पूर्वेली सभ्यता भित्र काली चलचित्र

himal_dhanमानव सभ्यता कृत्रिम विषयवस्तु हो । पाश्चात्य सभ्यताभन्दा पूर्वेली सभ्यताका विविध पक्ष अति नै उत्कृष्ट जीवनोपयोगी र सुसंस्कृत छ । यसो भनिरहँदा पाश्चात्य सभ्यताचाहिँ निकम्मा हो भन्न खोजिएको चाहिँ होइन । यसै सिलसिलामा आज यहाँ सभ्यताको लेखाजोखा होइन कि यस सभ्यताअन्तर्गत कला पक्षबारे केही चर्चा गरिन्छ ।
कतिपय चलचित्र दिलदिमाग र ज्ञानलाई ढोकाबाहिर राखेर प्रदर्शन हलभित्र प्रवेश गर्नुपर्ने खालका निर्माण भएका छन् । भन्नुको तात्पर्य यो हो कि कुनै पनि जीवन जगत्मा मेल नखाने विषय प्रस्तुतिलाई चलचित्रमा परिकल्पना गरी उतार गरिएको पाइन्छ । सानो उदाहरण दिउँm, खाना पकाउने पात्र कुनै प्रदर्शनीमा ठाँटिएर हिँड्न लागेको वा विशेष भेला कचहरीमा जान लागेको जस्तो शृंगार–पटारमा भान्साकोठामा खान बनाइरहेको सातसज्जामा पात्रहरूलाई देखाउने काम गरिन्छ । यस्तो स्थितिले कुनै पनि विषयवस्तुलाई सही ढंगले यर्थात् चित्रण हुन सक्दैन ।
कला ‘कला’ नभई बतासे अभिव्यक्ति मात्र हुन जान्छ । त्यसकारण कलालाई यथार्थतामा चित्रित गर्नुपर्छ । अनि मात्र सो कला सत्यलाई अँगाल्न सफल बन्न सक्छ । दर्शकलाई दोष दिएर कलाको मर्म समाजमा स्थापित हुन सक्दैन । कला ‘कला’ हुनुपर्छ । त्यो भनेको विषय के हो भने समाज र जीवनको तत्कालीन अवस्थाको यथार्थलाई ठोस आकारमा चित्रित गरिनुपर्छ । तब मात्र कुनै पनि कला वा चलचित्र जीवन्त बन्न सक्छ । यसभित्र रहेको सबै पक्ष युगयुगसम्म जीवित रहन सक्छ ।
कलाले जीवन र समाजको व्याख्या विश्लेषण उजागर गर्ने मात्र होइन कि यसले जीवनलाई उज्यालोतर्फ उन्नत तरिकाले डोहोर्‍याउने काम पनि गर्छ । यसो भएको खण्डमा मात्र कला सजीव बनेर युग–युगसम्म सार्थक बन्छ । चाहे त्यो गीत संगीत कला होस्, चाहे त्यो चित्रकला होस्, आख्यान कला नै किन नहोस् । चलचित्र त झन् कलाक्षेत्रको अति नै महत्वपूर्ण विधा हो । किनभने चलचित्रबाट जति सहज ढंगले जनसमक्ष आºनो विचार र कलाकृतिलाई प्रक्षेपण गर्न सजिलो छ अरू कलामार्फत त्यसो हुन सक्दैन । पठितदेखि अपठित मानव समुदायले सहज ढंगले अवलोकन गरी बुझ्ने/बुझाउने कला नै चलचित्र हो । यसको महत्व यसरी समाजमा गर्भिलो हुन गएको छ ।
आज यहाँ नेपाली चलचित्र जगत्मा उदाएको एक चलचित्र छ । महिला शक्तिको विशेष बोधगम्य विषयमाथि चासो राखिएको एक चलचित्रले यस क्षेत्रको चर्चा योग्य स्थान ओगटेको छ । प्रदर्शनमा आएको चलचित्र कालीबारे छोटो चर्चा गर्न लागिएको हो । यस चलचित्रमा देखाउन खोजिएको सारलाई बँुदागत रूपमा उल्लेख गर्न उपयुक्त छ ।
१. परिकल्पना– अरू नेपाली चलचित्रभन्दा काली चलचित्रमा निर्माता/निर्देशक र कलाकारले राम्रो कला पदर्शन गरेका छन् । ती सबै पात्रलाई धन्यवाद दिनुपर्छ । किनभने कुनै पनि कलाको आधारभूत कोसेढुंगो भनेकै समग्र परिकल्पना हो ।
परिकल्पना जीवन, समाज र समयसापेक्ष भएको खण्डमा मात्र कला सजीव बनेर स्पष्ट ढंगले निर्विवाद कलाको जीवन धारण गर्न सफल हुन्छ । यो चलचित्र पनि यही कुराले गर्दा सजीव हुन गएको हो । त्यो तत्व के हो भने महिला कमजोर छैन भन्ने दर्बिलो सन्देश यस चलचित्रले नेपाली समाजलाई प्रदान गरेको छ ।
नेपाली समाज विशेषत : ककेसियन समाज बनोटभित्र महिलालाई अर्थात् छोरीहरूलाई दोस्रो दर्जाको मानव जाति ठान्ने विचार र संस्कृति यस समाजमा विद्यमान छ । सामन्तवादी पुरुष प्रधान्यताको चलखेलले गर्दा मात्र महिलालाई अवला नारी भनि चित्रित गरिएको हो । महिला कमजोर र अवला छैनन् । उसलाई समयसापेक्ष कदममा तगरा नलगाउने हो भने महिला एक ज्वाजल्यमान शक्ति पो हो भन्ने कुरालाई यस चलचित्रमा पुष्टि अनि चित्रित गरिएको छ ।
महिला भनेको अदम्य शक्ति हो । अजेय मानव किल्ला हो । ऊसँग अपार शक्ति छ । माया–ममताको शक्ति, सिर्जनाको शक्ति, सहन गर्ने शक्ति, सुखानुभूतिको ग्रहण शक्ति र क्षमादान दिन सक्ने ठूलो दिलको शक्ति महिलाहरूमै अन्तर्निहित छ । यति मात्र उल्लेख गराँै कि महिलामा अन्तर्निहित रहेको विशेष शक्ति र गुणलाई जति व्याख्या गरे पनि अपूरै रहन्छ । अरू कुनै पुरुष व्यक्तिमा प्राप्य छैन । यसैका विषयमा आधारित एउटा पक्ष आक्रामक र रक्षात्मक शक्तिलाई कसरी गठजोर गरी कार्यान्वयन हँुदो रहेछ भन्ने कुरा काली चलचित्रमा उजागर भएको छ । यसको निमित्त परिकल्पनाकर्ता सिर्जनशील कलाकारलाई धन्यवाद साथै अरू सफलताका लागि हार्दिक मंगलमय शुभकामना पनि छ ।
२. पूर्वेली मान्यताअनुसार महिला शक्तिलाई बहुरूपी प्रतिभामा उजागर गरी जनसमक्ष ल्याउने काम भएको छ । निर्देशक र छायांकनकर्ताले महिला शक्तिको स्वरूपलाई दर्शकसमक्ष ल्याउन सफल रहेको छ । यस विषयलाई आँखाले मात्र होइन कि पूर्वेली सभ्यताको दिल र दिमागले समेत हेर्न आवश्यक छ । किनभने व्यवहारमा महिलालाई शक्ति कमजोर भनि सामन्तवादी पुरुष सोचले घर गरेको मानव समुदायका लागि शक्तिको रूप मात्र धारण होइन कि व्यवहारमा समेत महिला शक्तिशाली छन् भन्ने कुरा पनि स्पष्ट गरिएको छ ।
३. सज्जा कला– कथावस्तुका आधारमा चलचित्रका अभिनय र अभिव्यक्तिलाई ठ्याक्कै सुहाउने कलाकारहरूको सजिसजाउ दृष्टिप्रिय नै छ । शक्ति प्रदर्शनमा कुनै पनि प्राणीले प्रदर्शित यथार्थ अभिव्यक्ति पनि प्रमुख पात्रहरूले अभिनयमा उतार गर्न सफल छन् । त्यसकारण यो काली चलचित्र दर्शकमाझ धन्यवादको पात्र भएको महसुस गरिएको छ ।
चलचित्रमा हुनुपर्ने विशेषता भनेको दर्शकलाई सहज ढंग तथा सरलीकृत गरी कुनै पनि विषयलाई कलात्मक ढंगले पस्केर सभ्य, सु–संस्कृत धरातलीय यथार्थमा रहेर दिन सक्नु नै यस कला क्षेत्रको सफलता मान्नुपर्छ । यो कुरा यस चलचित्रमा अन्तरनिहीत छ ।
पूर्वेली सभ्यता र संस्कृतिलाई बचाउ गर्दै आधुनिकीकरणमा नेपाली चलचित्र जबरजस्त उकाली लाग्न आवश्यक देखिन्छ । यसको सानो कोसेढुंगाको काम यो काली चलचित्रले गर्न खोजेको छ । सो आवश्यकताको परिपूर्ति गर्न प्रयत्नरत देखिन्छ ।

प्रतिक्रिया