ड्राइभर माइलो

Arjun-dungmenपारी गाउँमा एकतमासले कुकुरहरू भुकिरहेका आवाज सुनिन्थे । रातको आठ/नौ बजेको थियो होला, गाउँठाउँको बसोबास हो, वारिपारि हेर्दा भने नजिकै देखिन्छ । तर, आउजाउ गर्न झन्डै एक मेलो जोत्ने समय बित्दो हो । बाटोघरे ड्राइभर माइलोको घरझैँ लाग्यो । बाटोमुनि गैरीगाउँबाट राँको बालेर मान्छेको एक हुल निस्कियो । औँसीको रात, पुस/माघको लुगलुग काम्ने जाडो । बलेँसीमा तप्पतप्प शीतका थोपा खसेको सानो तिख्खर तपतपे आवाज पनि कानमा ठोकिन्थ्यो ।
राँको बालेको समूह ड्राइभर माइलोको घरमा पुग्यो । माइलो गरिबको झुपडीमा जन्मेको भए पनि साहुको एउटा ट्रयाक्टर भाडामा लिएर चलाउँथे । गाउँमा उत्पादित फलफूल र सागसब्जी सबै बजारमा ओसार्ने गर्थे । आफूले ट्रयाक्टर चलाएर दुई/चार पैसा आम्दानी गरेकाले दु:ख–सुख साँझ–बिहान हातमुख जोर्न अन्य दाजुभाइको तुलनामा बन्दोबस्त गरेका थिए उनले । उनका दाजुभाइ गैरीगाउँमा थिए । केही पर्‍यो होला त्यसैले रात–विरात यसरी राँको बालेर उनीहरू त्यहाँ आए । यस्तै सोच्दै म ओछ्यानमा ढल्किएँ ।
म ढल्किएको पाँच/दश मिनेटजति भएको थियो । कुकुरहरू झन्झन् बढी भुकिरहे । यसो उठेर आँगनमा मकैको थाग्रोमुनि उभेर त्यतै पारितिर हेरेँ । त्यही ड्राइभर माइलोको घरबाट एउटा अर्को राँकोको ठूलो पुल्ठो बालेर कोही जाँदैथ्यो अनि माथिल्लो घर पुग्यो । त्यहाँबाट सायद धामीझाक्रीसहित दुई/तीन जना थपिए । केही बेरमै ढोल–ढयांग्रो ठट्टाएको आवाज सुनिन थाल्यो । माइलो हृदयघात र उच्च रक्तचापको बिरामी थियो । ऊ सिकिस्त भएछ क्यारे !
भोलि बिहान उज्यालो नखस्दै माइलोको घरमा मान्छेहरू जम्मा भएको देखियो । मैले सम्झेँ– ‘गाउँका लागि माइलो त देउता नै हुन् । त्यतिमात्र कहाँ हो र ! उनले त यहाँ सबैको सेवा गरेरै आफ्नो जिन्दगी बिताएका छन् । डाँडागाउँ, गैरीगाउँ, माझटोल, पीपलबोटलगायत झन्डै यो हाम्रो गाविसभरका गाउँलेका लागि यसो दुई/चार पैसा आयआर्जन गराउन लागिपरेका छन् । आफूले परिश्रमबापत केही रुपियाँ लिएर सबैको काम गर्दै आएका छन् । नत्र यो गाउँ नै सुख्खा हुने थियो ।’ यस्तै सम्झिएर मैले पनि उनलाई भेट्ने मन गरेँ ।
यो पहाडी भेग, दुर्गम ठाउँ । गाडी छैन । पारी पुग्न तल दोभानमा तरेर उक्लनुपर्छ । कमिज–सुरुवाल लगाएँ अनि हात्तीछाप चप्पल टेकेर म बाटो लागेँ । दोभान नझर्दैमाथिबाट सेतो कपडाले बेरेको शव अघि–अघि अनि चारबिसाजति मान्छेको ताँती झर्दै गरेको देखेँ । गाउँको सेवामा व्यस्त हुँदाहुँदै माइलोको जिन्दगी बित्यो । मलामीको लस्कर त गनेर के साध्य !
म पनि दु:खी भएँ । भारी मनका साथ आफैँलाई प्रश्न गरिरहेँ । हैन ! किन हिजो राति अरूले राँको बालेको देख्दा मलाई चाहिँ माइलोलाई भेट्न जान जाँगर चलेन ? राति नै राँको बालेर गएर मैले पनि उनलाई भेट्ने मन गरेको भए हुन्थ्यो भने कमसेकम मर्ने बेला एक/दुई वचन बातचित त हुन्थ्यो ! अब हामी गाउँलेका लागि अर्काे माइलो हुन सक्छ र ? यस्तै तर्कना गर्दै शवलाई दोभानदेखि तल घाटमा पुर्‍यायौँ । त्यसपछि अन्त्येष्टि गरी हामी फर्कियौँ ।
माइलो हरेक मौसमका फलफूल र सागसब्जी बजार लिएर जान्थे । गाउँलेको बलबुताले खनेको यो डाँडो वारिपारिको बाटोमा थोत्रो ट्रयाक्टर भए पनि घन्द्रयाङ–घुन्द्रुङ गर्दै गुडाउँथे । वारिपारबाट हेर्दा एउटा मात्र भए पनि गाडी गुड्दा कम्तो रमाइलो लाग्थेन । तर, माइलो बितेपछि त्यस्तो केही रहेन ।
सुठुनी, पिँडालु, फर्सी, कागती, नासपाती, सुन्तला, उखु, केराउ, अदुवा, काँक्रा, मूला, करेला, आलु, गोलभेडा आदि सबै बारीमै कुहिन थाले । तब ड्राइभर माइलोले भनेको कुरा याद आउँथ्यो– ‘ड्राइभर त मेरो पेसामात्रै हो किनकि मैले पनि छाक टार्नैपर्छ । तर, मेरो उद्देश्य भनेको गाउँलेलाई सुविधा दिएर सुगम महसुस गराउनु हो । मैले यस्तो सुविधा दिन सके गाउँले वर्ष–वर्षमा स्वयं एकपटक आफैँ बाटो खन्न, सडक खन्न लागिपर्नेछन् । अनि वर्षैपिच्छे गाउँमा सडक विस्तार हुँदै जानेछ । तब गाडी लिएर मजस्ता थुप्रै ड्राइभर तराईबाट आउनेछन् । त्यसपछि स्वत: हाम्रो गाउँ सुगम बन्नेछ ।’
माइलो यस्तो महान् विचार भएको व्यक्ति थिए । त्यसको दुई वर्षपछि माइलोकी श्रीमती पनि बितिन् । उनीहरूका छोरो गोरे १२/१३ वर्ष पुगेको थियो । माइलोले विगतमा गरेको सेवाको फलस्वरूप गाउँलेले गोरेलाई माया गर्थे । यसै–यसै ऊ पनि लाठे भएको थियो । केही समयपछि त गाउँ छोडेर ऊ सहर पसेछ ।
गाउँका कृषि उत्पादन कुहिएर खेर जान दिन पनि भएन । गाउँलेहरू कोही कुनै बजार, कोही कुनै बजार गर्दै बोकेरै भए पनि बिक्री गर्न थाले । कसैले नजिकैको हाटबजारमा लैजान थाले । यसैबाट प्राय:को नुन, तेल, भुटुन खाने मेलो बनाउनुपथ्र्यो ।
पुख्र्यौली सम्पत्ति अलिअलि भए पनि आफूहरूले केही गर्न नसकेका कारण अभिभावकहरूले छोराछोरीलाई राम्रै गरून्, पढेर समाजमा केही सेवा गर्न सकून्, भविष्य उज्यालो बनाऊन् भन्ने सोचेर तीनदिन टाढाको सहरमा पढ्ने व्यवस्था गरिदिएका थिए । छोराछोरी के कसो गर्दै छन् भनेर म पनि सहर झरेको थिएँ । हाम्रै गाउँलेहरू पनि त्यही सहरमा सुन्तलाको १२/१५ भारी र रायोको साग चार/पाँच डोका बेच्न झरेका रहेछन् । उनीहरूसँग बजारको घुम्तीनजिक भेट भयो । सहर व्यस्त थियो । साग र सुन्तला खरितेको भीड देखिन्थ्यो । तिनीहरू तराईका थारू र मियाँहरू हुनुपर्छ । कसैले गोरु मोलाइ गर्दै थिए । कसै प्रतिगोटा मोल गर्दै थिए । गाउँलेले भने, ‘तीन–तीन दिनको बाटो ढाँक्रेमा बोकेर झारेको दु:खाइ र जीउ गलेको सम्झँदै सक्दो आफ्नो मालको मोल बेसी बनाउने दाउमा थिए । त्यसैबीच, अलि परबाट लमकलमक गर्दै एउटा गोरो ठिटो आयो । उसले हामीलाई चिन्यो क्यारे ! त्यो मोलमोलाई सुन्दै एकछिन हास्यो ।’
अनि, सोध्यो, ‘कहाँबाट ल्याउनुभा’को हो यो सुन्तला ?’
‘गैरीगाउँबाट हो भाइ,” एक जनाले उत्तर दियो । त्यो ठिटोले चाख लिएको देखेर मलाई सोध्न मन लाग्यो । सोधिहालेँ, ‘बाबु किन सोध्यौ ?’
ठिटोले हाँस्तै उत्तर दियो, ‘अँ ! मैले तपाईंहरूलाई चिनेझैँ लाग्यो । त्यसैले हो । मलाई चिन्नुभो त ? मेरो पनि पहाड घरमा पहिला धेरै सुन्तला फल्थ्यो । बेच्नलाई मेरा बुबाले ट्रयाक्टरमा हालेर यही बजारमा ल्याउनुहुन्थ्यो रे ! अब त चिन्नुभो होला नि मलाई ?’
यति भनेपछि मैले उसलाई नचिन्ने कुरै भएन । अनि भनेँ, ‘ए ! त्यसो भए तिमी ड्राइभर माइलोको छोरा गोरे हौ त बाबु ?’
त्यसपछि उसले मुन्टो हल्लाएर ‘हो’ भन्ने संकेत गर्‍यो । गोरे साँच्ची नै गोरो, मोटो अनि अग्लो भएको रहेछ । ऊ भलाद्मी पनि देखिन्थ्यो । मलाई उसको बारेमा अझ धेरै बुझ्न मन लाग्यो । नलाग्नु पनि कसरी ! एउटा इमानदार समाजसेवी गाउँलेको टुहुरो छोरो ।
फेरि सेधेँ, ‘तिमी सहरमा के गर्दै छौ त बाबु ?’
मुसुमुसु हाँस्दै उसले भन्यो, ‘के गर्नु नि बडाबा ! बोटजस्तो हुन्छ बिरूवा पनि त्यस्तै त हुन्छ नि ! बुबा ट्रयाक्टर चलाउनुहुन्थ्यो । म मालिकको ट्रक चलाउँछु । पेटपाला गर्दै बसेको छु । बुबाले त ट्रयाक्टर नै चलाएर भए पनि धेरै गाउँलेलाई सहयोग गर्नुभयो होला, मैले त एउटा ठूलो ट्रक चलाए पनि कसैको सेवा गर्न सकेको छुइनँ । गाउँलेको सेवा गर्ने चाहना छ ।’
ठट्यौली पाराले भन्यो उसले । हाम्रो कुरा झन् नजिक आयो । माइलो समाजसेवी थियो त छोरो झन् समाजसेवी कुरा गर्छ । बाबुको बिरूवा हुँ भन्छ ! कुरा गर्न मलाई सजिलो भयो । गाउँघरको दु:ख कसैबाट ठीक हुन्छ भने बेलीविस्तार गर्नैपर्‍यो । ‘त्यसो हो भने मालिकलाई खुसी बनाउनुपर्छ । त्यो हाम्रो गाउँमा भएको फलफूल र सागसब्जी यही बजारमा ढुवानी गर्नुपर्छ । सधैँ नभए पनि हप्तामा तीन दिन चाहिँ बाबु ट्रक लिएर गाउँ निस्कनुपर्छ । अनि जतिसक्दो सस्तो र सुलभ दरमा ढुवानी गर्न मद्दत गर्नुपर्छ ।’
मैले यति भनेपछि केहीबेर घोरिएर उसले भन्यो, ‘बडाबा त्यसो हो भने मालिक ठूलो सहरमा बस्छ । यो त एउटा सानो हाट मात्र हो । म पनि माल पुर्‍याउन मात्र आएको हुँ । मालिकले पहाडमा ढुवानीको वस्तु होला भनेर विश्वास नगर्लान् ! त्यसैले हामी दुवैले मालिकलाई भनूँ ! हुन्न र बडाबा ?’
मैले सोचेँ– हुन पनि हो । यो ठिटोलाई मालिकले नि त्यसै ट्रक दिएर गाउँतिर पठाउलान् र ? आफैँ गफ गरेर आउनुपर्‍यो भनेर गोरेको कुरोमा म सहमत भएँ । हामी दुवै जना ट्रकमा चढ्यौँ ।
हावाको सारमा गोरेले ट्रक गुडाउँदै थियो । करिब तीन घन्टाजति भयो । ट्रकभित्र पट्यार लागेर जीउ थाकेर म हैरान भइसकेको थिएँ । ‘बाबु अब कति टाढा छ भन् त,’ सोधेँ । ‘बडाबा धेरै छैन, अब कतै जाममा परिएन भने ६ घन्टाजति लाग्छ,’ उसले भन्यो । मलाई आश्चर्य लाग्यो । अझै ६ घन्टा लाग्ने कुरो गर्छ । त्यो पनि कतै जाम भएन भने । सिटमा अढेसिएर आँखा चिम्म गरेँ । ट्रक उही गतिमा गुडिरहेकै थियो ।
आँखा बन्द गरे पनि म निदाएको थिइनँ । गाडी गुडाएकै सुरमा गफ पनि गर्दै थियौँ । निकै बेरपछि उसले रफ्तार घटायो । निकै पर आँखाले हलुका देख्न सकिनेजतिको दूरीमा बाटोको बायाँपट्टिबाट ठूलो गाडी दगुर्ने रोडतिर थुप्रै युवायुवती निस्किँदै थिए । तिनीहरू क्याम्पसको पढाइ सकेर घरतिर हिँडेका रहेछन् भन्ने पछि थाहा पाएँ । सबै जना बाटो काट्दै फरक बाटोतिर लागे ।
एक युवती भने मुसुमुसु हाँस्दै उभिरहेकी थिइन् । सानो झोलामा सायद किताब बोकेकी हुनुपर्छ । गोरेले बिस्तारै आफ्नो ट्रक युवतीनेर रोक्यो । ‘पढाइ सक्यो ? ल आऊ,’ भन्यो गोरेले । उसले ट्रकको ढोका पनि खोल्यो । ती युवतीलाई चढाएरबीचमा राख्यो । उसले ट्रक पहिलेकै गतिमा बढायो ।
मलाई कौतूहलता लाग्यो । यी युवती को हुन् ? किन चढेकी होलिन् ? केही बेरपछि सोधेँ, ‘ए बाबु ! यी नानी को हुन् ?’
गोरेले भन्यो, ‘बडाबा यिनी मेरी साथी रमा । यिनको घर पनि पहाड नै हो । यहाँ सहरमा बसेर क्याम्पस पढ्छिन् । यिनी पढाइ सकेर दुर्गम भेगमा शिक्षिका बन्छु र गाउँका अशिक्षित बालबच्चालाई शिक्षित बनाउँछु भन्छिन् ।’
गोरेको कुरा सुनेर मैले पनि खुसीका साथ भनेँ, ‘ए लौ ! राम्रो बाबु, राम्रो विचार रहेछ । मेरो आशीर्वाद छ । नानीको इच्छा, मनोकामना पूरा होस् ।’
ती युवतीले मुसुक्क हाँसेर शिर हल्लाइन् । उनले मेरो बारेमा पनि बुझ्ने इच्छा गरिन् ।
गोरेले नै भन्यो, ‘रमा ! उहाँचाहिँ मेरो बडाबा हुनुहुन्छ । पहाडमा हाम्रो गाउँ पञ्चायतको प्रधान–बा ! उहाँविना त हाम्रो गाउँको न्यायनिसाफ अनि गाउँघरको विकास विस्तार हुन सक्दैन । अहिले म उहाँलाई लिएर हाम्रो गाउँकै बारेमा एउटा ठूलो कामका लागि मेरो मालिकलाई भेट्न जाँदै छु ।’
उनले खुलेर भनिन्, ‘बडाबा ! हजुर त गाउँको बडा मान्छे हुनुहुँदो रहेछ । म पनि त्यस्तै चाहन्छु । गाउँका लागि तपाईं जस्तै सेवा गर्ने मान्छे आवश्यक छ । जुन सेवाको गाउँलेले सदैव कदर गर्नेछन् । हो ! मेरो बुबा पनि तपाईं जस्तै गाउँको काममा कहिले पछि हट्नु हुन्नथ्यो । गाउँको अन्धकारलाई उज्यालो बनाउने सोच लिनुभएको थियो । तर, साधारण बिरामीबाटै बुबा बित्नुभो । त्यसैले बुबाको इरादा मैले पूरा गर्ने उद्देश्य लिएकी छु ।’
‘तपाईंहरू गाउँकै काम लिएर हिँड्नुभएको रहेछ । गोरे दाइ त झन्, म गाउँमा मेरो बुबा ट्रयाक्टर चलाउनुहुन्थ्यो । हाम्रो दुर्गम गाउँमा गाडी कुद्ने बनाएर सुगम बनाउने चाहना राख्नुहुन्थ्यो तर उहाँको इच्छा पूरा हुन सकेन । त्यसैले त्यो काम मैले गरेरै छाड्नु छ भनेर बेलाबेला भन्नुहुन्छ,’ युवतीले यसरी व्यक्त गरिन् मनका कुरा ।
यी दुईका बारेमा मलाई अरू बुझ्ने चाहना बढ्यो । सोधेँ ‘बाबु तिमीहरूको चिनाजान कसरी भयो त ?’
रमाले खुसीको पोको यसरी खोलिन्, ‘बडाबा गोरे दाइ जहिले पनि ट्रक लिएर यही बाटो हिँड्नुहुन्छ । तीन वर्षजति भयो । मलाई यसरी नै आफ्नो ट्रकमा हालेर घर र कलेज पुर्‍याउने–ल्याउने गर्नुहुन्छ । परिश्रमी अनि इमानदार हुनुका साथै दु:खसुखका कुरा गर्नुहुन्छ । त्यसैले यत्तिकै चिनाजान भयो नि बडाबा !’
गोरेले ट्रक दौडाइरहेकै थियो । रमाको ओर्लने ठाउँमा आइपुगिएछ । रमाले गोरेलाई भनिन्, ‘गोरे दाइ ल जाऊ है ! भोलि फर्किंदा यही म तिम्रै बाटो कुरेर बसेकी हुनेछु ।’ उनले गोरेको गालामा म्वाई खाइन् । फेरि भनिन्, ‘ल त ! बडाबा राम्ररी जानुस् । तपाईंहरूको काम सफल होस् । म झर्छु है ।’ रमा बिदा भइन् ।
गोरेले ट्रकअगाडि बढायो । तब उसले भन्यो, ‘बडाबा ! रमा मेरी हुनेवाली जीवनसाथी हुन् नि ! हामी अत्यधिक माया गर्छौं । हुन त उनी हुने–खाने परिवारकी शिक्षित छोरी हुन् । म भनेको जाबो एउटा ट्रक ड्राइभर ! तर, बडाबा ! रमा आफैँ भन्छिन् कि पढेर सिक्नुपर्ने कुरा सीप, ज्ञान, विवेक अनि गर्नुपर्ने मेहनत, परिश्रम र इमानदारीपन नै हो । तिमी पढेका छैनौ त के भो र ! त्यो सब ज्ञान तिमीसँग छ ।’
मलाई गोरेको कुराले हर्षित तुल्यायो । जे होस् गाउँको केटो भलाद्मी भएछ । दुलही पनि एकदमै ज्ञानी जुर्ने भइछे–सोचेँ ।
गफकैसुरमा बाटो पनि काटिएछ । पर मिmलिमिली सहर नजरमा देखापर्न थाल्यो । केही समयमै सहरमा पुग्याँै पनि । ट्रक बिस्तारै एउटा ठूलो बिल्डिङ घरमुनि छिर्‍याएर गोरेले भन्यो, ‘बडाबा मालिकको घर यही हो ।’
घर त तलबाट हेर्दा आकाशै छेकेजस्तो देखिन्छ । वारिपारि छोपेको पहाड नै हो कि !
गोरेले मालिकसँग भेट गरायो । मालिक त वास्तवमा मालिक नै हुँ भन्ने किसिमको रहेछ । बिचरो ! एउटा महलमा जन्मी हुर्केको मान्छेलाई झुपडीको पीडा के थाहा हुन्छ र ! पहाड र दुर्गमको त कुरै सुन्न नमान्ने । उल्टै गोरेलाई झपार्‍यो, ‘त्यस्तो पहाडमा ट्रक लिएर जाने निर्णय कसरी गर्न सकिस् ? यो नयाँ ट्रक हो । ६०/७० वटा थोत्रा ट्रक अरू ड्राइभरले चलाउँदै छन् । डेढ/दुई सयवटा ट्रक त्यसै सडेर गए । थाहा छ तँलाई ? इमानदार ड्राइभर हो भनेर मैले तलार्इं नयाँ ट्रक चुनेर दिएको हुँ ! बुझिस् ।’
‘त्यही भएर मालिक ! मैले मालिक साहेबलाई नै भेटौँ भनेर बडाबालाई यही लिएर आएको हुँ,’ गोरेले डराउँदै उत्तर दियो ।
गोरेले नम्रताका साथ धेरै बेर अनुनय–विनय गर्‍यो । मैले पनि सबै कुराको जानकारी गराएँ । ‘ड्राइभरलाई आफ्नै गाउँ ट्रक लिएर जाँदा सबैतिरको बाटोको पनि राम्रो ज्ञान हुन्छ । ऊ इमानदार भएर ट्रक चलाउँछ । गाउँलेलाई पनि भनेजस्तो सुविधा दिन सक्छ । यतातिर मालिकलाई पनि गाउँलेबाट सुविधा दिएबापत आएको धेर–थोर आम्दानी इमानदारीसाथ बुझाउँछ । अनि, मालिकको पनि जयजयकार हुन्छ । हजुरजस्तो मालिकको ट्रक दुर्गममा गएको सुनेर अरू मालिकले पनि पछि–पछि त्यो ठाउँमा बस नै चलाउन थाल्नुहुन्छ । त्यस बेला ट्रक मालिक हजुर नै पहिलो हुनुहुनेछ,’ मैले सबै कुराको बेलीविस्तार लगाएँ ।
त्यसपछि भुँडे ट्रक मालिकको मन केही पग्लियो । गोरेलाई सोध्यो, ‘गोरे ! त्यसो हो भने यो नयाँ ट्रक तँ छाड्दे । मलाई पनि घाटा हुने काम गर्नुभएन । पहाडी बाटोमा पाटपुर्जा बिग्रिए बनाउन धेरै खर्च लाग्छ । तँ अर्को ट्रक लिएर जा ! हुन्छ ?’
गोरे त जसरी भए पनि आफ्नो ठाउँलाई सुगम भएको देख्न चाहन्थ्यो, गाउँमा ट्रक दौडाउन चाहन्थ्यो । गोरेका यस्ता सोच रमाले भनिसकेकी थिइन् । गोरेले पनि भनेको थियो, ‘बोटअनुसारको बिरूवा हुँ ।’ त्यसैले पुरानो भए पनि ट्रक लिएर गाउँ जाने अनि बाबुको बिँडो थाम्ने उद्देश्य पूरा हुँदा त खुसी हुने नै भयो ऊ । ट्रक पुरानो होस् या नयाँ ! ‘हुन्छ मालिक,’ भन्यो गोरेले ।
मालिकले अब केही दिनमै गोरेजस्तै इमानदार ड्राइभर खोजेर नयाँ ट्रक दिने अनि गोरेलाई कुनै पनि पुरानो ट्रक दिएर गाउँतिर फलफूल र सागसब्जी ढुवानी गर्ने काममा पठाउने कुरा गर्‍यो । गोरे खुसी भयो । म पनि खुसी भएँ । अलि तीतो पनि भयो । इमानदारीका कारण पाएको नयाँ ट्रक छोडी ऊ पुरानो ट्रक लिएर गाउँ आउँदै थियो, गाउँको सेवा गर्न !
मलाई लाग्यो– ‘नयाँ ट्रक नै दिएको भए पनि हुन्थ्यो । त्यस्तो धनी मालिकको के नै हानी हुने थियो होला र !’ यस्तै कुरा सोच्दै म ट्रक मालिकसँग बिदा मागेर हिँडे । गोरेले मलाई सहरदेखि त्यही सानो हाटसम्मका लागि बसको टिकट काटेर गाडी चढायो । ‘ल बडाबा राम्रोसँग जानुस् है । म चाँडै ट्रक लिएर गाउँ आउँछु,’ भन्यो गोरेले ।
म हाटसम्म गाडीबाट आएँ अनि हाटबाट तीन दिन हिँडेर गाउँ आइपुगेँ ।
म र गोरेबीचको त्यति खेरको बिदाइ त सधैँका लागि बिदाइ पो हुन पुग्यो । मैले गोरेलाई हाम्रो सपनासहित छाडेर आएको सात महिना बिते पनि ऊ आएन ! आउँदै आएन ! वास्तवमै गोरे गाउँ नआउने बाटोमै हिँडेछ । बिचरो ! कसरी आओस् पनि । थोत्रो ट्रक लिएर आउँदा बाटोमा ब्रेक फेल भएर त्रिवेणीघाटको भीरबाट नदीमा खसेछ । गोरे बिचरो ! अघिल्लो पुस्तादेखिको सपना अपूरै रह्यो ।
प्रहरीले घटनाको मुचुल्कालगायत कागजात वडामा पठाएको रहेछ । प्रहरी कार्यालयले पठाएको पत्र बल्ल अहिले आयो ।

प्रतिक्रिया