दोलखा, १३ कात्तिक । दोलखाको सदरमुकाम चरिकोटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी सभा विथोल्न नेकपा–माओवादीले दोलखासहितका बिभिन्न जिल्लामा यातायात बन्द आह्वान गरेको छ ।
यातायात बन्दका कारण सिन्धुपाल्चोक, काभ्रे र दोलखाको जनजीवन प्रभावित भएको छ ।
नेकपा–माओवादीले अरनिको राजमार्गका साथै विभिन्न स्थानमा रुख ढालेर आवागमनमा अवरोध पुर्याएको छ ।
यसैबीच, अध्यक्ष दाहालको चुनावी सभालाई विथोल्न अपरिचित समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
लामोसाघु जिरी सडक खण्डको चरङ्गे खोला नजिक सडकमा राखिएको बम सेनाले आज (बुधबार) निष्क्रिय बनाएको हो ।
बम निष्क्रिय पारिएको स्थानमा नेकपा–माओवादीको चुनाव बहिष्कार सम्बन्धी सामाग्री बरामद भएको छ ।
नेकपा–माओवादीका जिल्ला सेक्रेटरी प्रेम दर्नालले बमका विषयमा आफूलाई केही जानकारी नरहेको बताए ।
प्रतिक्रिया