एनआरएनएले पाँचतारे होटल बनाउने

काठमाडौं : मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा पाँचतारे होटल स्थापना गर्ने घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष शेष घलेले दुईसय ‘डिलक्स’ कोठायुक्त होटल राजधानी, पोखरा, चितवन वा लुम्बिनीमा स्थापना गरिने जानकारी दिए ।
रोजगारी सृजनाका साथै वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन होटल उपयुक्त माध्यम भएको बताउँदै उनले जलविद्युत्, व्यावसायिक कृषिफर्म र पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्दै जाने बताए । सङ्घले वैदेशिक रोजगारीमा खाडी मुुलुक र मलेसिया गएका श्रमिकको मृत्यु, अङ्गभङ्ग वा अलपत्र परेकालाई आर्थिकरुपमा सघाउन राहत कोष स्थापना गरिएको समेत उनले बताए ।
त्यसमा आफूले एक करोड प्रदान गरेको घोषणा गरे । ‘कोषमा थप रकम पनि सङ्कलन गरिने र एनआरएनएनमा आबद्ध एकलाख सदस्यबाट आवश्यक रकम जुटाउने छ’ उनले भने । सङ्घले काठमाडौमा कार्यालय स्थापना गर्न तीन करोड ६५ लाख सङ्कलन गरिसकेको छ पनि उनले बताए ।

प्रतिक्रिया