चुनावी परिणाम असान्दर्भिक बन्न सक्छ

anil-yogi-1नेपाली जनताको आवश्यकताभन्दा पनि विदेशीको चाहनामा हुन लागेको भाग दुई संविधानसभाको निर्वाचनअगावै देशमा भयानक हिंसा हुने खतरा बढेर गएको छ । बारा जिल्लाका एमालेका उम्मेदवार मोहमद आलममाथि गोली प्रहार भएको छ । काठमाडांैको शिक्षण अस्पतालमा उपचारमा रहेका आलमको अवस्था गम्भीर छ, सायद आलम बाँच्ने छैनन् । यस्तो अवस्थामा वर्तमान संकटको एकमात्र समाधान दोस्रो संविधानसभाको चुनाव हो भन्नु जस्तो मूर्खता अरू केही हुन सक्दैन । यो चुनाव भयो र गरियो भने पनि यसले राष्ट्रलाई गतिलो परिणाम दिने अवस्था छैन । यो चुनाव सरकार निर्माण गर्नका लागि गरिएको संसद्को चुनाव पनि होइन । यसले राष्ट्रलाई नयाँ संविधान दिनुपर्नेछ । यस्तो विवादका बीचबाट गरिएको निर्वाचनले परिणाम दिन सक्दैन भन्ने आममान्यताविपरीत केही राजनीतिक दलका नेता बाह्य शक्तिको आडमा चुनावका लागि अगाडि आएका छन् । परिस्थितिले चुनावका पक्षमा रहेका राजनीतिक दलका नेतालाई गम्भीर हुन कुनै समयमा बाध्य पार्नेछ त्यो अवस्थामा चुनावका पक्षधर दलका नेताको अवस्था के होला अहिले नै भन्न सकिँदैन ।
हिन्दू अधिराज्यको खारेजी र राजसंस्थाको अन्त्य गरेर बहादुरी देखाइरहेका दलका नेताले राजसंस्थाले गर्न नसकेका काम गर्न सकेको भए नेपाली समाज रूपान्त्रण हुँदै राष्ट्र सवृद्धिको मार्गमा सजिलै जान सक्ने अवस्था थियो दलका नेताले त्यो काम गर्न सकिरहेका छैनन् । भावनात्मक रूपमा नेपाली समाजमा एकता मजबुद हुन नसकेको हुनाले नेपाली जनताले आफ्नो राष्ट्रप्रति अपनत्व महसुस गर्न सकिरहेका छैनन्, यो पनि आजको यथार्थ हो । यो विवादलाई राष्ट्रको अस्तित्व धरापमा पार्ने गरी हामीले अगाडि ल्याउन हुँदैन भन्ने कुरा सचेत नेपालीले बुझ्नुपर्ने बेला आएको छ । नेपाली जनताले विचार पुर्‍याएर काम गर्ने हो भने राष्ट्रिय एकता र जनताका बीच भावनात्मक एकताका लागि यो विवाद सहयोगी माध्यम बन्न पनि सक्छ ।
विदेशीले आफ्नो सक्रियता निकै बढाएका छन्, यसतर्फ सचेत नेपालीले चनाखो हुँदै समाधान खोज्ने प्रयास हामीबाट हुन सकेन भने हामी निस्कनै नसकिने विवादमा फस्नसक्ने गम्भीर अवस्था सिर्जना भएको छ । विदेशी सबैका उद्देश्य खराब छन् भन्न मिल्दैन । कसैले यो देशको रक्षा र विकास होस भन्ने पनि चाहेका हुन सक्छन् । हामी नेपालीको विविधताबीचको मजबुद एकता नटूटोस् यो राष्ट्र सुन्दर र सम्वृद्धिको मार्गमा उनमूख होस भन्ने पनि चाहेका हुन सक्छन् । कसैलाई यो राष्ट्रको अथाह सम्पत्ति जस्तै जंगल, जमिन, जल, वनस्पति र परिश्रमी जनता देखेर लोभ लागेको पनि हुन सक्छ । कसैले नितान्त गलत स्वार्थ राखेर पनि यो राष्ट्रमा आएका हुन सक्छन् । हामी नेपाली जनता र यो राष्ट्रलाई जोजसले जसरी हेरे पनि हाम्रो मौलिकता, विविधताबीचको एकता अत्यन्तै मौलिकखालको छ । यो राष्ट्रको उत्थान र नेपाली जनताको प्रगति यही एकताका आधारमा हामीले खोज्न सक्यौँ भने राष्ट्रको शिर सगरमाथा जस्तै उँचो बन्न सक्छ ।
राज्य सञ्चालन गर्ने कुनै पनि पक्षले अब असमानता र विभेदकारी चरित्रका आधारमा यो राष्ट्रलाई हाक्न सक्दैनन् । सबैको सहअस्तित्वको स्वीकार गर्दै अगाडि बढ्न सक्ने अग्रगामी राजनीतिक शक्ति राष्ट्र र नेपाली जनताले खोजिगरिरहेका छन् । कुनै पनि नेपालीले अब एउटा कुनै जातको मानिसलाई सरापेर बस्दैमा अग्रगमनको मार्ग आफँै खुल्ने पनि होइन र कसैको राजनीतिक, सामाजिक उचाइ आफँै हठात बढ्ने पनि होइन । राष्ट्र र समाजप्रति बिगत जोजसले गलत भूमिका खेलेका भए पनि ती तत्व र राजनीतिक शक्तिलाई समेत नेतृत्व प्रदान गर्न सक्ने जुनसुकै जात, भाषा, धर्म र सम्प्रदायको नेपालीले यो राष्ट्रलाई हाक्न सक्ने क्षमता राख्न सक्यो भने सबैका लागि मार्ग प्रशस्त भएको छ । अब एक जातिको उत्थान होइन राष्ट्रको उत्थानका निमित्त अग्रसर हुन सक्ने राजनीतिक शक्ति र समुदायको आवश्यकता परेको छ । हिजोका दिनमा कसले के गर्‍यो त्यो कुरा आज महत्त्वपूर्ण हुन सक्दैन अब हामी अगाडि कसरी जाने भन्ने कुरा महत्त्वपूर्ण हुन गएको छ ।
आजको संकट मोचनका लागि आत्मबल भएको राजनीतिक शक्ति हामीसँग नभएको हुनाले देश लथालिंग अवस्थामा पुगेको छ । नेपालका कुनै पनि राजनीतिक शक्तिले आमनेपाली जनता र राष्ट्रलाई प्रतिनिधित्व गर्न सक्ने क्षमता राख्न सकिरहेका छैनन् । राजनीतिक दलका नेताहरू चुनावमा गएर पहिलो, दोस्रो, तेस्रो पार्टी त बन्न सक्छन् आमनेपालीको साझा राजनीतिक संस्था र शक्तिका रूपमा आफूलाई देशभित्र स्थापित गर्न सकिरहेका छैनन्, आजको तीतो यथार्थ यही हो । हामीले भरपर्दो राजनीतिक संस्था निर्माण गर्न सकेका छैनौँ । त्यही कारणले देशलाई सहज मार्गमा लैजाने हाम्रो प्रयास असफल भयो, हामी गन्तव्यमा पुग्न सकेनौँ । आमनेपालीलाई आफ्नो छत्रछायाँमा राख्न सक्ने राजनीतिक शक्ति हामीले कसलाई बनाउने भन्ने विषयमा बहस हुन सकेको छैन्, यो विषयमा पनि अब बहसको थालनी गर्नु आवश्यक भई सकेको छ । राष्ट्रिय एकता र मेलमिलापको आधार खोज्न सकिएन भने देश सहज मार्गमा जान सक्ने अवस्थामा देखिएको छैन ।
यो राष्ट्रमा विभिन्न प्रकारका समुदाय जसरी बसेका छन् । विचार पनि त्यसरी नै मुखरित भएर अगाडि आएका छन् । ती विचारको व्यवस्थापन गर्न सकियो भने राष्ट्रको उत्थान हुन सक्छ । समाजलाई राष्ट्रको मूलधारमा हिँडाउन सकियो भने देशको प्रगति स्वतह भएर जाने अवस्थालाई नकार्न मिल्दैन । अर्थहीन विचारको बहकावमा जनतालाई घुमाउँदैमा मात्र राष्ट्रले प्रगति गर्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । अब जनतालाई राष्ट्रको विकास र जीवनमा आराम चाहिएको छ । सबैका विचार नेपाली जनताले नजिकबाट अध्ययन गरिसकेका छन् । यसको अर्थ सबैका विचार कम्जोर भइसके भन्ने होइन । यस्तै असहज अवस्थामा कुनै न कुनै माध्यमद्वारा नयाँ विचारको प्रवाहअगाडि आउन सक्छ । सबैको अस्तित्वको सम्मान गर्दै अग्रगामी राजनीतिक मार्गमा जान दलका नेताले नचाहेका होइनन् । मेलमिलाप र एकताको केन्द्रविन्दु अनिश्चत भएको हुनाले गन्तव्यमा पुग्न सकिएन । राजनीति भनेको कोरा आदर्श छाँट्दै हिँड्ने गन्तव्यहीन यात्रा होइन, त्यसको लक्ष र परिणाम हुन्छ भन्ने कुरा दलका नेताहरूले जानेर पनि बुझपचाएका छन् ।
देशभित्रका समस्यालाई हामीले राजनीति नारामा मात्र सीमित गर्दै जाने हाम्रो परिपाटी त्याग्नु आवश्यक छ । हाम्रो राजनीति अभाव, विपन्नता र पछौटेपनमा केन्द्रित गर्न सकिरहेका छैनाँै । सर्वप्रथम त्यो संस्कार सबैले अवलम्बन गर्ने परिपाटी बसाल्न सक्नुपर्छ । यो राष्ट्रको उत्थानका निमित्त नेपालका राजनीतिक शक्तिबीच साझा राजनीतिक अवधारणा बन्न सकेन भने देश सही मार्गमा जाने सम्भावना देखिँदैन । अर्कोतर्फ नेपाली राजनीतिमा निषेधको राजनीति अत्यन्तै मौलाएको छ । निषेधको अराजनीतिक चरित्रलाई कसरी त्याग्न सकिन्छ भन्ने कुरा राजनीतिमा लागेका नेताहरूले जान्ने कुरा हो । अग्रगमनको नाममा राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक हाम्रा धरोहरलाई भत्काउँदै अगाडि बढ्न खोज्दा दलका नेता समाजमा आलोचित हुँदै गएका छन् । देशको भविश्य अन्धकार भएको अवस्थामा नेपाली राजनीतिमा लागेकाहरूले विवेक पुर्‍याएर काम गर्न सकेनन् भने स्थिति योभन्दा झनै जटिल बन्दै जाने खतरालाई नकार्न सकिँदैन ।

प्रतिक्रिया