एमालेलाई बहुमतमा पुर्‍याउँछौँ : ओली

काठमाडौं, १५ असार । नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टीलाई बहुमतमा पुर्‍याउने एकताबद्ध हुने बताएका छन् । पार्टीका पूर्वमहासचिव मदन भण्डारीको ६२औँ जन्म जयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले माओवादीलाई क्रान्तिकारी देख्ने भ्रम अहिले एमालेमा नरहेकाले एमाले एकताबद्ध भएको पनि बताए ।

‘एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ, तर एकता भनेको काले–काले मिलेर खाउँ भाले भने जस्तो होइन । देशलाई ठीक ढंगले अघि बढाउनका लागि हो,’ जननेता मदन भण्डारीको ६२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले भने, ‘एकता सही नीति, विधि र विचारमा आधारित हुन्छ, हामी त्यस्तो एकताका साथअघि बढ्न चाहान्छौँ ।’
उनले अहिले एमालेभित्र एमाओवादीलाई क्रान्तिकारी देख्ने भ्रम समाप्त भइसकेको र कुनै पनि पंक्ति उसको पछि नरहेकाले पार्टी एकताबद्ध रहेको दाबी गरे । केही दिनयता आगामी महाधिवेशनका विषयलाई लिएर शीर्ष नेताहरूबीच असमझदारी देखिएको समाचार आइरहेका बेला ओलीले त्यस्तो दाबी गरेका हुन् ।
उनले नेकपा–माओवादीलगायतका असन्तुष्ट साना दलले चार दलीय सिन्डिकेट खारेज गर्नुपर्ने माग राखेर अहिलेको अवस्थामा दलीय भूमिका झन् कमजोर तुुल्याउन खोजेको आरोप पनि लगाए । ‘कानुनका नजरमा सबै बराबर हुनु एउटा कुरा हो । तर, टुंडिखेलमा निर्वाचन आयोगमा दर्ता भएका एक सय ३९ वटै दलकै सभा आयोजना गरेर देश चल्छ ?,’ ओलीले भने, ‘राजनीतिक दल कति रहेछन् भन्ने कुरा त एक प्रतिशत थ्रेसहोल्ड राखौँभन्दा नै देखिएको छ ।’
ओलीले एमाओवादीलाई उसैको उग्रपन्थले समाप्त पार्ने ठोकुवा पनि गरे । रंगीविरंगी गलत सोचहरूले जबजमाथि आक्रमण गरे पनि कथित महान जनयुद्द आफैँ पतन भएको भन्दै एमाओवादीको उग्रपन्थ अन्तत : समाप्त भएरै छाड्ने बताए ।
विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सबै दल र समाजलाई एकजुट बनाउन पहिले एमाले एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीलाई एकताबद्ध बनाउने मूल्यमा खुट्टा नकमाउन पार्टी अध्यक्षको गम्भीर ध्यानाकर्षण पनि गराए । ‘एमालेले सबैलाई एकजुट बनाउने हो भने पहिले तलदेखि माथि, माथिदेखि तल एकजुट हुनुपर्छ, एमाले एकजुट हुँदा उठ्दा र बस्दा पनि मुलुक हल्लिन्छ भन्ने अध्यक्षको अभिव्यक्ति पढेको छु, नेम्बाङले भने, ‘नडराउनुस् अध्यक्षज्यू, बरू हल्लिए, हल्लियोस्, हामी थाम्छौँ । तर, पार्टी एकजुट बनाउनुस् ।’
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संविधानसभाका लागि सबैभन्दा बढी आफूहरूले नै रगत बगाएको जिकिर गर्दै निर्वाचनमा भाग लिने तर त्यस निम्ति २५ बुँदे बाधा अड्काऊ फुकाउ आदेश खारेज हुनुपर्ने दोहर्‍याए । उनले आफ्नो पार्टीले संविधानसभाको एजेन्डा छाडेर जंगल नजाने पनि स्पष्ट पारे । ‘संविधानसभाका लागि हामीले नै धेरै रगत बगाएका छौँ’ गजुरेलले भने, ‘हामी संविधानसभाको एजेन्डा छोडेर जंगल जाँदैनौँ ।’

राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले चार दलीय उच्चस्तरीय संयन्त्रलाई भूमिगत गिरोहको संज्ञा दिँदै निर्वाचनका लागि संयन्त्रको विघटन र मन्त्रिपरिषद् अध्यक्ष प्रधानन्यायाधीश पदमा नफर्किने सुनिश्चितता हुनुपर्ने बताए ।

प्रतिक्रिया