बर्डफ्लुबाट दुई जनाको मृत्यू भएको आशंका

Birdfluचितवन, ९ भदौ । चितवनमा बर्डफ्लु संक्रमणको उपचारका क्रममा दुई विरामीको मुत्यू भएपछि रगतको नमूना परीक्षणका लागि पठाईएको छ ।
कलेज अफ मेडिकल साईन्सेज् शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा रहेका विरामीहरुको मुत्यू बर्डफ्लु रोगबाट भएको हुन सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनाए । उनीहरुको नाम खुलाईएको छैन ।
‘दुई जना विरामीको उपचारका क्रममा मृत्यू भएको छ,’ उनले भने, ‘मृत्यूको स्पष्ट कारण खुल्न सकेको छैन । परीक्षण पछि मात्रै आधिकारिक जानकारी आउँने छ ।’
मृत्यू भएका विरामीहरुमा बर्डफ्लुसँग मिल्ने केही लक्ष्मण समान दखिएकाले सोही कारण मृत्यू भएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।
मकवानपुर र नवलपरासीबाट दुई विरामी उपचारका लागि चितवन आएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यू भएको अस्पताल स्रोतले जनाएको छ । बर्डफ्लु विरुद्धको ‘टेमीफ्लु’ नाम गरेको औषधि विरामीलाई दिईएको स्रोतको भनाई छ ।
उता, नवलपरासी जिल्ला घर भएकी अर्की एक महिलाको पनि उपचार भईरहेको छ । उनलाई पनि बर्डफ्लु रोगका जीवाणु सरेको हुन सक्ने आशंका गरिएको छ । विरामी महिलाको आईसियूमा राखेर उपार भई रहेको छ ।
अस्पतालहरुमा बर्डफ्लुबाट संक्रमित व्यक्तिहरु उपचारका लागि धमाधम आउन थाले पछि औषधि व्यवसायी र अस्पतालले विरामीको नाम लुकाएर उपचार शुरु गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनलाई अस्पतालले पत्र लेखी बर्डफ्लुको संक्रमण भएका शंकास्पद विरामी फेला परेको जानकारी गराई सकेको छ । रगतको नमूना परीक्षण गरेर उपचार अगाडि बढाउन पनि अस्पतालले माग गरेको छ ।
गत शुक्रबार अस्पतालका सुपरिटेन्डेन डा.एन.एस. रेड्डीले अस्पतालमा बर्डफ्लु सम्बन्धि रोगका शंकास्पद विरामी आएको जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएर जानकारी पनि गराएका थिए । सो पत्र आएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसी स्वीकारे । उनले मृत्यू भएकाहरुका बारेमा रगतको नमूना परीक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने जनाए ।
बुधबार मात्रै कार्यालयले एकसय क्याप्सुल टेमीफ्लु औषधि वितरण गरेको छ ।
बर्डफ्लु रोगको परीक्षण गर्ने प्रावधान चितवनमा छैन । रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएको जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदारले जानकारी दिए । उनले रिपोर्ट आउन एकहप्ता लाग्ने बताए । (फाईल तस्विर)

प्रतिक्रिया