राजी जातिको पेसा संकटमा

धनगढी, ३० भदौ । माछा मार्ने, डुंगा चलाउने, मह काड्ने परम्परागत पेसा संकटमा परेपछि कैलालीलगायतका जिल्लामा बसोवास गर्दै आएका लोपोन्मुख एवं अल्पसंख्यक राजी जातिलाई सहज रूपमा जीवनयापन गर्न समस्या भएको छ ।
विकासको क्रमसँगै नदी तथा खोलामा पुलपुलेसा निर्माण भई डुंगाको प्रयोग घटेको र स्थानीय निकायले माछा पालनका क्षेत्र नदी तथा ताल तलैया ठेक्कामा लगाउनेलगायतका कारणले परम्परागत पेसा संकटमा परेको कैलाली टीकापुरका चित्रबहादुर राजीले बताए । नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा मात्र बसोवास रहेको यो जातिको जनसंख्या ४ हजार ४ सय ३६ मात्र  छ ।
सरकारको वन नीतिसँगै ल्याइएको सामुदायिक वनको अवधारणाले जंगलबाट जडीबुटी संकलन गर्ने र मह काड्ने आफूको परम्परागत पेसा व्यवसायसमेत संकटमा परेको राजी बताउँछन् । ‘पेसा संकटमा पर्दा कैयौँ युवा कामको खोजीमा भारत जान विवस छन् । अन्य कतिपय दैनिक मजदुरी गरिरहेका छन् । ’
राजी जातिका अगुवा ४६ वर्षीय चित्रबहादुरले भने, ‘हरेक सरकार र राजनीतिक दलले पिछडिएका जातजातिको उत्थान गर्ने घोषणा गर्छ तर कार्यान्वयन कसैले गर्दैनन् ।’ आर्थिक, तथा शैक्षिक रूपमा निकै पिछडिएको यो जातिका अधिकांश बालबालिका आर्थिक समस्याकै कारण विद्यालयसमेत जानबाट वञ्चित छन् ।
तीन चार दशक अघिसम्ममा घुमन्ते जातिका रूपमा चिनिने यो जाति अब विस्तारै वनजंगल र नदी छेउको सरकारी पर्ती ऐलानी जग्गामा टहरो बनाई बस्न थालेको राजी समुदायको आर्थिक तथा सामाजिक पक्षमा अध्ययन अनुशन्धान गरिरहेका जीवन रानाले बताए । सरकार र दलका कार्यक्रम भाषणमा मात्र आउने गरेको र कार्यान्वयनको पाटो फितलो रहेको कारण राजीको अवस्थामा सुधार आउन नसकेको कैलालीका अर्का राजी डम्बर राजी बताउँछन् ।  राजी समुदायका लागि भन्दै कैलाली जिविसमा वार्षिक रु ५० हजारदेखि एक लाखको बजेट आउँछ भन्ने सुनिएको भए पनि त्यो पैसा अन्तै खर्च हुने गरेको छ । डम्मरले भने, ‘यो समुदायको परम्परागत पेसा व्यवसायलाई आधुनिकीकरण गर्न सकिए राजीको उत्थान हुने देखिन्छ ।’
कैलालीको हकमा खैलाड, चौमाला, र लालबोझी गाविसमा मा यो जातिको बसोवास रहेकामा मतदाता एक हजारको आसपासमा  छ । पेसा संकटमा परेकोमा चिन्तित भएका चित्रबहादुर राजीलाई भने यति बेला भने चुनावी वातावरण तताएको टिप्पणी गरे ।

प्रतिक्रिया