राप्रपा-नेपालको अप्रत्यासित जित हुन्छ: थापा

kamal thapaविराटनगर, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले संविधानसभा निर्वाचनमा आफूहरुको अप्रत्यासित जित हासिल हुने दाबी गरेका छन् ।

सुनसरीको इटहरीमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राप्रपा नेपालको जित हासिल हुने परिस्थिति सिर्जना हुँदै आएको बताए ।

‘हिन्दू राष्ट्र नेपाल र पूर्ण संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्थाका लागि अघि सारेको नीतिका कारण हामी जितको नजिक पुगेका छौं,’ उनले भने ।

उनले चार ठूला राजनीतिक दलका गतिविधिबाट दिक्क भएका आम नेपाली जनताले विकल्प खोजिरहेको बताए ।

‘राप्रपा नेपालप्रति जनताले विश्वास देखाएका छन्,’ उनले भने, ‘चार ठूला राजनीतिक दलको विकल्पमा राप्रपा नेपाल उदाएको छ ।’

अध्यक्ष थापाले ठूला चार दल एमाओवादी, काग्रेस, एमाले र मधेसवादी दलहरुकै कारण पहिलो संविधानसभाले संविधान दिन नसकेको दोहर्‍याए ।

उनले चार दलकै कारण नेकपा–माओवादी चुनावी मैदानमा अटाउन नसकेको बताए ।

प्रतिक्रिया