लिएर एक दिनपछि फिर्ता गरिएको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले गाउँमा समेत आचारसंहिता पालनामा कडाइ गरेको बताए । उनले जुनसुकै दल वा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरे कारबाही गर्नका लागि प्रहरी प्रशासनलाई निर्देशन दिएका बताए ।
स्याङ्जामा आचारसंहिताविपरीत राजनीतिक दल तथा तिनका उम्मेदवारले विद्यालयमा आमसभा गर्ने, भोजभतेर तथा चियापान गर्ने, स्थानीय तहमा विभिन्न समस्याका लागि पैसा दिने, डोजर लगाएर कच्ची सडक खन्नेजस्ता काम भएको खबर पाएपछि आचारसंहिताको कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया