विजया दशमीको शुभकामना

नेपाली जनताको महान् चाड विजया दशमीको आज सप्तमी तिथि । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडका प्रारम्भ घटस्थापनादेखि भए पनि विशेष रूपमा आजको दिनदेखि मनाउने गरिएको छ । यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि र अन्य विशेष कार्यक्रमका लागि विदेश गएका नेपाली पनि घर फर्किएका छन् । सुनशान रहेको दुर्गम गाउँमा पनि चहलपहल बढेको छ । विदेश गएका धेरैजसो नफर्किए पनि कामका खातिर भारत जानेको ठूलो संख्या घर फर्किसकेको छ । मध्य तराई र पूर्वी पहाडका केही क्षेत्रमा दशँै अशान्त बन्छ कि भन्ने शंका भए पनि अन्य क्ष्ँेत्रमा दशैँको रौनक आइसकेको छ । यस दशैँले गर्दा उपत्यकामा बाहिरबाट आएर काम गर्नेहरूको ठूलो संख्यालाई घर फर्काएको छ । वर्ष दिनपछि आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शीवचन लिने यस चाडका लागि गरिब वर्गले पनि विभिन्न परिकार बनाएर खानका लागि सामग्री जोहो गरेका हुन्छन् । अर्थात्, दशैँले सबैलाई एक खालको खुसी दिने गरेको छ ।
२०७० सालको बडादशैँ र तिहारको रौनकसँगै मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनको समेत रौनक थपिएको छ । यही दशैँ र तिहारको मेसो मिलाएर उम्मेदवारहरूले प्रचार कार्यक्रम अगाडि बढाउने योजना बनाएको पाइन्छ । निर्वाचन आयोगले भोज भतेर चिया–पान र अन्य प्रचारलाई प्रतिबन्ध लगाए पनि दशैँ, तिहार, छठ र इद जस्ता पर्व यही बेला पर्ने भएको हुँदा आयोगको निर्देशन खासै पालना हुने देखिँदैन । यो चाडमा सामूहिक रूपमा खाने र रमइलो गर्ने चलन छ । आयोगको निर्देशन मान्ने हो भने उम्मेदवार कसैले पनि सामूहिक कार्यक्रम नगर्नर्ुपर्ने हुन्छ । यो खासै कार्यान्वयन नहुने निर्देशन आयोगले नगर्नुपर्ने थियो । जे होस् दशैँसँगै निर्वाचन पनि आएको हँुदा धेरै स्थानमा दशैँ राजनीतिक माहौलमा रंगिने निश्चित छ । राजनीतिक नेताप्रति वितृष्णा भए पनि दशैँका बेलामा आएका कार्यकर्ता र उम्मेदवारलाई स्वागत गर्न सर्वसाधारण बाध्य भएका छन् । विदेशबाट फर्किएका र उपत्यका लगायतका सहरबाट घर आएका आफ्ना, मतदातालाई भेट्न पनि उम्मेदवारहरू गाउँ पुग्न थालेका छन् । अस्तिसम्म सुनसान रहेको ग्रामीण क्षेत्रमा दशैँ र चुनावसँगै भित्रिएको छ । जसले गर्दा यो वर्षको दशैँ भिन्नै महत्त्व साथ आएको मान्न सकिन्छ ।
महँगी र अभावले दशैँलाई मितव्ययी साथै औपचारिक रूपमा मात्र मनाउनुपर्ने बाध्यतामा परेका जनतालाई अप्ठ्यारो छ । यता निर्वाचनका लागि चन्दाको ठूलो धनरासी माग गर्ने उम्मेदवारका कारणले व्यापारी, उद्योगपति तथा हुनेखानेले पनि अहिले निकै अप्ठ्यारोको सामना गर्नु परेको छ । गरिब जनता जसोतसो दशैँ पन्छाउने मनस्थितिमा पुगेका छन् भने धनाढ्यहरू पनि चन्दा माग्नेलाई थोरैमा मनाउने पक्षमा लागेका देखिन्छन् । आजदेखि राम्रैसँग दशैँ लागेको छ । आजैदेखि सरकारी कार्यालयहरू पनि बन्द भएका छन् । स्कुल कलेज बन्द भइसकेका छन् सहरी क्षेत्रमा देखिने भीड स्वात्तै घटेको छ । उपत्यका, विराटनगर, पोखरा, वीरगंज, बुटवल, नेपालगञ्जजस्ता सहरमा पनि मानिस कम भएका छन् । जे होस् सबैलाई दशैँको रौनकले छोएको छ । जस्तो हुन्छ, गच्छेअनुसार मीठो–मसिनो खाएर राम्रो लाएर दशैँ मनाउनैपर्छ । २०७० सालको विजया दशमीले मुलुकमा सुख, शान्ति र समृद्धि भित्र्याओस् । नेपाली जनताले संविधानसभाको निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न पाऊन् र अब चुनिने सभासद्ले संविधान बनाऊन् । सबै नेपालीको सुस्वास्थ्य र समुन्नतिको मंगलमय शुभकामना ।

प्रतिक्रिया