काठमाडौंबाट गिद्ध लोप

giddaकाठमाडौं, ११ कात्तिक । महामारी फैलिन रोक्ने र वातावरण स्वच्छ बनाउने पंक्षीको नामले चिनिने गिद्ध काठमाडौं उपत्यकाबाट लोप भएको छ । सन् १९९० को दशकसम्म सिनो फ्याँकिएको ठाउँ वरपर देखिने गिद्ध केही बर्ष यता उपत्यकामा भेटिन छाडेपछि पक्षीं विशेषज्ञले यस्तो दाबी गरेका हुन् । नेपालमा पाइने आठ प्रकारका गिद्धमध्ये डङ्गर, सानो खैरो, सुन गिद्ध र सेतो गिद्ध उपत्यकाबाट लोप भएको विज्ञहरू बताउँछन् ।

यीमध्ये डंङ्गर, सुन र सानोखैरो गिद्ध अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आइयुसिएन)ले अति संकटमा परेको सूचीमा राखेको प्रजाति हुन् । सेतो गिद्ध संकटको सूचीमा सुचीकृत प्रजाति हो । ६० वर्ष अघिसम्म संकटमा परेको सूचीमा रहेका गिद्धको वासस्थानको रुपमा काठमाडौं रहेको थियो ।
उपत्यकामा बढ्दो जनसंख्या, जनावरमा औषधिको प्रयोग, खुला स्थानको अभाव, घरपालुवा जनावर नपालिनु जस्ता कारणले गिद्ध लोप हुदै गएको पंक्षी विशेषज्ञ डा. हेमसागर बरालले जानकारी दिए । ‘अघिल्लो दशकसम्म उल्लेख्य रूपमा काठमाडौंमा देखिने गिद्ध पूरै लोप भएर गए,’ उनले भने ‘यसको सबैभन्दा प्रमुख कारण जनावर बिरामी हुँदा प्रयोग गरिने डाइक्लोफेनेक औषधि हो, त्यसपछि सिनो अभाव ।’ बढ्दो सहरीकरण पनि गिद्ध लोप हुनुको प्रमुख कारण भएको उनले जानकारी दिए । उनका अनुसार अहिले कतैकतै काठमाडौंमा देखिने गिद्ध हिमाली क्षेत्रबाट आएका घुमन्ते गिद्ध हुन् । ती गिद्धहरू अरूभन्दा धेरै संख्यामा रहेकोले धेरैजसो भू–भागमा पुग्छन् । डाइक्लोफेनेक औषधि सेवन गर्ने पशु सन्चो नभै मर्‍यो भने त्यसको सिनो खाने गिद्ध पनि मर्ने विज्ञहरुको दाबी छ । पछिल्लोपटक ६० वर्षअघि सन् १९५० मा काठमाडौंमा गिद्धको गुँड भेटिएको बताइन्छ । उपत्यकामा कुनबेला कति संख्यामा गिद्ध थिए भन्ने कुनै रेकर्ड छैन ।
सन् १९९० मा गरिएको गिद्धको गणनामा नेपालभर पाँच लाख गिद्ध थिए । गत वर्षसम्म आइपुग्दा सो संख्या घटेर नेपालभर पाँच हजारमा सीमित भएको बर्ड कन्जर्भेसन नेपालले जनाएको छ । १९ वर्षभित्र पाँच लाख गिद्ध पाँच हजारमा सीमित हुनुको पछाडी जनावरमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि नै प्रमुख हो । सिनो खाने हुँदा गिद्धले दुर्गन्ध फैलिन दिँदैन जसका कारण हैजा, रेविज, प्लेग जस्ता रोग फैलनबाट रोकिन्छ । यसको बथानले सिनो खाइदिँदा छाडा कुकुर र स्याल बढ्ने संभावना पनि रहँदैन ।

प्रतिक्रिया