निर्वाचनमा विश्वास गरौं

संविधानसभाको निर्वाचन हुने निश्चित हुँदै गएको छ । दलहरू उम्मेद्वार छनोट र घोषणापत्र लेखनमा व्यास्त रहेको पाइन्छ । नेकपा–माओवादी आबद्ध मोर्चाबाहेक प्राय: सबै दल चुनावको पक्षमा रहेकाले चुनाव हुँदैन कि भन्ने शंका निवारण हुँदै गएको अवस्था छ । निर्वाचनको विपक्षमा रहेका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी चुनावमा आउने भएपछि चुनावको विपक्षमा रहेको समूह अब निकै कमजोर हुँदै गएको छ । नेपाली जनता चुनावको पक्षमा रहेकाले निर्वाचनको विरोध गरिरहेका दलहरूले पनि गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । उनीहरूले निर्वाचनमा भाग नलिने हो भने जनताबाट टाढिने स्थिति रहेकाले अन्तत्वोगत्वा निर्वाचनमा भाग लिन्छन् भन्न सकिन्छ । जनचाहना र अपेक्षाविपरीत चल्न खोज्ने जोसुकैको पनि अवस्था नाजुक हुने भएकाले वहिष्कार वादीहरूले पनि चुनावमा भाग लिनै पर्छ । मुलुकको राजनीतिक संकट र संवैधानिक अन्योलता हटाउन एक मात्र विकल्प निर्वाचन नै रहेको अवस्थामा त्यसकै विरोध गर्नु कुनै तुक छैन । तसर्थ, निर्वाचनको वहिष्कारमा रहेका दलहरूले वार्ताको माध्यमबाट निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्नु पर्छ ।
निर्वाचन आयोगले चुनावका लागि भनेर प्राविधिक कामहरू पुरा गर्दै आएको छ । उसले निर्वाचन गराउन आफू तयार रहेको जनाउ दिइसकेको छ । यता चुनावी सरकारले पनि मंसिर ४ गते निर्वाचन सम्पन्न गरेर सत्ता सुम्पने बताउँदै आएको छ । प्रायजसो दलहरू निर्वाचनको माहोल तयार गर्न गाउँ–गाउँ पुग्न थालेका छन् । निर्वाचन हुँदैन कि भन्ने अवस्था कतै देखिदैन । यिनै कारणहरूले गर्दा संविधानसभाको दोस्रो निर्वाचन मंसिर ४ गते नै हुन्छ भन्ने पक्का भएको हो । यो अवस्थामा निर्वानको विपक्षमा उभिने निर्णय आफैँमा आत्माघाती हुन सक्छ । र पक्षमा रहेका र विपक्षमा रहेका बीचको दूरी बढाउँदै लान्छ । यी सबै विषयमाथि गम्भीरतापूर्वक सोचेर निर्वाचन प्रक्रियामा समावेश हुने निर्णय विपक्षमा रहेकाहरूले पनि गर्न सक्नुपर्छ ।
वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन । अहिले पनि विगत दोहोरिन्छ भनेर निर्वाचन नै नगराउनु राष्ट्र र जनता प्रति अन्याय हुने छ । विगतले सबैलाई पाठ सिकाएको छ । त्यसले दिएको शिक्षालाई आत्मासात गर्दे अगाडि बढ्ने दलहरूले प्रतिबद्धता जनाएका छन् । यस अवस्थामा अनविश्वास गर्न मिल्दैन । गत संविधानसभामा विमति देखिएका राज्य पनुर्संरचना र राज्यको साशकीय स्वरूपका बारेमा अबको संविधानसभा अल्झिने छैन भन्न सकिने थुप्रै आधार निर्माण भएका छन् । अहिले जातीयता र क्षेत्रीयताका मुद्दा उचाल्नेले त्यो नेपालका हितमा रहनेछ भन्ने बुझ्न थालेका छन् । पहिला जस्तो नबुझी बोल्ने र ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने घमण्ड सबैमा देखिन छाडेको छ । यसले के स्पष्ट गर्छ भने अब विगतको पुनरावृत्ति हुनेछैन । अब बन्ने सभाले समयमै संविधान बनाएर जनतालाई दिनेछ भनेर विश्वास गर्न सकिन्छ । तसर्थ, भयमुक्त, धाँधली रहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबै वर्ग, क्षेत्र र सम्पूर्ण समुदाय लाग्नु पर्छ । यसले नै राजनीतिक संकट र संवैधानिक अन्योलताबाट नेपाललाई मुक्त गराउने छ । सबैले मनन गर्नु पर्छ यो निर्वाचन भाँडियो भने राष्ट्र र जनताले ठूलो कष्ट बेहोर्नुपर्ने छ । नेपालको राष्ट्रियता नै संकटमा पर्ने छ । राजनीतिक अन्योलको अवस्था लम्बिएमा विभिन्न खाले कुतत्वले टाउको उठाउने मौका पाउनेछन् । प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहन्छ । यसतर्फ सबै चनाखो रहँदै चुनाव सम्पन्न गर्ने दिशामा अग्रसर हुनै पर्छ ।

प्रतिक्रिया