एकहप्तामा चारलाख मूल्यका समान बरामद

भैरहवा, १९ साउन । आसन्न संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा सुरक्षा निकायले सक्रियता बढाएको छ ।
यसै हप्ता आएका प्रहरी प्रमुख एसपी बिक्रमसिंह थापाले प्रहरीमा शुद्धिकरणको अभियान शुरुवात गरेसंगैं लामो समयपछि प्रहरीको सक्रियता बढेको हो ।
प्रहरीको सक्रियतासंगै सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रीने अबैध सामग्रीमा पनि नियन्त्रण भएको छ । गएको आइतबार प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थापाले जिल्लामा एकै हप्तामा नयांपन दिएको स्थानीयको भनाई छ ।
यस क्षेत्रको प्रमुख समस्या तस्करी र लागूऔषध सेवन एवं कारोबार रोक्न उनले योजना नै अगाडि सारेका छन् ।
एसपी थापासंगै जिल्लामा अहिले सबै प्रहरी अधिकृतहरु लगभग नयां छन् । डिएसपी दीपक न्यौपानेले पनि त्यतिकै साथ दिइरहेको थापाको भनाई छ । नयां प्रहरी प्रमुखहरुले जिल्लमा नयांपन दिएसंगैं स्थानीयहरु खुसी देखिएका छन् । तर खुसी कहिले सम्म हो हेर्न बांकी छ ।
‘म सिनो खाने कुकुर होइन बाघको बच्चा डमरु हुँ’ भन्ने बडाकाजी अमरसिंह थापाको भनाइलाई आफ्नो कार्यकक्षाको बोर्डमा लेखाएका एसपी थापाले बडाकाजी थापा झै कानूनी राज्य र शान्तिसुरक्षा प्रत्याभूतिका लागि कसैसंग सम्झौता नगर्ने बताए ।
उनको यो घोषणाले लामो समयदेखि रुपन्देहीको सीमानालाई ट्रान्जिट बनाउंदै आएका तस्करहरु थर्कमान छन् ।
मुस्कान सहितको प्रहरी सेवालाई जारी राख्दै अपराध अनुसन्धान र अपराध नियन्त्रणमा क्रियाशील बनाउंदै आसन्न निर्वाचनलाई सबै क्षेत्रबाट चुस्तदुरुस्त राख्न प्रहरीलाई कडा निर्देशन पनि उनले दिए ।
एसपी थापाले रुपन्देही प्रहरीको कमाण्ड सम्हालेको एक हप्तामा नै जिल्लामा ४ लाख ७ सय १ रुपियां बराबरको भारतबाट चोरी पैठारी गरी लिएको अबैध लत्ता कपडा, रासायनिक मल र चिनी बरामद गरेको छ । यसका अतिरिक्त बासी सडेगलेको अस्वस्थ्य खसी, कुखुराको मासु अबैध कुखुराको चल्ला पनि बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया