बाढीपहिरोले कैलालीमा ४० करोडको क्षति

kailaliधनगढी, १० भदौ । कैलाली जिल्लामा यस वर्ष बाढीपहिरोले हालसम्म ४० करोड बढिको क्षति भएको छ । बाढीपहिरोबाट साउन पहिलो सातायता सो क्षति भएको हो ।
जिल्ला दैबीप्रकोप उद्धार समितिका अनुसार बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा गरी ४० करोड १० लाख ५२ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
नदी कटानले बालीनाली, वन क्षेत्रमा गरी १८ करोड, सडकमा १ करोड ९० लाख, कल्भर्टमा ५ करोड ५५ लाख, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनमा १ करोड ९३ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयलका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।
खानेपानी र सिंचाई क्षेत्रमा ५ करोड ६२ लाख र पहिरोले ३७ लाख बराबरको क्षति भएको छ । पुलहरु भत्किँदा र बगाउँदा ६ करोड ७७ लाख रुपियाँ बराबरको क्षति भएको घिमिरेले बताए ।
‘क्षतिग्रस्त पूर्वाधार मर्मतसम्भार गर्न तत्काल ९ करोड बढिको आवश्यकता छ,’ घिमिरेले भने, ‘सबै संरचना बनाउन ४० करोड आवश्यक छ ।’
बाढीपहिरोबाट शहरमा भन्दा ग्रामिण भेगमा बढि क्षति भएको छ । जिल्लाभरिमा ३ हजार घरपरिवार प्रभावित भएका छन् ।
३ सय २२ घरपरिवारलाई पहिलो चरण अन्तर्गत प्रति परिवार ५ किलो चामल, दाल, नुन, तेल वितरण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताए ।
दुई सय घरपरिवारलाई १५ लाख १५ हजार नगद रकम उपलब्ध गराईएको छ । बाढीपहिरोले कैलालीमा ४ सय ५४ घरमा पूर्ण क्षति, ३ हजार १ सय ६९ घरमा आंशिक क्षति पुगेको लेखकले बताए ।
जिल्लाको २ सय ३२ वटा भौतिक संरचनामा क्षति पुगेको उद्धार समितिको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया