‘बुढीनन्दा माई’मा ‘दलित प्रहरी’लाई अपमान

Nalanda Talबाजुरा, ८ भदौं । बाजुरा जिल्लास्थित ‘बुढीनन्दा माई’मा मन्दिर प्रवेशको विषयलाई लिएर प्रहरी जवान जनक विकलाई आधाबाटो बाटै फिर्ता पठाईको विषयमा विभिन्न राजनीतिक दल र अधिकारकर्मीले विरोध जनाएका छन् ।
जिल्लास्थित प्रहरीकै उच्चअधिकारीले विकलाई मन्दिर प्रवेशको विषयलाई लिएर बिच बाटोबाट फिर्ता बोलाएको विषयमा दोषीलाई कारबाहीको माग गरेका छन् । बुढीनन्दा मेलामा आउने सर्वसाधारणको सुरक्षार्थ जवान विकपनि खटिएका थिए ।
‘प्रहरी जवान जनक विकलाई गरिएको व्यवहारबाट दलितहरुको अपमान भएको छ,’ अधिकारकर्मीहरुले भनेका छन्, ‘दलित माथि भएको अपमानको कडा विरोध गर्छौं ।’
मन्दिरका पुजारी श्रीलाल बोहोरालगायतका कथित ‘उपल्लो’ जातिका व्यक्तिले दलितहरु मन्दिर जानमनाही रहेको भन्दै प्रहरी जवान विकलाई बाटोबाटै फिर्ता गर्न प्रहरीका स्थानीय अधिकारीलाई दवाव दिएका थिए । दवाव पछि जवान विकलाई उनका ईन्चार्जले बाटोबाटै फिर्ता गरेका हुन् ।
जनैपूर्णिमाको अघिल्लो दिन चतुदर्शीमा लाग्ने मेलाको सुरक्षाका लागि जाँदै गरेका विकलाई दलितहरु ‘बुढीनन्दा माई’को मन्दिर जान बन्देज रहेको भन्दै फिर्ता पठाईएको हो ।
कोल्टीस्थित विमानस्थल सुरक्षा गार्डमा कार्यरत बाँधु–९, पीपल डाली स्थायी घर हो । उनी मेला सुरक्षाका लागि प्रहरी पोशाकमै खटिएका थिए । मन्दिर पुग्न चार घण्टा तलै बाटो बाट प्रहरी जवान विकलाई फिर्ता गराइएको थियो ।
मध्य तथा सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहरका रुपमा परिचित ‘बुढीनन्दा माई’को दर्शन गर्दा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।
मन्दिर, स्थानीयको सुरक्षाका लागि खटिएका प्रहरी जवानलाई आफ्नै ईन्चार्ज र पुजारीलगायतका व्यक्तिबाट भएको अपमान विरुद्ध शुक्रबार कोल्टीमा दलित अधिकारकर्मीले विरोध जुलुस निकालेका छन् । उनीहरुले स्थानीय प्रशासन र सुरक्षा अधिकारी पनि सो घटनामा दोषी रहेको भन्दै कारबाहीको माग गरेर उजुरी दिएको अधिकारकर्मीहरुले बताए ।
‘दलित माथि ठूलो अन्याय भएको छ,’ अधिकारकर्मी सतल विकले भने, ‘स्थानीय सुरक्षा अधिकारी घटनामा दोषी देखिएका छन् ।’
प्रमुख जिल्ला अधिकारीले पनि ‘बुढीनन्दा माई’को मन्दिर र मेलाको विषयलाई लिएर प्रहरी जवान विक माथि भएको व्यवहारबाट आफू अत्यन्तै चिन्तित रहेको बताएका छन् ।
घटनाको विरोधमा एमाओवादीका जिल्ला संयोजक केशब विक, नेकपा–माओवादीका जिल्ला सचिव भूपेन्द्र विक, एमालेका काशी विकलगायतले संयुक्त विज्ञप्ति जारी गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया