एमालेमा उम्मेदवार छान्न हम्मेहम्मे

umlकाठमाडौं, ३ असोज । एमालेमा टिकटका आकांक्षी केन्द्रीय कार्यालयमा केन्द्रित भएपछि ४ मंसिरमा हुने संविधानसभा चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम छनोटमा नेतृत्वलाई बाधा उत्पन्न भएको छ । स्थायी कमिटीले बुधबारदेखि प्रत्यक्षतर्फका उम्मेदवारको नाम छनोट थाल्ने भनिए पनि जिल्ला नेताहरूको दबाबका कारण प्रक्रिया अवरुद्ध भएको एमाले स्रोतले जनाएको छ ।

उम्मेदवारको अन्तिम टुंगो लगाउन बुधबार मुख्यालय बल्खुमा स्थायी कमिटीको बैठक बस्ने तय भएको थियो । जिल्ला नेताहरूले आ–आफूनिकट व्यक्तिलाई सिफारिस गर्न दबाब दिन थालेपछि एमाले शीर्ष नेताहरूले स्थायी कमिटी बैठक सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानको कार्यालयमा राखेका थिए ।
‘केन्द्रको निर्देशनभन्दा बढी व्यक्तिको नाम सिफारिस भएर आएपछि स्थायी कमिटीलाई नाम छनोट गर्न समस्या भएको छ,’ एक नेताले भने, ‘प्रत्यक्षतर्फ मात्र २ सय ४० निर्वाचन क्षेत्रबाट ७ सयभन्दा बढीको नाम सिफारिसमा परेको छ ।’ उनले ती सबै उम्मेदवारको नामलाई अञ्चल संयोजकहरूको राय–सुझावको आधारमा अन्तिम रूप दिइने बताए ।
बुधबारको बैठकमा सबै अञ्चल संयोजकहरूले आआफ्नो तर्फबाट ‘रिर्पोट’ प्रस्तुत गरेको बैठकमा सहभागी एक नेताले सौर्यलाई जानकारी दिए । ‘अब बस्ने स्थायी कमिटीको बैठकले नामावलीलाई अन्तिम रूप दिन्छ,’ ती नेताले भने, ‘जिल्ला र क्षेत्रमा लोकप्रिय बनेका तथा लामो समयदेखि पार्टीमा योगदान गरेका नेतालाई एमालेले पहिलो प्राथमिकता दिनेछ ।’
एमालेले क्षेत्र, जिल्ला र अञ्चलको सिफारिस हुँदै केन्द्रमा आएका प्रत्यक्षतर्फका उम्मेदवारको नामावलीलाई सूचीकृत र व्यवस्थित गर्ने कार्य सकेको जनाएको छ । स्थायी कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाएपछि अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा पठाउने भएको छ । यसै साता बस्ने केन्द्रीय कमिटी बैठकले चुनावी घोषणापत्र र उम्मेदवारको नामलाई अन्तिम रूप दिने तयारीे गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया