काठमाडौं, २८ भदौ । सातौँ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बिहीबार जापानको टोकियो पुगेको छ । शनिबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले ८ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा पुरुषतर्फ मुकुन्द महर्जनले ६७ केजीमुनि, एघारौँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सुनील लामाले ६० केजीमुनि र विजय लामाले ५५ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, महिलाको ६८ केजीमाथि एघारौँ सागकी स्वर्ण विजेता गंगादेवी अधिकारी, ५० केजीमुनि अनु अधिकारी र ५५ केजीमुनि मल्लिका थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
नेपालले पुरुष र महिलाको टिम कुमुतेमा पनि सहभागिता जनाउनेछ । सन् २००० मा टोकियोमै भएको तेस्रो संस्करणमा नेपालले पुरुष टिम कुमुतेमा कांस्य जितेको थियो । सुरेन्द्रलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलीले कांस्य जितेको हो । त्यो नै विश्व सितोरियो च्याम्पियनसिपमा नेपालले हासिल गरेको अहिलैसम्मकै ठूलो उपलब्धि हो ।
विश्व कराते महासंघका महासचिव इवाकी हासिमोतोको निमन्त्रणामा नेपाल सितोरियो कराते संघ एवं नेपाल कराते महासंघका संरक्षकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा पनि टोलीसँगै टोकियो प्रस्थान गरेका छन् । टोली नेतामा सितोरियो कराते संघ एवं कराते महासंघका अध्यक्ष दावा गुरुङ तथा प्रशिक्षकमा आठौँ र नवौँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का स्वर्णधारी दीपक श्रेष्ठ छन् ।
पदकको सम्भावना, नियमित प्रशिक्षण, अनुशासन र फिजिकल फिटनेसका आधारमा खेलाडी छनोट गरिएको प्रशिक्षक श्रेष्ठले जनाएका छन् । विश्व च्याम्पियनसिपमा सहभागी हुने सबै छ खेलाडी राष्ट्रिय टिमका हुन् । सबै खेलाडीका लागि यो नै विश्व च्याम्पियनसिपको पहिलो अनुभव हुनेछ ।
प्रतिक्रिया