वार्ता ३३ दलीय मोर्चाको रणनैतिक चाल मात्रै

Agni-Sapkotaकाठमाडौं, ८ भदौं । एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उच्च स्तरीय राजनीतिक समितिसँगको वार्ता नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको रणनैतिक चालबाजी मात्रै रहेको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले मोहन बैद्य नेतृत्वको माओवादी निर्वाचनमा सहभागी नहुने बताए । उनले भने, ‘वार्तालाई मोहन बैद्य माओवादीले रणनैतिक रुपमा प्रयोग गरिएको चालबाजी मात्रै हो ।’
‘बैद्यजीहरुको विस्तृत शान्ति सम्झौता र १२ बुँदे समझदारी बिपरित कुरा आयो,’ उनले भने, ‘मंसिरको चुनाव नेपाली जनताका लागि संजीवनी हो ।’
उनले चुनावलाई सार्ने माग कसैलाई पनि मान्य नहुने बताए ।
नेकपा–माओवादीले संविधान सभाको चुनाव नचाहेको प्रवक्ता सापकोटाले दोहर्‍याए । चुनाव बहिस्कार गर्ने अधिकार भएपनि चुनाव बिथोल्ने शक्ति नेकपा–माओवादीसँग नरहेको उनले दाबी गरे ।
‘जनताले चुनाव चाहेको बेला बैद्यजीहरुको चुनाव बिथोल्ने हैसियत पनि रहँदैन,’ उनले भने, ‘राजनीतिक पार्टी भनेको जनताको भावनालाई सम्मान गर्ने निकाय भएकाले राजनीतिक दलले जनता बिरोधी गतिबिधि गर्न मिल्दैन ।’

प्रतिक्रिया