नया जातका धानको बिउ सिफारिस

नेपालगन्ज : मध्यपश्चिमाञ्चलका चार जिल्लामा यस वर्ष विभिन्न १० जातका नयाँ धानको बीउ सिफारिस गरिएको छ ।
यस क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लाको पानी कम जम्मा हुने खेतमा सुख्खा–१, २ र ३, धेरै पानी जम्ने खेतमा स्वर्ण सबवन–१, सादा सबवन–१ जातका धानको बीउ सिफारिस गरिएको छ भने मध्यम क्षेत्रमा तरहरा–१, अनमोल मन्सुली, वर्षे–२०१४, पृथ्वी–६ र डिवाई–६९ जातको धान उत्पादनका लागि उपयुक्त हुने कृषि वैज्ञानिकको ठहर छ ।
कृषि वैज्ञानिकका अनुसार मध्यपश्चिमका जिल्लामध्ये सबैभन्दा बढी धान उत्पादन हुने ती चार जिल्लामा नयाँ जातको धानको बीउ सिफारिस गरिएको हो । ती चार जिल्लामा यस वर्ष एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । ‘यस क्षेत्रको कुल १५ जिल्लामध्ये ती चार जिल्लाबाहेकका अन्य जिल्लाका केही क्षेत्रमा पनि सिफारिस गरिएका जातका धानको बीउबाट खेती गर्न सकिन्छ’–कृषि प्रसार अधिकृत सुरेशकुमार थापाको भनाइ छ ।
यस वर्ष अनुकूल समयमा पर्याप्त वर्षा भएपछि मध्यपश्चिमाञ्चल जिल्लाका कृषकहरू अहिले धानखेतीको तयारीमा जुटेको पाइन्छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार यस क्षेत्रका ८० प्रतिशतभन्दा बढी कृषकले धानको ब्याड तयार गरिसकेका छन् । सुख्खा र डुबान सहन सक्ने, रोगकीरा नलाग्ने तथा उत्पादन बढी हुने भनी सिफारिस गरिएका विभिन्न जातका धान रोप्न कृषि विज्ञहरूले सल्लाह दिएका छन् ।
गत वर्ष मध्यपश्चिम क्षेत्रको १५ जिल्लामा एक लाख ७८ हजार ८९१ हेक्टरमा धान खेती गरिएको थियो । यस क्षेत्रको धानखेती हुने जमिनमध्ये एक लाख नौ हजार ६६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने ६९ हजार ८२५ हेक्टरमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार, यस क्षेत्रमा उन्नत जातको राधा–४, राधा–७, बिन्देश्वरी, हर्दिनाथ, लोकतन्त्र, खुमल–४, खुमल–५, मकवानपुर–१, चन्दननाथ–१ जानकी तथा स्थानीय जातका जुम्लीमार्सी, गुडे, तिल्कीलगायत जातका धान अधिक उत्पादन हुने गर्छ । धानखेतीमा संलग्न कृषकका लागि सम्बन्धित जिल्लाको कृषि विकास कार्यालयले बीउ वृद्धि कार्यक्रमअन्तर्गत बीउबीजन र मूल्यमा अनुदान, तालिम, कृषि प्रदर्शनी र कृषक भ्रमण सेवा उपलब्ध गराउँदै आएको छ भने क्षेत्रीय कृषि निर्देशनालयले अनुगमनको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया