कठै कुशवाहा †

Ramchandra-Pyasi-Kushbahaबारा, ११ कात्तिक । बारा क्षेत्र नं ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका एमालेका पूर्वसभासद् र उनका अन्य दुई सहयोगीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

बारा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवारद्द आलमको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहासहित दुई जनालाई शनिबार पक्राउ गरेको थियो । तीनै जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कुशवाहासहित भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई सार्वजनिक गरेको हो । ब्युरो प्रमुख डिआइजी प्रकाश अर्यालले प्रारम्भिक अनुसन्धानमा कुशवाहाको योजनामा एमालेका उम्मेदवार आलमको हत्या भएको जानकारी दिए । ‘घटनाको पूर्णविवरणपछि सार्वजनिक हुनेछ । तर, हाल हत्या योजनामा कुशवाहालगायत तीन जनाको संलग्नता रहेको प्रमाण भेटिएको छ,’ उनले भने । घटनाबारे थपअनुसन्धान भइरहेको पनि डिआइजी अर्यालले बताए । आफूले टिकट नपाएको झोकमा कुशवाहले आलमको हत्या गरेको दाबी प्रहरीको छ । यी दुवै जनाबीच त्यो क्षेत्रको टिकटको विषयलाई लिएर विवाद पनि भएको थियो । लामो समयदेखि राजनीतिमा सक्रिय भएकाले आफूले नै टिकट पाउनु पर्ने दाबी पूर्वसभासद् कुशवाहले गर्दै आएका थिए । बाराको बन्जरियाका ५० वर्षीय कुशवाहा विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिए । हाल उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यसमेत हुन् । आलम हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक अतिक खान पेसाले इञ्जिनियर हुन् । भारतको अलिगढ घर भएका खान लामो समयदेखि वीरगंजको लक्ष्मीटोलमा व्यापार गर्दै आएका छन् । त्यस्तै, अर्का अभियोगी बर्मा भारतमा पत्रकारिता गर्दै आएका छन् । भारत रक्सौल घर भएका बर्माले आलम हत्यामा सूचना व्यवस्थापनको काम गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार आलम हत्याको योजना ६ महिनाअघि बनाइएको थियो । प्रहरीका अनुसार ११ असोजमा काठमाडौंको जोरपाटीमा भारतीय नागरिक मोहम्मद सुनाहकलाई गोली हान्ने र आलमको हत्या गर्ने सुटर एकै व्यक्ति हो । आलममाथि १८ असोजमा बाराको परवानिपुरस्थित चसावती खाद्य उद्योगअगाडि गोली प्रहार भएको थियो । गम्भीर घाइते आलमको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्चमा २४ असोजमा मृत्यु भएको थियो । तराईमा भूमिगत सशस्त्र समूह मधेस मुक्ती टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस)ले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विरोधस्वरूप आलमलाई गोली हानेको दाबी गरेका थिए ।

प्रतिक्रिया