एमाओवादीमा किचलो बढ्यो

mao officeकाठमाडौं, १३ असोज । एमाओवादीमा संविधानसभाको दोस्रो चुनावका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विवाद बढेको छ । शनिबार दिनभर उम्मेदवार छनोटका विषयमा छलफल भए पनि विवादका कारण टुंगोमा पुग्न नसकेको एमाओवादी स्रोतले जनाएको छ । एमाओवादीले शीर्ष नेताहरूको उम्मेदवारी शुक्रबार नै घोषणा गर्ने बताए पनि विवादका कारण रोकिएको थियो ।

एमाओवादीले नेता नारायणकाजी श्रेष्ठको उम्मेदवारी क्षेत्र अझै टुंगो लगाउन सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं क्षेत्र नम्बर १० र धनुषा वा सिरहामध्ये एक ठाउँबाट र नेता डा. बाबुराम भट्टराई गोरखा १ र रूपेन्देही ४ बाट उठ्ने निश्चित भइसके पनि श्रेष्ठको भने टुंगो लाग्न नसकेको हो । गोरखा १ बाट उठ्न चाहेका श्रेष्ठलाई उक्त क्षेत्र नदिइएको स्रोत बताउँछ । ती स्रोतका अनुसार श्रेष्ठलाई बारा ६ मा उठ्न पार्टीले निर्देशन दिएको छ ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने उम्मेदवार छनोटको काम ७५ प्रतिशत सम्पन्न भइसकेको जानकारी उल्लेख गर्दै आइतबार शीर्ष नेताका साथै पहाडी र हिमाली क्षेत्रको उम्मेदवारको टुंगो लगाउने जानकारी दिए । दाहाल र भट्टराई दुई/दुई क्षेत्रबाट उठ्ने निश्चित भए पनि अन्य पदाधिकारीलाई के गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको प्रवक्ता सापकोटाले स्वीकार गरे । पदाधिकारीलाई पनि दुई/दुई स्थानबाट उठाउन कुराकानी भइरहे पनि टुंगो नलागेको उनको भनाइ छ ।
यसका साथै ताम्सालिङ र मधेस राज्यमा उम्मेदवार छनोटमा एमाओवादीमा तीव्र विवाद रहेको स्रोतको दाबी छ । मधेसअन्तर्गत धनुषा १ मा एमालेबाट प्रवेश गरेका मधेस ब्यूरो इन्चार्ज रामचन्द्र झा र मिथिला इन्चार्ज श्रवण यादवबीच कसलाई उठाउने भन्ने विवादको टुंगो लाग्न सकेको छैन । सो क्षेत्रमा यसअघिको चुनावमा झा २७ मतले विजयी भएका थिए ।
ताम्सालिङअन्तर्गत सिन्धुली ३ मा पनि विवाद चुलिएको छ । केन्द्रले हरिबोल गुजरेललाई उठाए पनि जिल्ला सचिव सुरधबहादुर सेनले दाबी गरेपछि त्यहाँको विवाद मिल्न नसकेको सिन्धुली एमाओवादीले जनाएको छ । ताम्सालिङमा तामाङ समुदायले हरेक जिल्लाबाट एक/एक जना तामाङ समुदायबाट प्रत्यक्षमा उम्मेदवार उठाउनुपर्ने माग पनि अघि सारेको स्रोतले जनाएको छ ।
प्रवक्ता सापकोटाले शनिबार आयोजित नियमित साप्ताहिक भेटघाट कार्यक्रममा शनिबार दिनभर प्रयास गर्ने र आइतबार केन्द्रीय कार्यालयको बैठक बसेर विवाद टुंगो लगाएर आइतबार नै उम्मेदवारहरूको घोषणा गर्ने जानकारी दिए ।
एमाओवादीले विवादकै बीच पनि केही शीर्ष नेताहरूको उम्मेदवारी क्षेत्रको टुंगो लगाएको छ । जसमा अध्यक्ष दाहाल काठमाडौं १०, देवेन्द्र पौडेल ९, मुक्ति प्रधान ८, हिसिला यमी ७, हिमाल शर्मा ६, महेन्द्र श्रेष्ठ ५, नन्दकिशोर पुन ४, गणेश रेग्मी ३, लीलामणि पोखरेल २, रेणु दाहाल १, बाबुराम गोरखा १ र रूपेन्देही ४, रूकुम २ जनार्शन शर्मा, १ गणेशमान पुन, रोल्पा १ कृष्णबहाुदर महरा, लेखराज भट्ट डोटी २, म्याग्दीमा लोकेन्द्र बिष्ट उठने निश्चित भएको छ ।

प्रतिक्रिया