जितिया पर्वको रौनक

Lucky-Chaudharyहरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामसाथ थारू घर–आँगनमा मनाइने जितियापर्वको रौनकता यस वर्ष पनि थारूबस्तीमा सुरु भएको छ । विशेष गरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसी मनाइने यस पर्वले थारू समुदायबीच सम्बन्ध सुधारको भूमिका खेल्ने गर्छ । विवाह गरी गएका थारू चेलीलाई अनिवार्य रूपमा माइतमा बोलाई यो चाड मनाइन्छ । यदि, त्यसो नगरिए सम्बन्धमा दरार आएको अर्थ लाग्ने हुनाले चेलीबेटीलाई माइतमा ल्याउने विशेष चाँजोपाँजो गरिन्छ । असोज ११ गते देशभर थारू घरआँगनमा जितिया मनाइँदै छ ।
जितिया पर्वमा थारू चेलीले सूर्यलाई जितमहानबाबाको नामले पूजा गर्ने गर्छन् । यसको व्रत तथा पूजाले आºना सन्तान सधैँ जित्ने, सफलताको शिखर चुम्ने विश्वास गरी थारू चेलीहरू निराहार व्रत बस्छन् । सन्तानको सफलतासँगै उनीहरू श्रीमान्को दीर्घायुको पनि कामना गर्ने गर्छन् । चौबिसघन्टे लामो व्रतपछि मात्र चेलीहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास थारू चेलीको छ ।
जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तथापि, थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ । थारूसँग अहिले दनुवार र मधेसीमूलका चेलीबेटीले समेत यस पर्वलाई मनाउन सुरु गरेका छन् । तराईका मूल बासिन्दा थारूको यस महान् पर्वले थारू समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर पार्ने विश्वास गरिन्छ । उसो त यो पर्व पूर्वीया थारूले मात्र मनाउँछन् । कपिलवस्तुदेखि झापासम्मका थारूले धुमधामसाथ मनाउने यो पर्वको पश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारूलाई कुनै महत्व राख्दैन । पश्चिमका थारू जितियाको सट्टा अतवारी र अष्टिम्की पर्व मनाउँछन् । उनीहरू पनि व्रत बसी चेलीबेटीलाई उपहार दिई मनाउने गर्छन् ।
यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दु:खका कुरा साट्ने अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउँछ ।
थारू समाजमा जितियाको महिमा किन र कसरी कायम भयो त ? विभिन्न किंवदन्ती सुन्नमा पाइन्छ । प्राचीनकालमा एक सारीबाहन नामक राजाको छोरी मसवासीले विवाह नै नगरी कुमारी अवस्थामै गर्भाधारण गर्छिन् । कसैसँग शारीरिक सम्पर्क नै नगरी एक बालकको जन्म हुन्छ । सो बालक निकै तीक्ष्णबुद्धि र बलसाली भएकाले ऊ आºना साथीहरूसँग कहिल्यै पराजित हुँदैन । कहिल्यै नहार्ने जित्ने मात्र भएकाले उसको नाम ‘जितुवा’ हुन्छ । उसको सफलता देखेर सहन नसकी उसका साथीहरू एकदिन जितुवालाई हराउने योजना बनाउँछन् । एउटा गुफामा आमाको नामबाट पस्ने तर निस्कँदा बुबाको नाम लिएर निस्कने । जो निस्कन सक्छ उही विजय हुन्छ भन्ने सर्त राखिएको हुन्छ । जितुवा पनि साथीहरूको सर्त मन्जुर गरी गुफामा आमाको नाम लिएर त पस्छ तर निस्कने बेला उसले बुबाको नाम सम्झिन सक्दैन । बुबाको नाम सम्झिन नसकेपछि ऊ गुफाभित्रै बस्न बाध्य हुन्छ । उसको आमाले सो कुराको जानकारी पाएपछि गुफामा गएर बुबाको नाम सूर्य भगवान् भनेर बताएपछि ऊ बल्ल गुफाबाट बाहिर निस्कन्छ ।
आमाले बुबाको नाम सूर्य भगवान् बताए पनि जितुवालाई विश्वास लाग्दैन । आमालाई पुन: बुबाको नाम बताउन बारम्बार आग्रह गर्छ । बुबाको नाम सूर्य नै हो भनेपछि उसले आमालाई बुबासँग भेटाइदिन आग्रह गर्छ । तर, आमाले बुबालाई भेट्न जाँदा जलेर नष्ट होइने बताए पनि जितुवा मान्दैन । ऊ आºनै जिद्दीले बुबासँग भेट्न भनी घरबाट निस्कन्छ । त्यो कुराको जानकारी सूर्य भगवान्ले पाएपछि जोगीको भेषमा जितुवासँग बाटोमा भेट्छन् ।
जितुवालाई तिमी कहाँ जाँदै छौँ भनेर सोध्दा उसले बुबा सूर्यसँग भेट्न निस्केको जवाफ दिन्छ । तर, सूर्य त आगोको झिल्को भएकाले जलेर नष्ट भइन्छ भन्दासमेत त्यो बालकले मान्दैन । जोगीको कुरा नसुनी ऊ अगाडि बढ्छ । जोगीले म नै तिम्रो बुबा सूर्य भगवान् हुँ भने पनि उसले विश्वास गर्दैन । पछि सूर्यले जितुवालाई सम्झाई बुझाई संसारका चेलीबेटीहरू कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिमा उपवास, व्रत बसी पूजापाठ गरे उनीहरूको सन्तानको विजयी, सफलता तथा दीर्घायु हुने वरदान प्राप्त हुने बताएपछि जितुवा विश्वास गर्छ । सोही प्रसंगमा यो पर्व सुरु भएको थारू समाजमा विश्वास छ ।
जितियापर्वलाई परम्परागत रूपमा मनाउने कि समयसान्दर्भिक रूपान्तरण गर्ने भन्ने आज थारू समाजमा बहसको विषय बनेको छ । चेलीबेटीले पानी पनि नपिई निराहार (भोकभोकै ) व्रत बस्ने प्रचलनले अधिकांश चेलीको स्वास्थ्यमा समस्या परेको भन्दै आजका चेलीले यस पर्वलाई महिला अधिकारसँग जोडेर हेर्न थालेका छन् । महिलाले पुरुषका लागि व्रत बस्ने, उसको दीर्घायुको कामना गर्ने तर त्यही पुरुष महिलालाई दासदासीको दर्जामा राखी शोषण गर्ने गरेको आरोप लगाउँदै केही महिला पर्वको समयसान्दर्भिकताको कुरा उठाउन थालेका छन् । यद्यपि, थारू समाजमा महिलालाई दासदासीको दर्जा दिने चलन भने छैन । सम्मानपूर्वक राख्ने प्रचलन छ । थारू चेलीको सम्मान हुँदाहुँदै अधिकारको कुरा उठाउनु सान्दर्भिक नहुने कतिपय पुरुषको बुझाइ छ ।
यस जितिया पर्वलाई कतिपय थारूले शान्ति र संविधानको पक्षसँग जोडेर मनाउने प्रयास गरेका छन् । देशमा शान्ति कायम हुन नसक्दा पर्व मनाउनुको खासै अर्थ नहुने भन्दै दिगो शान्तिका लागि यस वर्षको जितिया पर्वमा व्रत बस्ने कतिपय चेलीको धारणा छ । देशमा अमनचयन तथा शान्ति बहाली नभएसम्म कुनै पनि नेपालीको सफलता र दीर्घायुको सुनिश्चितता हुन नसक्ने भन्दै जितिया पर्वमा शान्ति बहालीको कामना गर्ने बुझाइ कतिपयको छ । शान्ति नआए संविधान नबन्ने, संविधान नबने नेपाली जनता अधिकारसम्पन्न नहुने भएपछि थारूले यसपालि शान्ति र संविधान निर्माणका लागि चेलीले उपबास बस्न सुझाव दिएका छन् । मुलुकमा शान्ति र संविधानले विजय प्राप्त नगरे पौने तीन करोड नेपालीको जित सुनिश्चित नहुने भन्दै जितिया पर्वलाई त्यसैको सफलताका लागि मनाउनुपर्ने बुझाइ थारू चेलीको छ । आगामी मंसिर ४ का लागि निर्धारित संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न हुने या नहुने अन्योल कायमै रहँदा थारू चेलीले जितिया पर्वमार्फत निर्वाचन सम्पन्न हुनुपर्ने र सबैको स्वीकार्य नयाँ संविधान बन्नुपर्ने भाकल गर्ने पनि बताएका छन् ।
देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला, राजनीतिक दलबीच अविश्वासको खाडल गहिरिँदै गएका बेला जितिया पर्वको उपबास तथा कामनाले राजनीतिक दलका नेताहरूको अविश्वासमा पूर्णविराम लाग्नुपर्ने थारूहरूको शुभकामना छ । दलका नेताहरूमा सद्बुद्धि आएको भए उहिल्यै देशले निकास पाइसक्ने थियो । तर, आपसी तिक्तता र किचलोका कारण मुलुक आर्थिक समृद्धिमा जानबाट वञ्चित हुँदै आएको छ । यस जितिया पर्वमा थारू चेलीले यसका लागि पनि सूर्य भगवान्सँग भाकल गर्ने बताएका छन् । थारू महिला समाज नेपालकी सचिव गीता थारूले श्रीमान्को दीर्घायु, सन्तानहरूको सुस्वास्थ्यसँगै देशको समृद्धिका लागि पनि यसपालिको व्रतमार्फत भाकल गर्ने बताउँछिन् । देशले निकास पाए थारू परम्पराप्रतिको आस्था र विश्वासमा समेत वृद्धि हुने उनको बुझाइ छ । सदियौँदेखि विश्वास गरी मनाइँदै आएको थारू जितिया पर्वमा थारू चेलीको मनोकामना यसपालि शान्ति र संविधान बन्न सक्यो भने थारूका सन्तान तथा पतिको दीर्घायु मात्र होइन, सबै नेपालीको कल्याण हुनेछ ।

प्रतिक्रिया