सिड्नीमा गुन्जिए प्रेमध्वजका आवाज

Preamdhoj-Pradhanसिड्नी : नेपालयले काठमाडौंको आर शालामा गर्दै आएको पलेँटी योपटक अस्ट्रेलियाको वेस्ली कन्फरेन्स सेन्टरमा भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रममा गायक प्रेमध्वज केन्द्रित भयो । दुई चरणमा प्रस्तुत कार्यक्रमको पहिलो चरणमा नेपाली आधुनिक संगीतको पचासवर्षे यात्राको सारांश झल्कने बिम्बात्मक प्रस्तुति भए ।
पलेँटीका संयोजक संगीतकार आभासले आधुनिक संगीतको यात्रा विवरण प्रस्तुत गर्दैगर्दा वृत्तान्तमा सुहाउने गरी पलेँटी प्रतिभा सुरज र मीनाले पुराना नेपाली गीत गुन्जाए । गीत सुन्न पाउँदा सिड्नीमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली रोमाञ्चित भए ।
कार्यक्रमको दोस्रो चरणमा नेपाली आधुनिक संगीतका प्रेमध्वजले हार्मोनियममा औँला चाल्दै आफ्नो पहिलो रेकर्ड ‘माया नमार मायालु’ बाट सुरु गरेर ‘गोरेटो त्यो गाउँको’ ‘पर लैजाऊ फूलहरू’ ‘तारा मात्र होइन, तिमीलाई’ जस्ता अति लोकप्रिय गीत सुनाए । कम र सानो स्वरले बोल्ने प्रेमध्वज सिड्नीको मञ्चमा भने निकै खुले ।
करिब २ घन्टासम्म चलेको प्रेमध्वजको गायनमा पलेँटी प्रतिभा मीनाले साथ दिएकी थिइन् । कार्यक्रममा प्रेमध्वजले आफ्ना १४ वटा लोकप्रिय गीत प्रस्तुत गरे । जसमा नेवारी भाषाको ‘राजामती’ पनि थियो । कार्यक्रम ‘वान्स मोर’का हुटिङ धेरै गुन्जिए । दर्शकका ‘वान्स मोर’ हुटिङ धेरै भएकाले ‘यो नानीको शीरैमा’ गीत प्रधानले दुईपटक गाए ।
‘प्रतिष्ठित र पुराना नेपाली कलाकारलाई अस्ट्रेलियामा निम्त्याएर स्तरीय कार्यक्रम प्रस्तुत गर्ने हाम्रो सपनाले साकार रूप लिएको छ । हामीले पाको कलाकारलाई सम्मान गर्ने मौका पायौँ । हामी अत्यन्त खुसी भएका छौँ ।’ कार्यक्रमका आयोजकमध्येका मुक्ति रोकाले भने । ‘मैले चालीस वर्ष पहिले राष्ट्रिय सभागृहमा उहाँलाई सुनेको थिए ।’
५ सय जनाको क्षमता भएको प्रेक्षालयमा पलेँटी सम्पन्न गर्न म्याग्दी सेवा समितिले नेपालयसित सहकार्य गरेको थियो । कार्यक्रममा प्रेमध्वज र उनकी धर्मपत्नीलाई सम्मान पनि गरियो । (सौस)

प्रतिक्रिया