पहिरोले ७ घरगोठ र ५५ पशु चौपाया बगायो

रोल्पा, १५ असार । दुई हप्तादेखिको अबिरल बर्षाका कारण आएको पहिरोले रोल्पाको जुँगारमा ७ घरगोठ, एउटा पानी घट्ट र ५५ पशुचौपाया बगाएको छ । पहिरोबाट करिब ४० लाख बराबरको क्षती भएको छ ।
आज (शनिवार) बिहान गएको पहिरोले जुँगार गाविस वडा नं. ८ काउलाबोट निवासी लोकबहादुर खड्काको दुईतले घर र गोठ, २ वटा भैंसी, ६ वटा गाई, २ वटा गोरु, २४ वटा बाख्रा, २ वटा भेडा, १५ वटा कुखुरा र धनसार बगाइदिएको छ । त्यसैगरी सोही ठाउँ निवासी लोकबहादुर वलीको तीनतले एउटा घर, १ वटा गोठ र २ वटा गाई बगाएको छ ।
पहिरोमा सोही ठाउँका छबिलाल पुनको १ वटा घर, १ वटा पानीघट्ट, घरमा भएको अन्नपात, बन्दोबस्तीका सामान, भाँडाकुँडा समेत बगेका छन् । त्यस्तै हरि खड्काको तीनतले घर, २ वटा बाख्रा, नगद २५ हजार रुपैयाँ र ७ रोपनी मकैबारी समेत पहिरोले बगाइदिएको छ । सरस्वती माध्यमिक विद्यालय काउलाबोटको शौचालय पनि पहिरोले बगाएको छ ।
पहिरो बिहानको समयमा गएको र सबै परिवारका सदस्यहरुलाई छिमेकीकहाँ राखेकाले मानवीय क्षति हुन नपाएको पहिरो पीडित हरि खड्काले बताए । पहिरोले घरसहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै बगाइदिएपछि आफूहरु छिमेकीकोमा आश्रय लिएर बसेको २१ लाख बराबरको धनसम्पत्ति बगाइदिएपछि घरबारबिहीन भएका लोकमान खड्काले दुःखेसो गरे ।

प्रतिक्रिया