अनुमतिविना माछा–मासु पसल सञ्चालन

Machha-Palanधनगढी, २० असोज । नगरपालिकाले माछामासु पसल दर्ता गर्न पटक–पटक आग्रह गरे पनि अधिकांश माछामासु पसल अनुमतिविना सञ्चालनमा छन् । मुख्य बजार क्षेत्र तथा गल्लीमा रहेका अधिकांश माछामासु पसल तथा बधशाला अनुमतिविना सञ्चालन भइरहेको धनगढी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका राजस्व फाँटका नायब सुब्बा मोहन खड्काले नगरमा एक सय १२ माछामासु पसल मात्र दर्ता भएको बताए । उनले नगरपालिकाकामा कति माछामासु पसल अवैध रूपमा सञ्चानमा रहेको पूर्ण तथ्यांक भने नभएको जानकारी दिए । धनगढी नगरपालिकाले २०६९ सालमा हसनपुर क्षेत्रमा अनुमतिविना सञ्चालन रहेका माछामासु पसल तथा वधशालालाई नियमन गर्न एकै ठाउँमा सार्न सूचना जारी गरेको जनाएको छ । नगरपालिकाले सुदूरपश्चिम पशुपंक्षी व्यापार व्यवसाय संघको समन्वयमा ऐश्वर्य विद्या निकेतनको उत्तरतिर खालि रहेको जमिनमा माछामासु व्यवसाय सञ्चालनको स्थान निर्धारण गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमले हसनपुर क्षेत्रका माछामासु पसल व्यवस्थित गर्ने काम सुरु भएको बताए । उनले माछामासु व्यवसाय सञ्चालनको स्थान निर्धारण गरेको ठाउँमा पूर्वाधार निर्माण सुरु गर्ने तयारी भइरहेको बताए । माछामासु पसल नियमन तथा स्वस्थ माछामासु बिक्री र वातावरणीय प्रदूषण कम गर्न एकै ठाउँमा माछामासु पसल सञ्चालन गर्ने प्रयास गरिएको बताए ।सुदूरपश्चिममा पशुपन्छी व्यापार व्यवसाय संघले जमीन भाडामा लिएर माछामासु पसललाई एकै ठाउँमा ल्याएर सुरक्षित वधशाला बनाउने तयारी गरेको जनाएको छ । दसैँँतिहारलाई लक्षित गर्दै संयुक्त बजार अनुगमनको टोली बनाएर माछामासु पसलको अनुगमन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
कार्यकारी अधिकृत गौतमले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुसेवा कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र नगरपालिकाको संयुक्त अनुगमन टोली बनाउने तयारी भइरहेको जानकारी दिए । उनले अनुगमनका क्रममा विना दर्ता सञ्चालन भएका तथा जथाभावी रूपमा मासु पसल सञ्चालन गरेको पाइए कारबाही गरिने बताए ।

प्रतिक्रिया