सञ्चयकोषको मौज्दात १ खर्ब ४१ अर्ब

sanchayakoshकाठमाडौं, १ असोज । कर्मचारी सञ्चयकोषमा हाल एक खर्ब ४० अर्ब ७१ करोड मौज्दात रहेको छ । कोषको बाउन्नौँ वार्षिकोत्सव समारोहमा प्रशासक कृष्णप्रसाद आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै सो रकम मौज्दातसहित एक खर्ब ४५ अर्ब ६८ करोड कुल वित्तीय स्रोत रहेको बताएका हुन् ।
लगनखेलमा रहेको नयाँ भवनको उद्घाटन गर्दै कोषका अध्यक्ष दुर्गानिधि शर्माले देशको महत्त्वपूर्ण वित्तीय संस्था भएकाले संस्थामा करिब चार लाख ८३ हजार राष्ट्रसेवक कर्मचारीको सेवाकालीन र अवकाशपश्चात् सामाजिक सुरक्षा सुनिश्चित गर्ने झन्डै १ सय ४५ अर्ब रुपियाँ बराबरको दीर्घकालीन पँुजी निर्माणको माध्यमबाट देशलाई ठूलो सहयोग पुगेको बताए ।
उनले राष्ट्रिय सम्पत्ति र सामाजिक सुरक्षा प्रदायक अग्रणी भूमिका खेलिरहेका अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएकोमा जोड दिए । कर्मचारीको सञ्चित रकमको सुरक्षासँगै सङ्कलित रकमलाई राष्ट्र विकासमा सदुपयोग गर्ने नीतिअनुसार कतिपय आयमूलक क्षेत्रमा लगानी बढाएको अध्यक्ष शर्माले बताए ।     सो अवसरमा सभाध्यक्ष एवम् कोष सञ्चालक समितिका सदस्य प्राडा कमलराज ढुंगेलले कर्मचारी सञ्चयकोषमा निजी क्षेत्रका कामदार तथा कर्मचारीको संलग्नता एकदमै कम रहेको भन्दै सबैको आपसी विश्वास, सहयोग र सहकार्यबाट मात्र संस्था आफ्नो गन्तव्यमा पुग्ने भएकाले यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष शङ्करप्रसाद अर्यालले दीर्घकालीन वित्तीय स्रोत सञ्चालन गर्ने यस संस्थाले वित्तीय बजारमा ठूलो नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे । सोही अवसरमा कोषमा १५ वर्ष सेवा गरेका दुई जना र २५ वर्ष सेवा गरेका २४ जना कर्मचारीलाई संस्थाका अध्यक्ष शर्माले पदक वितरण गरेका थिए ।

प्रतिक्रिया