काठमाडौं, ८ कात्तिक । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले सात प्रदेशसहितको संघीय राज्यको प्रस्ताव गरेको छ । राप्रपाले मधेसमा दुई वटा राज्यको परिकल्पना गरेको छ ।
काठमाडौंमा आज (शुक्रबार) घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष सूर्यबहादुर थापाले संघीय राज्य बनाउँदा सबैको पहिचान हुने गरेर बनाईने जनाएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पार्टी प्रतिबद्ध छ,’ उनले भने ।
उनले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिसहितको संसदीय पद्धतीको पक्षमा आफूहरु रहेको बताए ।
ठूला भनिएका दलहरुको व्यक्ति केन्द्रित स्वार्थका कारण संविधान बन्न नसकेको भन्दै थापाले राप्रपाले बहुमत ल्याउनु पर्ने बताए ।
केन्द्रमा दुई सदनात्मक संसद र प्रदेशमा एक सदन रहने तीन तहको प्रणाली हुनुपर्ने पनि राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।
सर्वधर्म सापेक्ष नेपालमा जोड दिंदै राप्रपाले तराईमा जनक प्रदेश र बुद्ध प्रदेशको प्रस्ताव गरेको छ ।
अध्यक्ष थापाले उच्च माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क बनाइने बताए । ‘वैदेशिक रोजगारीका लागि जान चाहनेलाई निब्र्याजी ऋण उपलब्ध गराउने छौं,’ उनले भने ।
महाकाली, कर्णाली, कोशी, गण्डकी लगायतका नदीको पानी व्यवस्थापन गरेर विद्युत र सिंचाईमा आमूल परिवर्तन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया