जुम्ला जिल्लाको वस्तुस्थिति

KB-Mashalदेशकै सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला र सबैभन्दा कम प्रौढ साक्षरता भएको जिल्ला मुगु । आर्यहरूको भाषाको उद्गम स्थल जुम्लाको सिजा । यो मात्रै होइन, कर्णालीको परिचय शिक्षा स्वास्थ, यातायात, सञ्चारजस्ता विकासका पूर्वाधारको पर्याप्त विकास नभए पनि नेपालको सबैभन्दा ठूलो अञ्चल हो कर्णाली । प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका हिसाबले भने यो अञ्चल धनी मानिन्छ । एकातिर नेपालको सबैभन्दा ठूलो ताल रारा छ, जहाँ नाँगो आँखाले पनि माछाको चलखेल देखिन्छ । अर्कोतर्फ सबैभन्दा गहिरो से फोक्सुन्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने मार्ग अर्थात् हुम्ला जिल्लाको सिमाना ताक्लाकोट पनि कर्णालीकै सेरोफेरोमा छ ।
२००७ सालमा देशमा प्रजातन्त्र आएको भए पनि त्यसको जानकारी कर्णालीबासीले एक वर्षपछि अर्थात् २००८ मा मात्रै पाएको भनाइ छ । वरिपरि हिमाल, बीचमा उपत्यका जस्तो समथर जमिनमा गुजुमुजुक्क परेका घरको बीचमा चन्दनाथ मन्दिर । अनि मन्दिरनजिकै बगिरहेको तीला नदी । यही हो जुम्ला जिल्लाको भौगोलिक सौन्दर्य । जुम्लालाई मुगुको रारा ताल र डोल्पाको से–फोक्सुन्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने प्रमुख मार्गसमेत मानिन्छ । जुम्लाको समस्या २–४ दिन जुम्ला घुम्दैमा बुझ्न सकिन्न । आँखाले हेर्दा जति सुन्दर जुम्ला मानिन्छ त्यसको भित्री वेदना छुट्टै रहेको छ । जुन कुरा राज्यले अहिले सम्म बुझिदिन सकेको छैन । यस्तो पनि समय थियो ! त्यो बेला न सूचना प्रविधिको विकास भएको थियो न त यातायातको सुविधा नै । अहिले सूचनाको पहुँच दुर्गम गाउँसम्म पुगेको छ अधिकांश गाउँ विकास समितिलाई कच्ची भए पनि सडक सञ्जालले छोएको छ । तर, जुम्ला जिल्लाको विकास भने उस्तै छ भन्दा पनि हुन्छ ।
११ वटा गाविसको सिँजा उपत्यकाको नक्सामा खस संस्कृतिको उद्गमस्थान हो सिँजा । ११ देखि १४ औँ शताब्दीसम्म सिँजा उपत्यककालाई खस राज्यको नामले चिनिने ऐतिहासिक धरोहर हो सिँजा । यो क्षेत्र नेपाली खस भाषाको उद्गमस्थल पनि हो । पौराणिक कथाअनुसार यो भूमि देवभूमि मानिन्छ । कर्णाली क्षेत्र पौराणिक रूपले अत्यन्तै महत्त्व राख्ने क्षेत्रको रूपमा हामी पाउछौँ । सिञ्जा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन् । यहाँ तपाईंले देउडा, चाची, ठाडीभाका, झोडा, मागल ढोली नाच, ढाल नाच, हुर्केनाच बालनाचजस्ता ऐतिहासक संस्कृतिले जुम्लाको पहिचान गराएको छ । सिँजाका मानिस अति मेहिनती हुन्छन् । जुम्ला जिल्लाका सिँजाका मानिस व्यापारको सिलसिला नेपालका धेरै जिल्लामा घुमन्ते व्यापारिको रूपमा व्यापार गर्छन । हिङदेखि सिलाजित र सियोदेखि राडीपाखी, लिउ, गलँैचाको व्यापारीको रूपमा जुम्लीलाई बाहिरी जिल्लाका मानिसले चिन्ने गर्छन् । जुम्लाका मानिस पैदल हिँड्ने दैलेख–सुर्खेतको मार्गनै प्रमुख मानिन्छ । तर, पनि घोडा व्यापारका लागि दाङ आउने जुम्लीहरू जुम्ला उपत्यकाको दक्षिणपट्टिको कुशे लेखको बाटो हुँदै जाजरकोटको ढिमे, रुकुमको चौरजहारी र सल्यानको जिमाली लेखको बाटो हुँदै दाङ आउने प्रचलन थियो ।
जुम्ला जिल्लाको नामाकरण पौराणिक घटनासँग जोडिएको छ । सदरमुकाम खलगांमा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिगर नाग आएछन् । नागले मूर्तिनजिक आउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइदिनुभए छ । यसरी भष्म भएका ती नागपछि जुम्ल्याहा पहाडको रूपमा देखिए छन् । जुम्ल्याहा शब्दको अपभ्रंश हँुदै ठाउँको नाम पनि जुम्ला भएछ । पछि जिल्लाको नाम राख्नेबेला त्यसैलाई आधार मानी जुम्ला रहन गएको हो भन्ने जनविश्वास रहेको छ । भौगोलिक रूपमा दुर्गम र विकट भए तापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको महत्त्वपूर्ण पहिचान छ । नेपाल अधिराज्यको एकीकरण हुनु पूर्व बाइसे राज्यहरूको मुख्य केन्द्रको रूपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उद्गमस्थल पनि मानिन्छ । मध्यकालीन युगमा जुम्ला एक सम्बृद्ध एवं शक्तिशाली राज्यको रूपमा रहेको तथ्य इतिहासबाट थाहा हुन्छ । यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबैभन्दा पहिला प्राचीनकालमा भारतबाट आएको चन्दननाथ बाबासहित दुई जना ब्रह्मचारीले बस्ती बसाई कृषि र शिक्षाको प्रचारप्रसार गरेका थिए भन्ने इतिहास जुम्लामा रहेको छ
कर्णाली अञ्चलको दक्षिण भूभागमा अवस्थित जुम्ला जिल्लाको भू–गोल अग्ला हिमशिखर, पाटन र पहाडले घेरिएको छ । हिमाली हावापानीमा पाइने वनस्पतिको जंगल हिमताल, नदी र खोलाहरूको संगम भू–बनोटले जुम्लालाई सौन्दर्य दिलाएको छ । नदी किनारमा रहेका उर्वर खेतीयोग्य बँेसीहरूले जुम्लाबासीलाई खाद्यान्न दिलाएको छ । जुम्ला जिल्ला पूर्वमा डोल्पा, दक्षिणमा जाजरकोट, पश्चिममा कालिकोट र उत्तरमा मुगु जिल्लासँगको सिमानभित्र छ । समुन्द्र सतहबाट ७००० फिटदेखि २१०७७ फिटसम्मको उचाइमा फैलिएको जुम्ला कर्णाली अञ्चलको केन्द्रबिन्दु मानिन्छ । सदरमुकाम खलंगा बजार समुद्र सतहदेखि ७६०० फिटको उचाइमा पर्नेहँुदा यहाँ सदावहार चिसो तापक्रम रहन्छ । कुल क्षेत्रफल २५३१ वर्ग किलोमिटरमा फैलिएको जुम्ला जिल्ला ऐतिहासिक स्थल मानिन्छ । जुम्ला जिल्लामा ३० वटा गाविस रहेका छन् । जवा नदी र टीलानदीको किनारमा ग्रामीण बस्ती रहेका छन् । सदरमुकाम खलंगामा नगरपालिका छ भने हिमा नदीको किनार सिंजा क्षेत्रमा ११ गाविसे छन् । जुम्लामा तीनवटा ठूला नदीका सहायक खोला दर्जनाँै छन् । हिमा नदीको किनारको सिँजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाँट बँेसीहरू उर्वर खेतीयोग्य जमिन मानिन्छ । जुम्लामा काञ्जिरोवा हिमाल, पातारासी हिमाल, बाक्की हिमाल, पञ्च देवल, तातोपानी, पाण्डुपगुफा, विराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिर ऐतिहासिक सम्पदा हुन् । जुम्ला प्राकृतिक सौन्र्दय, जडीबुटीका साथै कला र संस्कृतिले निकै धनी छ ।
प्राकृतिक सम्पदाको दृष्टिकोणले जुम्लालाई सम्पन्न जिल्ला मान्न सकिन्छ । भौगोलिक बनावट एवं जलवायुको विविधताले गर्दा यहाँ हिमश्रृंखलामा हुने विभिन्न किसिमका वनस्पति र जडीबुटीहरू पाइन्छन् । यहाँको उच्च लेकाली भूभागहरूमा १२ हजार फिटभन्दामाथि ज्यादै हिमपात हुने र तापक्रम अत्यन्त कम हुने भएकाले अग्ला वनस्पतिहरू हुर्कन सक्दैन । यस भूभागमा झाडी र बुट्यान मात्र हुन्छन् । यस्ता भूभागमा वर्षको एकपटक फुल्ने रंगीविरंगी फूलहरू मात्र देखिन्छन् । यसरी फुल्ने फुलमा धेरै जडीबुटीको फूल पनि हुने गर्छ । जुम्लाको प्रख्यात जडीबुटीमा पाँच औँले, भत्ल, जटामसी, कुट्की, पदमचाल, हात्तीजडा, सुन्धवाल, सिलाजित, गुच्ची च्याउ, निरमसी, अत्तिस, केशहर, बोडो मच्चो, कटुको, रामुयो, तितो, गुन्नाइनो, चिताइरो र यार्सागुम्बा, जीवनबुटी जस्ता दुर्लभ मानिने जडीबुटी मुख्य छन । प्राकृतकि रूपले उम्रने जडीबुटीले जुम्लााबासीलाई आय–आर्जन बन्ने गरेको छ । प्रत्येक वर्ष जुम्लाका मानिसद्वारा लाखौँको जडीबुटी बिक्री हँुदै आएको छ ।

प्रतिक्रिया