क्षेत्रीय कार्यालय विस्तार गर्ने तयारीमा विभाग

baideshik rojgar bivagकाठमाडौं, १ असोज । वैदेशिक रोजगार विभागले चालु आवमा क्षेत्रीय कार्यालय विस्तार गर्ने भएको छ । त्यसका लागि आवश्यक अनुसन्धान गरेर फाइल मन्त्रालयमा पठाएको विभागका निर्देशक दिवस आचार्यले बताए ।
विभागमा दैनिक सयौँको संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेका कारण सेवा ग्राहीलाई थप सहजता प्रदान गर्ने उद्देश्य लिएर सो प्रतिवेदन मन्त्रालयमा पठाएको निर्देशक आचार्यले बताए । क्षेत्रीयस्तरमा म्यानपावर कम्पनीका शाखा कार्यालय, कम्पनीका एजेन्ट हुने हुँदा यसले थप सहयोग पुर्‍याने विश्वास उनले लिए ।
स्थानीय मानिसलाई विभिन्न बाहानामा ठगी गरेका मुद्दा विभागमा आउने गरेको अवस्थामा विभागको शाखा कार्यालय विस्तारसँगै ठगिने क्रम घटनेमा उनले जोड दिए । क्षेत्रीय कार्यलय सथापनापछि स्थानीयले उजुरी गर्नकै लागि राजधानी धाउनुपर्ने बाध्यतामा कमी आउनेमा आर्चाय विश्वस्त रहेका छन् । यसले सेवाग्राहीलाई र विभाग दुवैलाई काम गर्न सजिलो हुने उनको जिकिर छ ।
शाखा विस्तार र सांगठनिक विस्तारका लागि विभागले मन्त्रालयमा फाइल पठाएको भन्दै आर्चायले भने, ‘विभागमा आउने सेवाग्राहीको चापलाई हेरेर कुन स्थानका सेवाग्राही विभागमा बढी आउने गरेका छन्, उनीहरूको चापलाई मध्यनजर गर्दै तीन वा चार शाखा विस्तार गर्नेतर्फ अघि बढिरहेका छौँ ।’ शाखा विस्तार भएमा अधिकांश सेवाग्राहीले स्थानीयस्तरबाट सेवा पाउनेछन् । यसले गर्दा काम छिटोछरितो बन्दै जानेछ । विभागले गर्ने गरेका अनुगमन, उजुरी, राहत, उद्धार विभिन्न सचेतनामूलक कार्यक्रम, जनचेतना फैलाउने काम विभागले जुन रूपमा गर्नुपर्ने हो सो रूपमा गर्न सकेको छैन ।
विभागले यस्ता कामलाई पूर्ण रूपमा अगाडि बढाउन सकेको खण्डमा विभागमा आउने गरेका समस्यामा कमी आउनेमा आचार्य विश्वस्त रहेका छन् । यिनै कामलाई प्रभावकारी बनाउन सांगठनिक विकास आवश्यक रहेकोमा पनि उनले जोड दिए । चाँडो सांगठनिक विस्तार गर्न सकेमा विभागमा कामको चाप क्रमैसँग घट्ने उनी बताउँछन् । आचार्यले भने, ‘सांगठनिक विस्तार गर्न सके विभागमा लाग्ने गरेको सेवाग्राहीको भिड क्रमैसँग घट्दै जानेछ ।’

प्रतिक्रिया