नैतिक शिक्षामा जोड दिन आवश्यक

Janardan-Poudelगुरु अर्थात् गु–अन्धकार रु भनेको नाश गर्ने हटाउने त्यसैले त भनिएको छ, अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी शिक्षाको ज्योतिले नाश गरी उज्यालो फैलाउनेलाई गुरु भनिन्छ । हिन्दू धर्मअनुसार ८४ लाख योनि पार गरेर मात्र मानव योनि प्राप्त हुन्छ । त्यसैले त मानवलाई एकदम चेतनशील प्राणीका रूपमा लिइन्छ । आमा–बाबुको संयोगबाट उत्पत्ति भएको एउटा शिशु ‘मानव’ को शरीरमा ज्ञानको बीजारोपणपश्चात् उसको ज्ञानमय शरीरको पुनर्जन्म हुन्छ । तिनै ज्ञान दिने व्यक्ति हुन् गुरु । ज्ञानविनाको भौतिक शरीर काठ, ढुंगा, माटोको डल्लोसरह हो । कतिपय शब्दमा मानवलाई गुरु शिक्षापश्चात् पुनर्जन्म भएको पनि भन्ने गरिएको छ । भनिन्छ, आमाबाबुबाट प्राप्त भौतिक शरीर नष्ट हुन्छ तर गुरुबाट प्राप्त ज्ञानमय शरीर अमर हुन्छ । गुरु–शिष्यबीच अटुट सम्बन्धको विकास भएको हुन्छ । व्यास ऋषिलाई गुरुजनका प्रतीकका रूपमा मान्ने गरिएको छ ।
गुरु शब्दको अर्थ व्यापक छ, गुरु हुन स्कुल–कलेजमा गएर पढाएर औपचारिक शिक्षा नै दिनुपर्छ भन्ने छैन । जो–कोहीलाई पनि कसैले केही ज्ञान दिन्छ भने त्यसलाई त्यसले गुरुको रूपमा मान्न सक्छ । नेपाली समाजमा प्रचलित गुरु शब्द गाडी चलाउने ड्राइभरलाई गुरुजी भन्ने चलन छ । ड्राइभरले गाडी चलाउने काम खलासीलाई सिकाउने गरेकाले गुरु भनिएको रहेछ र खलासीले गुरु भनेको देखेर आमयात्रुले पनि ड्राइभरलाई गुरु भनेर सम्बोधन गर्ने चलन चलेको हो । यसो भनिरहँदा आममानिसको मनमा एउटा कुरा आउन सक्छ ए, ड्राइभरलाई पो गुरुजी भनिँदोरहेछ । हामीले त गुरु भनेको त ठूलो मान्छे पो भन्ठानेका थियौँ त ।
वास्तवमा ज्ञानगुनका कुरा जोसुकैसित पनि सिक्न सकिन्छ, आफूले नजानेको कुरा आफूभन्दा सानासँग पनि सिक्न सकिन्छ । उदाहरणका लागि पौराणिककालमा एकजना दत्तात्रय नाम गरेका ऋषि थिए । तिनले किटपतंगादि गरेका २४ वटा गुरु थापेका थिए रे † त्यसमध्ये माछा, मौरी, परेवा, पिंगला, शर्प, पानी, आकाश, सूर्य, चन्द्रमा आदि प्रमुख थिए । यीमध्ये सबैबाट यिनले केही न केही महत्त्वपूर्ण कुरा सिकेकै कारण यिनले यति धेरै गुरु थापेका थिए, यिनका २४ वटा गुरुमध्ये दुईवटा गुरु ‘माछा’ र ‘वेश्या’को बयान यस प्रकार छ : दत्तात्रयले भन्नुभएको छ ‘जिब्रोका बसमा पर्नुहुँदैन भन्ने माछाबाट बुझेँ, अर्काको आस गर्नुहँुदैन भन्ने वेश्याबाट बुझेँ । अर्थात् माछाले आहारा आयो भनेर स्वाद लिँदै आहाराबाहेक अरू केही नदेखी हान्नेर खान खोज्दा बल्छीमा पर्छ अनि अर्काको आश गर्दागर्दै वेश्याको जवानी पूरै सकिन्छ । वेश्यालाई लैजान्छु भन्न्न आस देखाउने धेरै हुन्छन् तर बिहे गरेर कसैले लैजाँदैन । दत्तात्रयले माछाबाट चाहिँ खाली जिब्रोको बसमा मात्र पर्नुहुन्न भनेर सिके र पिंगला नाम गरेकी वेश्याबाट चाहिँ अरूको आस धेरै गर्नुहुन्न भन्ने कुरा सिके । यसबाट के बुझिन्छ भने दत्तात्रयबाट चाहिँ गुरु भनेको सानेतिनो हुँदैन जुनसुकै कुराबाट पनि हामीले केही सिक्याँै भने हामीले त्यसलाई गुरु मान्नै पर्छ । आखिर आमाको गर्भदेखि नै सबै सिकेर आउने मानिस त यस धर्तीमा कोही जन्मिएकै छैन ।
मानिस जन्मेदेखि मृत्युपर्यन्त जहिले पनि विद्यार्थी नै रहन्छ । भनिन्छ, जीवन भनेको सिकाइ र भोगाइ हो । मान्छेले एउटा कुनै विषयमा जतिसुकै निपुण भए पनि सबै विषयमा निपुण पाउन भने दुर्लभ छ । गुरु वर्गले नै ज्ञानमार्गमा अग्रसर गराउँछन् । मन, वचन, शरीर, वाणी, इन्द्रिय तथा बुद्धिलाई नियन्त्रण गरेर शिष्यले गुरुबाट शिक्षा हासिल गर्नुपर्छ, गुरुसेवाबाट विमुख हुनुहँुदैन । अहंकार र अभिमान त्याग गरी गुरुआज्ञा पालन गरी सुश्रुषा गर्नु नै छात्राहरूको परम् कर्तव्य हो । गुरुले पनि आºना शिष्यप्रति माया–ममता देखाउने एवं पुत्रवत् व्यवहार गर्नुपर्छ ।
भगवान् श्रीकृष्णले आºना गुरु सान्दिपिनीलाई धेरै वर्ष पढियो के गुरु दक्षिणा टक्रयाउँ गुरु ? भन्दा सान्दिपिनी गुरुले भन्नुभएछ– मलाई त केही चाहिन्नँ, केही दिने नै भए तिमीहरूकै गुरुआमालाई सोध भनेछन् र श्रीकृष्णले गुरुआमालाइ सोध्दा अरूथोक त मलाई केही चाहिएको छैन, दिने नै भए मेरा पूर्वकालमा मरेका २ जना छोरालाई ब्युँताई ल्याइदेऊ भनेपछि भगवान् श्रीकृष्णले गुरुआमाका मरेका छोराहरू ल्याएर गुरु दक्षिणाका रूपमा दिएछन् । एकलव्य निषाद राजकुमार थिए । उनको आºनो गुरु द्रोणाचार्यप्रति असीम आस्था र श्रद्धा थियो । उनले द्रोणाचार्यको गुरुमूर्ति स्थापना गरेर जंगलमा धनुर्विद्याको अभ्यास गरे र उनी अद्वितीय धर्नुधारीका रूपमा कहलिए । उनले गुरु दक्षिणाका रूपमा द्रोणाचार्यलाई आºनो दाहिनोहातको आँैला काटेर दिएर गुरु दक्षिणाको अद्वितीय दृष्टान्त पेस गरेका थिए । गुरुहरू शिष्यलाई यस्तो चाहियो, उस्तो चाहियो भन्दैनन्, शिष्यहरूले नै कर गरेर गुरुको आवश्यकतालाई बुझेर गुरु दक्षिणा दिन्छन् र गुरुले पनि शिष्यको आग्रहलाई नकार्न नसकेर लिने गरेको पाइन्छ । हिजोआज गुरुकुलको जस्तो गुरु र विद्यार्थीबीच न आत्मीयता छ न घनिष्टता नै † हिजोआजका विद्यार्थी त हामीले पैसा तिरेर पढेको भन्छन्, कैयौँ स्कुल/कलेजमा त विद्यार्थी फेल भए पनि गुरुलाई गाली गर्ने, गुरुसँग झगडा गर्ने आदि गरेको पाइन्छ । स्कुल/कलेजले पठाउने आन्तरिक नम्बर किन थोरै पठाएको भनी गुरुसँग झगडा गर्ने, घेर्नेसमेत पाइएको छ ।
आजको शिक्षा व्यावसायिक भइसकेका कारणे विद्यार्थीमा नैतिक शिक्षाको कमी, अनुशासनको कमी भएको हो । यसका लागि घरपरिवार, समाज, स्कुल, कलेज सबै जिम्मेवार छन् । भनिन्छ, ‘मानिस जस्तो संस्कारमा हुर्कियो मानिसले त्यस्तै सिक्छ ।’ घरमा बाबुआमालाई आदर गर्न सिकेका बच्चा भए स्कुलमा गएर शिक्षकलाई आदारभाव राख्छ । अन्यथा घरमा बाबुआमालाई नै मुक्का ताक्ने छोराले स्कुलमा गएर शिक्षकलाई के आदर गरोस् ? उसले त शिक्षक भनेको हामीले तिरेको शुल्कबाट तलब खाने कर्मचारी हो भन्ने मात्र बुझेको छ । यो गलत संस्कारका कारण त्यस्तो भएको हो । यो सोच विल्कुल गलत सोच हो । एउटा गुरुले दिएको शिक्षाको कुनै मोल हँुदैन । शिक्षकले विद्यार्थी पढाएबापत आºनो र परिवारको गुजारा धान्नको निम्ति केही पारिश्रमिक लिनुपर्छ । त्यो त गुरुकुलमा पनि दक्षिणाको चलन चलेकै थियो नि †

प्रतिक्रिया