एक चीन नीतिप्रति प्रतिबद्धता

नेपाल र चीन परम्परादेखिका दुई अभिन्न छिमेकी हुन् । दुई देशबीच अतितकालदेखि नै सद्भाव र मैत्री सम्बन्ध रहँदै आएको छ । इतिहासको कुनै कालखण्डमा नेपाली राजकुमारी भृकुटीले तिब्बती राजकुमार स्रङचङ गम्पोसित वैवाहिक सम्बन्ध जोडेकी थिइन् भने नेपाली कलाकार अरनिकोले चीनमै पुगेर कलात्मक प्यागोडा शैली त्यो देशलाई उपहार दिएका थिए । प्रसिद्ध चिनियाँ यात्री फाही यानले नेपाल हुँदै भारतको यात्रा गरेर लेखेको विवरण अहिले पुरानो इतिहास जान्ने एक गहकिलो स्रोत बनेको छ । आधुनिक चीनले नेपाललाई जीवनका लगभग हरेक क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको छ । नेपालले सधैँ एक चीन नीतिप्रति समर्थन जनाउँदै आएको छ । भूगोलले हिमालवारि र पारि बनाएको भए पनि दुवै देश शान्तिपूर्ण सहअस्तित्वको नीतिमा टेकेर आ–आफ्नो राष्ट्रिय विकासका पथमा अगाडि बढिरहेका छन् । यसै क्रममा चीनको राज्य परिषद्का स्टेट काउन्सिलर याङ जेइ चीको नेपाल भ्रमणलाई एक कडीका रूपमा लिन सकिन्छ । नेपालले दोस्रो संविधानसभाको निर्वाचन गर्ने तयारी गरिरहेको समयमा याङको भ्रमणको महत्त्व अझ बढी छ ।
भ्रमण क्रममा याङले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित विभिन्न राजनीतिक दलका नेता एवं उच्चपदस्थ अधिकारीहरूसित भेटघाट गरेका छन् । आगामी मंसिर ४ गते हुने भनिएको संविधानसभा निर्वाचनप्रति उनले उत्सुक एवं गहन चासो देखाएका छन् । उनी उच्चस्तरीय प्रतिनिधि भएकाले चीन सरकारकै चासो नेपाली निर्वाचनमा गम्भीर रहेको संकेत पनि हो यो । चुनावी मन्त्रिपरिषद्का अध्यक्षसितको भेटमा याङले चीनले नेपालमा शान्ति कायम भई विकास भएको हेर्न चाहेको बताए । आगामी मंसिरमा चुनाव गराउने सरकारी निर्णयको चीन सरकारले स्वागत गरेको सन्देश पनि उनले दिए । नेपालको निर्वाचनमा चीन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । चुनावले राजनीतिक स्थिरताका निम्ति मार्ग प्रशस्त गर्छ भने जनताका चाहना र आकांक्षा पूरा गर्न राजनीतिक दलहरूलाई जिम्मेवारी प्रदान गराउँछ । अझ नेपालको विशेष परिस्थितिमा त अब हुने निर्वाचनबाट छानिएर आउने जनप्रतिनिधिले मुलुकको भाग्य कोर्ने नयाँ संविधान बनाउने गुरुतर दायित्व बहन गर्नुपर्नेछ । त्यसैले पनि चीन यो निर्वाचनप्रति उत्तिकै उत्सुक देखिएको छ । याङले दुवै देशको पारस्परिक विकासका लागि विस्तृत सहयोगको सहकार्य गर्नेतर्फ चीनको चाहना रहेको जिकिर पनि गरे । चीनको एउटा मुख्य चासो तिब्बती मामिला पनि हो । चीनले तिब्बतलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ तर पश्चिमा शक्तिहरूले तिब्बत मामिलालाई निकै आलोचनात्मक प्रचारमा ल्याउने गरेका छन् । चीनको सरकार र शासनपद्धतिप्रति असहमत अनेक तिब्बतीहरू नेपालको बाटो हुँदै भारत वा अन्यत्र भाग्ने गरेको तथ्यप्रति पनि चीनको चासो रहने गरेको छ । नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि सञ्चालन हुनसक्नेतर्फ पनि उसको चासो रहने गरेको छ ।
यस्तोमा नेपालले अन्य कुनै ठूलो सहयोग गर्न नसके पनि कम्तीमा ‘एक चीन नीति’ प्रति प्रतिबद्धता जनाउँदै आएको छ । ताइवान, जसलाई चीन आफ्नो ‘भगौडा राज्य’ मान्छ, नेपालबाट धेरै भौगोलिक दूरीमा रहेकाले तिब्बतजस्तो नेपाली भूमिका लागि संवेदनशील नहुन सक्छ । यस्तोमा नेपालले धेरै पहिलेदेखि नै एक चीन नीति स्वीकार गर्दै आएको छ । अहिले याङको भ्रमणको सन्दर्भमा फेरि एकपटक नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गरेको छ । यो चीनप्रति नेपालको नैतिक सहयोग पनि हो ।

प्रतिक्रिया