म्याद नाघेका सामान र सडेका माछा बरामद

धनगढी : टीकापुर नगरपालिकामा अनुगमन समितिले टीकापुर बजारका माछा मासु पसल, किराना पसल, मिठाइ पसल र डेरीको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका सामान, सडेका माछा र मरेका कुखुरा भेटिएका छन् भने मासु छोपेर नराखेको, झिंगा भन्केको पाइएको छ । भानुचौकमा राखेर बेचिने सबैजसो माछा सडेको पाइएकाले जफत गरेको हो ।
अनुगमनपछि टीकापुर नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख देवीप्रसाद आचार्यले एक सय किलो माछा, चितवन फ्रेस हाउसबाट मरेको कुखुरा दुई किलो, खान अयोग्य मासु एक पोका, अंकुर ज्ञवाली इन्टरप्राइजेजबाट फ्रुटी जुस ठूलो आठ बोतल, सानो जुस पाँच बोतल, त्रिशक्ति इन्टरप्राइजेजबाट खानेतेल पाँच जर्किन र सगरमाथा डेरीबाट नरिवल पाउडर एक प्याकेट बरामद गरी इलाका प्रहरी कार्यालयमा नष्ट गरेको जानकारी दिए ।
अनुगमनमा संलग्न पशुसेवा केन्द्र टीकापुरका प्रमुख हरिराम चौधरीले माछा मासु व्यवसायीहरुले जनस्वास्थ्यमा ख्याल नगरेको बताए । कसाइ नयन कुरेसीले टीकापुरका उपभोक्ता नै देखाएर राखेपछि मात्र किन्न आउने र मासुलाई जालीभित्र राख्दा ग्राहकले नहेर्ने गरेको उनले बताए ।
बजार अनुगमनमा टीकापुर नगरपालिका, इलाका प्रशासन कार्यालय, प्रहरी कार्यालय, टीकापुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि र पशु प्राविधिक सहभागी रहेका थिए । यसैगरी, जिल्ला खाद्य गुण नियन्त्रण अनुगमन टोलीले धनगढी र अत्तरियाका २७ पसलको अनुगमन गरेको छ ।
टोलीले धनगढीको ट्राफिक चौराहा रहेको पौडेल किराना स्टोर, हसनपुरका सहस्त्रलिंग बिर बेताल किराना स्टोर, नवदुर्गा किराना स्टोर, दमयन्ती ट्ेरडर्स, अम्बिका ट्ेरडर्स, अम्बे किराना पसल, चौधरी सपिङ सेन्टरको अनुगमन गरेको छ ।
यस्तै, अत्तरियाको तारा ट्ेरड कन्सर्न, जोरायल किराना पसल, भट्ट किराना पसल, पवित्रा रिजाल किराना पसल, जयभवानी किराना पसल, तुलसी भण्डारको अनुगमन गरेको छ । अनुगमनका क्रममा ती पसलहरूमा म्याद नाघेका विस्कुट, पेयपदार्थ, तथा अखाद्य बस्त बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख संजीवकुमार कर्णले बताए ।

प्रतिक्रिया