धनगढी, ९ भदौं । सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी शुरु भएको छ । नेपाल खाद्य संस्थानले खाद्य संकट हुन नदिन समयमै ढुवानी गरेको हो ।
सुदूरपश्चिम क्षेत्रका सबै पहाडी जिल्लाहरु र मध्यपश्चिमका हुम्ला र सुर्खेतमा खाद्यान्न आपूर्तिका लागि ढुवानी गर्ने कार्य गरेको धनगढीस्थित खाद्य संस्थान सेतीको अञ्चल कार्यालयले जानकारी दिएको छ ।
समयमै टेण्डर भई खाद्यान्न ढुवानीका लागि सम्झौता भएपश्चात खाद्यान्न ढुवानी कार्य शुरु भइसकेकाले यस वर्ष खाद्य संकट नहुने प्रमुख सुरेन्द्र विष्टले बताए ।
बाजुराको कोल्टी र दार्चुलाको सुनसेरा डिपो बाहेकका अन्य खाद्य डिपोहरुमा खाद्यान्न ढुवानी शुरु भइसकेको विष्टले जानकारी दिए ।
संस्थानले यस वर्ष बाजुरा कोल्टी डिपोमा ५ हजार ८ सय, मार्तडीमा ७ हजार, बझाङको विसौनामा २ हजार, चैनपुर एक हजार पाँच सय, मंगलसेन अछाम ३ हजार क्विण्टल चामल ढुवानी हुने जनाइएको छ ।
बैतडी मेलौली डिपोमा एक हजार, पुर्चौडी डिपोमा २ हजार ५ सय, दार्चुला सुनसेरा डिपोमा १ हजार ५ सय, पारीवगर १ हजार ५ सय, खण्डेस्वरीमा १ हजार ५ सय, हुम्ला श्रीनगरमा पाँच सय र सुर्खेतमा ५ हजार क्वीण्टल कोटा चामल ढुवानी गरिने कार्यालय प्रमुख विष्टले बताए ।
‘बाजुराको कोल्टी र दार्चुलाको सुनसेरा डिपोमा खाद्य संकट देखिएको छ,’ विष्टले भने, ‘कोल्टी र सुनसेरा डिपोमा खाद्यान्न ढुवानीका लागि बाटो अवरुद्ध भएकाले चामल ढुवानी गर्न नसकिएको हो ।’
कोल्टी डिपोमा खाद्यान्न ढुवानीका लागि एक/दुई दिनभित्रै सम्झौता गरिने उनले बताए ।
भदौंको अन्तिम सातासम्म उत्तरी दार्चुलामा चामल पठाउन नसकिए त्यहाँ पनि भोकमरी हुने विष्टको भनाइ छ । यस वर्ष समयमै टेण्डर भई ढुवानी गर्ने कार्य शुरु भइसकेकाले दशैं–तिहारमा खाद्य संकट नहुने विष्टको दाबी छ ।
‘यस वर्ष खाद्य संस्थान अञ्चल कार्यालयले सुदूर तथा मध्यपश्चिमका लागि ३२ हजार ८ सय क्विण्टल चामलको कोटा छुट्याएको छ,’ उनले भने । गत वर्ष ३१ हजार ७ सय २९ क्विण्टल चामलको कोटा ढुवानीका लागि छुट्याइएको थियो ।
गत आर्थिक वर्षमा छुट्याइएको कोटामध्ये हुम्लाको श्रीनगरमा ४ सय क्विण्टल चामल ढुवानी हुन सकेको थिएन । कोल्टीमा १ सय ८५ क्विण्टल ढुवानी हुन सकेको थिएन् ।
प्रतिक्रिया