तेल चोर्ने टयांकर चालक कारबाहीमा

विराटनगर, २७ भदौ  । पेट्रोलियम पर्दाथको चोरी गर्ने टयांकर चालक कारबाहीमा परेका छन् । भारतको विहार बरौनी रिफाइनरीबाट नेपाल आयल निगमको पूर्वाञ्चल डिपो विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा बाटोमा पेट्रोलियम पदार्थ चोरी गर्ने ५० प्रतिशत टयांकर चालकलाई निगमले कारबाही गरेको हो ।  एक महिनामा टयांकर चालकमाथि गरिएको विशेष निगरानी एवं जाँचको आधारमा एक सयवटा आयात भएका टयांकरको पेट्रोलियम पदार्थ जाँच गर्दा ५० वटा टयांकर चालकले  अनियमितता गरेको पाइएकाले जरिवाना गरेको निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख जगन्नाथ घिमिरेले बताए ।
पम्प व्यवसायी, टयांकर ढुवानी व्यवसायी तथा निगमका कर्मचारीको गुनासोको आधारमा जाँच गर्दा चालकले अनियमितता गरेको पाइएपछि उनीहरूले पाउने सुविधाबाट कटौती गरी क्षतिपूर्तिको व्यवस्था गरिएको छ । कारबाहीमा परेका ती सबै भारतीय टयांकरका चालक हुन् । एक महिनाअगाडि सो कार्यालयमा सरूवा भएका क्षेत्रीय प्रमुख घिमिरेले विभिन्न सुधारका कार्यक्रमअन्तर्गत चालकमाथि कारबाही, लामो समयदेखि बिग्रेको धर्मकाँटाको मर्मत तथा पेट्रोलियम पदार्थका जाँच एवं सहज बिक्री वितरण कार्यअगाडि बढाएको बताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/६९ को तुलनामा ०६९/७० मा पेट्रोलियम पदार्थको बिक्री वितरण अत्यधिक भएको छ । आर्थिक वर्ष ०६९/७० मा पेट्रोल दुई करोड ६६ लाख ८४ हजार लिटर,  डिजल नौ करोड ७० लाख लिटर, मट्टितेल ३२ लाख २६ हजार लिटर,  ग्यास  दुई करोड ८१ लाख केजी, फर्नेस आयल २३ लाख ६२ हजार लिटर तथा लाइट डिजल २५ लाख ८१ हजार लिटर बिक्री भएको छ । अघिल्लो आव ०६८/६९ मा पेट्रोल दुई करोड १९ लाख ६८ हजार, डिजल आठ करोड ५० लाख  ५४ हजार, मट्टितेल ५० लाख ९३ हजार, एलपिजी ग्यास दुई करोड १४ लाख ७४ हजार केजी, फर्नेस आयल सात लाख लिटर तथा लाइट डिजल १२ लाख बिक्री वितरण गरेको थियो ।
पूर्वाञ्चल डिपोका लागि भारतको बरौनी, हल्दिया, सिलिगुडी र बोगाइगाउँबाट पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।

प्रतिक्रिया