खनालले रुख चढाएर फेद काट्ने काम गरे

prachandaजनकपुर, ४ भदौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी सहमतिमा नआए पनि चुनाव नरोकिने दोर्‍याएका छन् ।
जनकपुरमा आज (मंगलबार) आयोजित कार्यक्रममा दाहालले नेकपा–माओवादीसँग चुनाव रोक्ने तागत नरहेको दाबी गरे । ‘वैद्य समूहसँग निर्वाचन रोक्ने तागत छैन,’ उनले भने । बैद्य समूहले निर्वाचन बहिष्कार गरे २०४६ सालमा मसालले बहिष्कार गरे जस्तै हुने उनले बताए ।
अध्यक्ष दाहालको सो अभिव्यक्तिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा चिडिने छ ।
सबैलाई सहमतिमा ल्याएर निर्वाचन गराउन आफूहरु तयार रहेको अध्यक्ष दाहालको भनाई थियो । ‘मोहन वैद्य समूह सहमतिमा नआए पनि निर्वाचन रोकिँदैन,’ उनले भने ।
एमालेसँग रुष्ट देखिएका एमाओवादी अध्यक्ष दाहालले प्रधानसेनापति प्रकरणमा एमालेले घात गरेको गुनासो गरे । ‘प्रधानसेनापति प्रकरणमा एमालेले घात गरेको छ,’ उनले भने, ‘अध्यक्ष झलनाथ खनालले रुख चढाएर फेद काट्ने काम गरे ।’
अध्यक्ष दाहालले नागरिक सर्वोच्चता कायम गर्नकै लागि प्रधानसेनापतिलाई हटाउन कदम आफूले चालेको दाबी गरे ।
कांग्रेस र एमालेले गत संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्न नसकेको दाहालको आरोप छ । उनले कांग्रेस र एमालेकै कारण संविधान बनाउने काम आफूहरुले गर्न नसकेको बताए ।

प्रतिक्रिया