मकैको बिउमा आत्मनिर्भर

दैलेख : दैलेखको आठ गाविसका कृषकद्वारा उत्पादित बिउले दैलेख आत्मनिर्भर बन्न थालेको छ । स्थानीयवासीले उन्नत जातको मकैको बिउ उत्पादन गरी बर्सेनि लाखौँको आम्दानी गर्न सफल भएका छन् ।
परम्परागतको साटो उन्नत जातका देउती, पोषिलो–१, मनकामना, रामपुर कम्पोजिट, अरूण–१ मकैबाट बिउ उत्पादन गर्दै आएका छन् । नारायण नगरपालिका–७ किमुगाउँकी निर्मला खड्काले उन्नत जातको मकैको बिउले गर्दा ५० प्रतिशत उत्पादन बढेको बताए । मकैबालीको बीचमा सिमी, बोडी, टमाटर, अदुवा, बेसार, बन्दा, काउलीखेती गरी दोहोरो उत्पादन गरेको कृषकको भनाइ छ । वसन्तमाला बीउ उत्पादन समूहकी अध्यक्ष खड्काले भने, ‘किसानलाई आफ्नो जग्गा बढेको जस्तो महसुस भएको छ ।’
गत वर्ष उत्पादित १२ हजार पाँच सय ५० केजी बिउमध्ये ४५ सय केजी बेचेर एक लाख २० हजार रुपियाँ आम्दानी गरेको वसन्तमाला समूहले जनाएको छ । स्विस र अमेरिकी सरकारको आर्थिक सहयोगमा पहाडी मकैबाली अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय मकै तथा गहँु अनुसन्धान केन्द्रले वसन्तमालासहित बेलपाटा, डाँडापराजुल, मालिका, दुल्लु, कालभैरव, वराह गाविसका कृषकलाई उन्नत बिउ उत्पादन, प्रशोधन र बजारीकरणमा सघाउँदै आएको छ ।
गत वर्ष ती समूहले ८० हेक्टरमा लगाएको बिउ बिक्रीबाट वार्षिक ४८ लाख रुपियाँ आम्दानी गरेको केन्द्रले जनाएको छ । कृषककै जमिन, स्थानीय प्रविधि र नयाँ प्रविधिको संयोजनबाट गुणस्तरीय बिउ उत्पादन गरेको सिमिट इन्टरनेसनलका राष्ट्रिय बाली विज्ञ निर्मल गदालले बताए । समूहले गुणस्तरीय बिउ उत्पादन, खडाबाली निरीक्षण, नमुना परीक्षण गरेर मात्र बिक्री गर्छन् । उत्पादित बिउ नेपालगन्जस्थित तिवारी एग्रोफर्माले खरिद गर्दै आएको छ ।

प्रतिक्रिया