काठमाडौ, ३ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद्ले चुनावी कार्यतालिका सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरको संविधानसभा चुनावलाई प्रतिकूल असर नपर्ने गरी कार्यतालिका पर सार्न आयोगलाई आग्रह गरेको हो । ‘मतदान प्रक्रियालाई असर नपर्ने गरी उम्मेद्वारको मनोनयन दर्ता गर्ने मिति र समानुपातिकतर्फको उम्मेदवारका लागि राजनीतिक दलले निवेदन पेस गर्ने मिति पर सार्न बैठकले आयोगलाई आग्रह गरेको छ,’ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने ।
उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दलका नेताले निर्वाचन तालिका केही पर सार्न मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई मंगलबार आग्रह गरेका थिए । प्रमुख दलका प्रमुख नेताको आग्रहअनुसार मन्त्रिपरिषद्ले
मतदान प्रक्रियामा असर नपर्नेगरी तालिका कार्यतालिका सार्न आग्रह गरेको हो । दलहरूले दलीय उम्मेदवार छनोट गरिनसकेका कारण निर्वाचन तालिका पर सार्न आग्रह गरेका थिए । दलहरूको आग्रह अनुसार मन्त्रिपरिषद्को बैठकले बन्दसूची पेस गर्ने मितिमा हेरफेर गर्न आयोगलाई आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि रेग्मीले निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलगायत पदाधिकारीसँग छलफल गरेका थिए । छलफलका क्रममा चुनावको पछिल्लो तयारी र सुरक्षा प्रबन्धका विषयमा छलफल भएको गौतमले जानकारी दिए । छलफलमा नेकपा–माओवादीलगायतका दलहरूले चुनावी प्रक्रिया भाँड्नसक्ने भएकाले त्यसमा सतर्क रहन रेग्मीले आयोगका पदाधिकारीलाई सुझाएका थिए । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफल र मन्त्रिपरिषद् बैठकपछि रेग्मी राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।
प्रतिक्रिया