बदर मत घटाउन मतदाता शिक्षा

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले मतदानमा बदर मत कम गर्नका लागि मतदाता शिक्षा लागू गर्ने भएको छ । मतदातालाई सुशीक्षित गराउन  आयोगले मतदाता शिक्षा लागू गर्ने भएको हो । आयोगले ४ असोजसम्म सञ्चालन गर्नेछ ।  कार्यक्रममा  करिब ५० हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।
आयोगले मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण र निर्वाचन शिक्षा कार्यकर्ता  परिचालन गरी मतदाताको घरदैलोसम्म पुग्ने गरी मतदाता शिक्षा कार्यक्रम लागू गर्न थालेको छ ।
आयोगले  निर्वाचन शिक्षा तथा सूचनाको विस्तार, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार भन्ने नारासहित आयोगले मतदाता शिक्षा लागू गर्न थालेको हो ।  चुनावमा बढीभन्दा बढी मत सदर गराउन  र  मतदाताको सहभागिता बढाउन  आयोगले मतदाता शिक्षा कार्यक्रम लागू गर्न थालिएको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी गराए । मतदाता शिक्षालाई मतदाताको घरघरमा पुर्‍याउन जिल्ला निर्वाचन कार्यालय काठमाडौंले बुधबारबाट नै   मतदाता शिक्षा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ  ।
अघिल्लो संविधानसभा निर्वाचनमा एक करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता रहेकोमा एक करोड आठ लाख ६६ हजार १ सय ३१ मत खसेको थियो । त्यसमा पाँच लाख ६० हजार ११ मत बदर भएको थियो । जसमा बदर मतको प्रतिशत ५.१५ थियो ।
आयोगले विद्युतीय छापा माध्यम तथा पर्चा, पोस्टर, ब्रोसर, सडक नाटक, सांस्कृतिक कार्यक्रम गरी  मतदाता शिक्षा सञ्चालन गर्नेछ ।
कार्यक्रममा प्रशिक्षक र स्वयंसेवकले  एक करोड २५ लाख मतदातालाई  घरघरमा पुगी मतदानबारे प्रशिक्षण दिनेछन् । मतदाता शिक्षासँगै उनीहरूले  मतदाता परिचय पत्र पनि दिनेछन् ।
आयोगले प्रत्येक नगरपालिका र गाविसका वडामा एकएक जनाका दरले निर्वाचन शिक्षा कार्यकर्ता र प्रत्येक मतदानस्थलमा एकएक जनाको दरले मतदाता शिक्षा स्वयंसेवक खटाउनेछ ।
आगामी निर्वाचनका लागि एक करोड २४ लाख ७७ हजार २ सय ८१ मतदाता रहेका छन् ।  ९ सय मतदाता बराबर एक मतदान केन्द्र आयोगले तोकेको छ । देशभर १० हजार मतदानस्थल र करिब १८ हजार मतदान केन्द्र रहनेछन् ।  यसपटक मतदातालाई निमन्त्रणा पत्र दिइनेछैन ।
आयोगका प्रवक्ता उप्रेतीले  मतदाता शिक्षा कार्यक्रमबाट मतदाताको सहभागिता बढ्ने, निर्वाचन प्रक्रिया व्यवस्थित हुने, बदर मत कम हुने, सही प्रतिनिधि छनोट हुने बताए । आयोगले यसपटक निमन्त्रणा पत्र नबाडी शिक्षा कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया