बारामा एमाले उम्मेदवारमाथि गोली प्रहारको घटनाले संविधानसभाको दोस्रो चुनावमा सुरक्षा चुनौती थपिएको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
हामी दोस्रो संविधानसभा चुनाव चुनौतीपूर्ण घडीमा गर्न लागिरहेका छौँ । चुनावलाई ऐतिहासिक रूपले सम्पन्न गर्नुपर्छ भनेर सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकतावद्ध भइरहेका छन् । कतिपय शक्ति यो चुनावलाई असफल बनाउनका लागि पनि प्रयत्नशील छन् । त्यस्ता कतिपय तत्वले हाम्रो पार्टीका एक जना कर्मठ उम्मेदवार कमरेड मोहम्मद आलममाथि साङ्घातिक हमला गरेका छन् । यस्तो अवस्थामा मुलुकको सुरक्षालाई सुदृढ गर्नु र त्यसलाई प्रभावकारी वनाउनु अत्यावश्यक छ । त्यसैले मैले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतमा अन्तरिम चुनावी मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेको छु । त्यो भेटमा सुरक्षालाई बलियो बनाउन मुख्य गरेर उम्मेदवारहरूमाथि हुन सक्ने कुनै पनि प्रकारका हमलाविरुद्ध सर्तक रहन, उनीहरूलाई आवश्यक सुरक्षाको प्रवन्ध मिलाउन र त्यस प्रकारले आक्रमण गर्ने हमलाकारी र हत्यारा तत्वहरूमाथि कडा कारवाही गर्न उहाँलाई भनेको छु । त्यसका लागि कढिकढाउ ढङ्गले सुरक्षा प्रवन्ध मिलाउँदै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता छ । त्यही ढङ्गले हामी अघि बढेका छौँ ।
चुनावी तयारीको कुरा गर्दैगर्दा अहिलेसम्म तपाईको दलले घोषणापत्र नै सार्वजनिक गर्न सकेको छैन नि ?
हामीले चुनावी घोषणापत्र करीब–करीब तयार गरेका छौँ । सबैको सुझाव लिएर त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ । सुझाव लिने काम पनि धेरै हदसम्म सकिएको छ । अव एक ‘सिटिङ्’ बैठक बसेर अन्तिम रूप दिन्छौ । त्यसपछि हाम्रो घोषणापत्र मतदातासामु आउँछ । घोषणापत्रले एमालेका उद्देश्य, कार्यक्रम, मार्गदर्शनलगायतका सम्पूर्ण कुरा गर्नेछ । हाम्रा प्राथमिकता, कस्तो संविधान निर्माण गर्नेजस्ता कुरा पनि त्यहाँ समावेश हुनेछ ।
घोषणापत्रमा तपाइहरूले नयाँ कुरा के–के समावेश गर्दै हुनुहुन्छ ?
हामीले नयाँ संविधान कसरी जारी गर्ने भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । बहुपहिचानसहितको सङ्घीयतालाई पनि चुनावी एजेन्डा बनाएका छौँ । त्यसका साथै मुलुकको भौतिक, सामाजिक, आर्थिक विकासजस्ता कुराको ठोस खाका पनि घोषणापत्रमा आउनेछ । नेपाली जनताको आयस्तरलाई कसरी चाँडै वृद्धि गर्ने, बेरोजगारी समस्यालाई कसरी हल गर्ने भन्नेजस्ता विषयलाई पनि हामीले घोषणापत्रमा समावेश गरेका छौँ । लोडसेडिङबाट देशलाई मुक्त गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
चुनावबाट कुन पोजिसन ल्याउने एमालेको आकलन छ ?
एमालेको नीति, विचार, सिद्धान्त र अडानका कारण अहिले हिमाल, पहाड, तराई सबैतिर एमालेको लहर चलेको देखिएको छ । एमालेमा प्रवेश गर्नेको लहरले पनि त्यही कुराको संकेत गरेको छ । त्यसले गर्दा एमाले मुलुकको अगुवा पार्टी र त्यसमा पनि बहुमतसहित पहिलो पार्टी हुने संभावना देखिएको छ । २ सय ४० वटै चुनाव क्षेत्रमा जुनसुकै क्षेत्रमा गएर त्यहाका कार्यकर्तालाई सोध्दा हामीले जित्छौ भन्नुभएको छ । यी सबै कुराको मूल्याकंन गर्दा १ सयभन्दा बढी क्षेत्रमा एमालेले प्रत्यक्षतर्फ चुनाव जित्ने देखिएको छ । मुलुकभर नै हामीले नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने देखिएको छ । दोस्रो प्रतिस्पर्धा हाम्रो एमाओवादीसँग हुने देखिएको छ । मधेसमा मधेसकेन्द्रित दलसँग प्रतिस्पर्धा हुने देखिएको छ । एमाले सिङ्गो हिमाल, पहाड र तराईका जनताको पार्टी भएकाले कसैको विरोधी र कसैको समर्थक पार्टी होइन भन्ने सन्देश दिन हामी केही शीर्ष नेताले मधेसवाट उम्मेदवारी दिएका छौँ । ती सबै क्षेत्रमा हामीले जित्ने निश्चित छ ।
तपाइंहरूले कहिलेसम्ममा जनतालाई संविधान दिनुहुन्छ ?
०७१ सालको मंसिरभित्र हामी जनतालाई नयाँ संविधान दिने अठोटका साथ लागिपरेका छौँ ।
प्रस्तुति : मोहन बास्तोला
प्रतिक्रिया