अध्यक्ष दाहाल ‘राष्ट्रको नेता’ बन्न सक्दैनन् : सिंह

काठमाडौं, २ कात्तिक । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले हज्जारौं सर्वसाधारण मारेर स:खुसयलको जीवन व्यतित गर्ने व्यक्ति राष्ट्रको नेता बन्न नसक्ने टिप्पणी गरेका छन् ।
काठमाडौंको क्षेत्र नम्बर एकमा आज (शनिबार) आयोजित चुनावी प्रचार–प्रसार कार्यक्रममा महामन्त्री सिंहले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रको नेता बन्नै नसक्ने बताए । ‘हज्जारौं सर्वसाधारण मारेर सु:खसयलको जीवन व्यतित गर्ने व्यक्ति राष्ट्रको नेता बन्नै सक्दैन,’ उनले भने, ‘राष्ट्रको नेता बन्न त्याग बलिदान र जनतालाई रिझाउन सक्नु पर्छ ।’
एमाओवादीले अध्यक्ष दाहाललाई ‘राष्ट्रको नेता’मा प्रस्ताव गरे पछि कांग्रेस महामन्त्री सिंहले विरोध जनाएका हुन् ।
अघिल्लो संविधानसभाका बेला आफ्नै दलका सभासदहरुलाई कन्भिन्स गरेर राख्न नसक्ने आरोप अध्यक्ष दाहाललाई लगाए । उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै पार्टीका नेताले राष्ट्रको नेता मान्ने छैनन् ।’
अध्यक्ष दाहालमा सु:खसयलको लालसा बढेको भन्दै उनले एमाओवादीका नेताहरु नव धनाढ्यहरु रहेको बताए ।
एमाओवादी र एमालेले दुई/दुई पटकसम्म अवसर पाएर पनि केही काम गर्न नसकेको महामन्त्री सिंहको आरोप छ । ‘एमाओवादी र एमालेले प्रधानमन्त्रीको जिम्मेवारी दुई/दुई पटक पाए,’ उनले भने, ‘जिम्मेवारी पाउँदा समेत केही गर्न नसक्ने उनीहरुले आगामी दिनमा पनि केही गर्न सक्दैनन् ।’
महामन्त्री सिंहले एमाओवादीले राष्ट्रिय झण्डा फेर्न गरेको प्रस्तावले अहिले पनि मुलुकलाई ठूलो धक्का लागेको बताए । ‘एमाओवादीले न्यायालयलाई पनि नियन्त्रणमा राख्ने अनेक प्रयास गर्‍यो,’ उनले भने ।
यसैबीच, महामन्त्री सिंहले कांग्रेसले मात्रै लिखित लोकतान्त्रिक संविधान बनाउन सक्ने दोहर्‍याएका छन् । ‘कांग्रेसले मात्रै मुलुकलाई नयाँ संविधान दिन सक्छ,’ उनले भने, ‘बहुमत आएमा मुलुकका अधिकांस समस्या समाधान गर्न कांग्रेस सक्षम छ ।’

प्रतिक्रिया