दोस्रो रकमै नलगी तेस्रो किस्ता दाबी

saptariराजविराज, २६ असार । गाविस अनुदानको दोश्रो किस्ता नै नलगेका सप्तरीका १२ वटा गाविसले तेश्रो किस्ता रकम पाउन जिल्ला विकास समितिको कार्यालयमा माग गरेका छन् ।
अनुदान रकम निकासाको अन्तिम समयमा आएर गाविसले तेश्रो किस्ता समेत निकासीका लागि माग गरेका हुन् । जेठ मसान्तसम्म दोश्रो किस्ता माग नगर्ने अधिकांश गाविस समेत तेश्रो किस्ता माग्न आएको जिल्ला विकास समितिको योजना शाखाले जानकारी दिएको छ ।
शाखाका अनुसार १ सय १४ गाविस मध्ये मधवापुर र मौवाहाले प्रथम किस्ताको समेत रकम निकासा लिएका छैनन् ।
यसैगरी मल्हनियाँ, बेल्ही, मैनाकडेरी, जण्डौल, महदेवालगायतका गाविसले दोश्रो किस्ताको रकम निकासा नलिएको योजना शाखाका इन्दल चौधरीले जानकारी दिए । सोमबारसम्म १ सय १२ गाविसले तेश्रो किस्ताको रकम माग गरेको उनले वताए ।
तेश्रो किस्ता माग गरेका मध्ये अधिकांशको कागजात दुरुस्त नरहेकाले जाँचेर मात्र निकासा दिईने चौधरीको भनाई छ ।
कागजी रुपमा मात्रै विकास निर्माणको काम देखाउन आर्थिक वर्षको आन्तिममा समेत निकासा माग भएको राजनीतिक दलका प्रतिनिधीहरुले आरोप लगाएका छन् ।
हालसम्म सीतापुर, सकरपुर, भादरह, देउरी भरुवा, जगतपुर, मोहनपुर र रायपुर गरी सात गाविसलाई मात्र तेश्रो किस्ताको रकम निकासा दिईएको योजना अधिकृत सुरेश राउतले जानकारी दिए ।
अडिट रिपोर्ट र अघिल्लो किस्ताको कामको ८० प्रतिशत मूल्यांकन रिपोर्ट नभएका गाविसलाई तेश्रो किस्ताको रकम निकासा नदिईने उनले बताए ।

प्रतिक्रिया