‘यार्सागुम्बा’ले उचित मूल्य पाउन सकेन

Yarsha-Gumbaधनगढी, ८ भदौं । सुदूरपश्चिमका हिमाली जिल्ला बझाङ र दार्चुलामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाले उचित मूल्य पाउँन नसके पछि स्थानीय संकलनकर्ता चिन्तित भएका छन् ।
उचित मूल्य नपाउँदा यार्सा संकलनकर्ताकै घरमा थन्किन पुगेका छन् । संकलन गरेर ल्याईएको डेढ महिना बितिसक्दापनि खरिद–बिक्रीको दररेट नमिल्दा संकलनकर्ताहरु घरमै यार्सा थन्क्याउन बाध्य हुनु परेको हो ।
खरिदकर्ताहरुले गत वर्षको भन्दा प्रतिकिलो ३ देखि ४ लाखसम्म कम मूल्य दिने प्रस्ताव गरेको बझाङ सुर्मा गाविसका चक्र बोहराले बताए ।
यार्सा गत वर्ष प्रतिकिलो १६ देखि २० लाखसम्म खरिद–बिक्री भएको थियो । गत वर्ष साउनको पहिलो साता नै यार्सा खरिद–बिक्री भएको थियो ।
असारको दोस्रो साता नै उच्चहिमाली भेगबाट फर्केका यार्सा संकलकहरु उचित मूल्यको पर्खाइमा रहेको बझाङका ठेकेदार शेरबहादुर बोहराले बताए । उनले भने, ‘संकलक र खरिदका लागि काठमाडौं लगायतका ठाउँबाट आएका ब्यापारीहरुबीच प्रतिकिलो ४ लाखसम्म फरक परेपछि यार्साको कारोबार ठप्प भएको छ ।’
यार्सागुम्बा खरिदकर्ताहरु असार पहिलो सातादेखि नै बझाङको चैनपुर र दार्चुलाको खलंगामा दरेरट मिलाउन लागिरहेका छन् । यार्सागुम्बा निकासीपैठारी हुने चीनमा नै भाउ घटेपछि आफूले गत वर्षको पनि मूल्य दिनसक्ने अवस्था रहेको यार्सा खरिदकर्ता प्रमोद तामाङले बताए ।
‘ज्यानको प्रबाह नगरी यार्सा संकलन गरेका छौं,’ संकलक बोहराले भने, ‘कम्तीमा पनि गत वर्षको रेट भन्दा कममा बेच्दैनौं । बरु घरमा यार्सा सडेर जाओस् ।’
लामो समयसम्म घरमै यार्सा थन्किए ढुसी लाग्ने तथा कुहिने सम्भावना रहेको बझाङका निमित्त जिल्ला वन अधिकृत कर्णबहादुर खातीले बताए । खातीले वन कार्यालयमा हालसम्म ‘छोडपूर्जी’का लागि कोही नआएको बताए ।
गत वर्ष यार्साबाट २ क्विन्टल बराबरको राजस्व संकलन भएको थियो । प्रतिकिलोको यार्सागुम्बाको १० हजार राजस्व तिर्नुपर्ने प्रावधान छ ।
हिमाली भेगमा बसोबास गर्ने समुदायको प्रमुख आम्दानीको स्रोत यार्सा हो । उनीहरुले बैशाखको दोस्रो सातादेखि जेठ अन्तिमसम्म यार्सा संकलन गरी वर्षभरिको जोहो गर्ने गरेको दार्चुलाका पत्रकार मनोज बडुले बताए ।
सोचेंअनुसारको दररेटमा बिक्री नभएपछि यार्सा संकलकलाई दैनिक जीवन निर्बाह गर्न समस्या भएको पत्रकार बडुले बताए ।
बझाङको साइपाल हिमाल र सुर्मासरोवर तथा दार्चुलाको ब्यास क्षेत्रमा यार्सा पाईन्छन् । यि क्षेत्रमा वर्षेनी छ क्विन्टलसम्म यार्सा संकलन हुनेगरेको जिल्ला वन कार्यालयको तथ्याङक छ ।

प्रतिक्रिया