काबेली प्रसारण लाइन निर्माण सुरु

Kabeli-काठमाडौ, १३ असार । मेची अञ्चलका विभिन्न खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई केन्द्रीय ग्रिडसँग जोड्ने काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुरु गरिएको छ ।

गत कात्तिकदेखि प्रसारण लाइन निर्माणको कार्य सुरु गर्ने भए पनि वातावरण अध्ययन, वन स्वीकृतिलगायतमा भएको ढिलासुस्तीका कारण निर्माणमा ढिलाइ भएको हो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रसारण लाइनको निर्माण कार्य सुरु गरिएको आयोजना प्रमुख श्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, २०७२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रािखए पनि विभिन्न कारणले कम्तीम ६ महिना ढिलो हुने भएको छ । ‘झापाबाट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुरु गरिएको छ,’ उनले भने ।
आयोजनाअन्तर्गत दमक सबस्टेसन निर्माण, दमक–काबेली १३२ केभी प्रसारण लाइन निर्माण, इलाम, फिदिम र काबेली सबस्टेसन निर्माण तथा ग्रामीण विद्युतीकरण कार्य गरिने कार्यक्रम छ । प्रसारण मार्ग क्षेत्रमा पर्ने १ हजार ९ सय घरधुरी लाभान्वित हुने गरी गर्न लागेको ग्रामीण विद्युतीकरण कार्य पनि प्रसारण लाइन निर्माणसँगसँगै आयोजनाले अघि बढाएको छ ।
९० किलोमिटर लामो दमक–काबेली प्रसारण लाइन मार्गमा पर्ने रूखहरूको गणना गरिएको छ भने सुरु भएको छ । रूख गणनाअन्तर्गत झापा र इलाममा गणना गरिएको छ । झापा र इलाम जिल्लामा पर्ने वन क्षेत्रमा रुख काट्नका लागि वन मन्त्रालयले स्वीकृति दिएपनि तेह्रथुम र पाँचथर क्षेत्रका रुखहरू कटानका लागि अझै आयोजनाले स्वीकृति पाउन सकेको छैन ।
विश्व बैकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले अगाडी बढाएको उक्त आयोजनाको लागत दुई अर्ब ५८ करोड ४० लाख रहेको छ । प्रसारण लाइन निर्माण पुरा भएपछि मेची अञ्चलका काबेली, हेवा तथा माई खोलाहरूबाट उत्पादन हुने एक सय पचास मेगावाटभन्दा बढीका आयोजनाहरूको विद्युत् केन्द्रीय प्रसारण लाइनसँगै सिधै जोड्न सहयोग पुग्नेछ । अहिले ३७ मेगावाटतको काबेली ए, २५ मेगावाटको काबेली बी, १५ मेगावाटको माई खोला, २१ मेगावाटको हेवा खोलामा दुई जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।
२०६३ सालदेखि सुरु भएको आयोजना अघि बढाउने क्रममा वातावरण अध्ययन तथा स्थानीयबासीको विविध अवरोधको कारणले ढिलाई भएको थियो । २०७१ सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेपनि एक वर्ष ढिला सरकारी निकायबीच समन्वयको अभावमा आयोजनाको निर्माण मिति पछि धकेलिदै गएको हो । २०७३ सालभित्र आयोजनाको निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएपनि बन मन्त्रालयले पाँचथर र तेह्रथुम क्षेत्रको वनका रुख कटानका लागि एक वर्षभन्दा बढीदेखि वन मन्त्रालयले स्वीकृति नगरेर रोकी राखेकोले आयोजनलाई द्रुतगतिम अघि बढाउनका लागि समस्या परेको छ । ‘स्थानीयबासीबाट प्रसारण लाइन निर्माणका लागि आउने वाधा, अवरोधको त कुरै छोडौ, सरकारी निकाय वन मन्त्रालयले एक वर्षदेखि झुलाईराखेको छ, यसकारणले आयोजना अझै समस्या छन् ।’–प्राधिकरणका एक कर्मचारीले भने–‘प्रसारण लाइनको निर्माण सुस्त गतिमा भईरहेको बेला सरकारी निकायकै यसका लागि वाधक देखिएका छन् ।’ आयोजनाका अनुसार प्रसारण मार्ग झापा, इलाम, तेह्रथुम र पाँचथर जिल्लाका २५ गाविस भएर काबेली पुग्नेछ ।

प्रतिक्रिया