संविधान नबनेसम्म सिरहा छाड्दिन : प्रचण्ड

prachandaसिरहा, ९ कार्तिक । एमाओवादीका अध्यक्ष प्रचण्डले संविधान नबनेसम्म सिरहा नछाड्ने भएका छन् । उनले आर्थिक विकासको पूर्वाधार नबन्दासम्म सिरहा नछोड्ने उद्घोष गरे । आफ्नो चुनावी क्षेत्र सिरहा आइपुगेका अध्यक्ष प्रचण्डले घरदैलो अभियान तथा चुनाव प्रसार अभियानको क्रममा चुनाव जितेर नफर्किने शंका उपशंका नगर्न सिरहाली जनतालाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले खानेपानी, आर्थिक विकास र संघीय संविधान नबनुनजेलसम्म सिरहा नछोड्ने बताएका छन् ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए पनि बहुमत नहुदा जनताको पक्षमा प्रस्तुत गरिएको बजेट कार्यान्वयन गर्न नदिएको आरोप लगाए । उनले सिरहाबासीलेको प्रतिनिधिको रुपमा राष्ट्रपति वा प्रधानमन्त्री भएर सिरहाको विकासलाई तिब्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ‘प्रचण्ड’ ले चुनाव जित्नको लागि उम्मेदवारी मधेशमा नदिएको भन्दै आफूले मधेश र मधेशी जनताको पहिचान र हक अधिकारका लागि मधेशमा उम्मेदवारी दिएको दावी गरे ।
‘यथास्थितिवादी, प्रतिक्रियावादी, पहिचान र संघीयता विरोधीहरुले वर्षौदेखि मधेसीहरूलाई धोका दिंदै आएको चर्चा गर्दै उने ४ मंसिरमा हुने दोस्रो तथा अन्तिम संविधानसभाको निर्वाचनमार्फत् पहिचानसहितको संघीयताको एजेण्डा बोकेको आफ्नो पार्टीलाई बहुमत बनाए संविधानको सुनिश्चित हुने उल्लेख गरे ।
१ बजे सिरहा प्रवेश गरेका अध्यक्ष प्रचण्डले सिरहा १ नम्बर क्षेत्रको लहान, ४ नम्बर क्षेत्रको मुसहर्निया र अध्यक्ष प्रचण्डले उम्मेद्वारी दिएको सिरहा ५ नं. क्षेत्रस्थित लालपुर, मुक्सार, वेतौना लगायत क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको छ ।
दुई ठाउँमा सकेट बम भेटियो
सिरहाको दुई छुट्टै स्थानमा सकेट बम फेला परेको छ । जमदह ४ र मुक्सार ३ स्थित एमाओवादीको पार्टी कार्यालय भित्र प्लाष्टिकको झोलामा पोको पारेर राखिएको अवस्थामा शुक्रबार विहान बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिएका छन् ।
मुक्सारका प्रकाश जर्घाका अनुसार विहान पार्टी कार्यालयमा कार्यकर्ताहरु प्रवेश गर्नेवेलामा शंकास्पद झोला देखेपछि उनीहरूले प्रहरीलाई खवर गरेका थिए । प्लाष्टिकको झोलामा पोको पारिएर राखेको सामान खोलेर हेर्दा पाइप गाँसिएको देखेपछि सकेट बम भएको अनुमान गरेको बताए ।
अहिले दुवै ठाउँमा प्रहरीले घेरा हालेर सुरक्षा दिईरहेको र सिरहाको चोहर्वा स्थित नेपाली सेनाको नयाँ श्री नाथ गणवाट बम डिस्पोजल टोलीलाई बोलाईएको प्रहरीले जनाएको छ । बम भेटिए पछि त्यहाको जन जीवन आतंकित भएको छ । मानिसहरू घरवाट बाहिर निस्कन छाडेका छन् ।
यसैबीच तराईमा सक्रिय भूमिगत सशस्त्र समूह मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारी पार्टीका अध्यक्ष रणवीर सिंहले सञ्चारकर्मीहरुलाई फोन गरी उक्त बम आफ्नो पार्टीले राखेको जिम्मेवारी लिएका छन् । उनले प्रचण्ड मधेशको अपमान गर्न सिरहामा चुनाव लड्न आएकोले उनलाई यहाावाट धपाउन बम राखिएको बताएका छन् ।
यता वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीले प्रचण्ड सिरहा आउने भएकोले उनको चुनाव प्रचार कार्यक्रम विथोल्न आज सिरहा बन्दको घोषणा गरेको छ । उक्त पार्टीको सिरहा जिल्ला संगठन समितिका ईन्चार्ज जितेन्द्र सिंहले हस्ताक्षर गरि वितरण गरेको प्रेस विज्ञप्तीमा भनिएको छ नौटंकी र झुठको खेति गर्ने चुनाव र लेण्डुप दोर्जे प्रचण्डको सिरहा भ्रमण विथोल्न सिरहा बन्दको आह्वान गरिन्छ । बन्दको सामान्य असर परेको छ । यातायात, वजार र शैक्षिक संस्थाहरु आशिंक रुपमा बन्द भएका छन् ।
यता एमाओवादी सिरहाका ईन्चार्ज अजय शंकर नायक अविनासले भने ‘बम राखिएकै हो । यो अनर्गल प्रचार गर्न राखिएको हो । हामी हतोत्साहित हुँदैनौ । हाम्रो कार्यक्रम जारी रहन्छ ।’

प्रतिक्रिया