चुरिफुरी धेरै समय टिक्दैन

anil_yogiराजनीतिक दलका जिम्मेवार नेताहरूका भाषण सुन्दा र उनीहरूका राजनीतिक आन्दोलनमा लगाइने नाराहरू अध्ययन गर्दा आफैँलाई एक प्रकारको लज्जाबोध हुन्छ । राष्ट्रिय राजनीतिमा लागेका दलका नेताहरू र समाजमा आफ्नो फरक पहिचान बनाएका बौद्धिक जगत्ले बोल्दा विचार पुर्‍याउने गरेका छैनन् । उनीहरूले बोलेका कतिपय कुराले राष्ट्र र जनताको जीवनमा प्रत्यक्ष रूपमा नकारात्मक असर गरिरहेको हुँन्छ । त्यो कुरा उनीहरूलाई हेक्का भएको पाइँदैन । त्यो विषयप्रति नेताहरू र बौद्धिक जगत्ले ख्याल गर्न सकेका छैनन् । कुनै पनि राजनीतिक दलका नेताहरू र बौद्धिक जगत्का विद्वान्हरूले आफूलाई समेत समाल्न सकिरहेका छ्रैनन् । दलका नेताहरूले जस्तै बौद्धिक जगत्ले पनि यो राष्ट्रको जीवन नै छैन, देशभित्र अरू मानिसहरूका विवेकले काम गरिरहेको छैन भन्ने ठानिरहेका छन् भने उनीहरूले आफ्नो धारणालाई सच्याउनुपर्छ ।
नयाँ शासन व्यवस्था र प्रणालीप्रति जनताको आस्था घटाउने काममा दलका नेताहरू मात्र सहभागी भएका छैनन्, सानो ठूलो बौद्धिक तप्का पनि रहरले वा बाध्यताले संलग्न भएको छ । महामहिम राष्ट्रपति रामवरण यादवलाई सबैजसो दलका नेताले आफू अनुकूल गोटीका रूपमा प्रयोग गर्ने कोसिस गरे । माधव नेपाल प्रधानमन्त्री हुँदा विपक्षी दलका नेताहरूले गर्वका साथ यो बाह्यशक्तिले उभ्याएको कठ्पुतली हो माधव नेपाल नेपाली नै होइन भने । सत्रपटकको चुनावी नौटंकीपछि झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले छिमेकीलाई ऐतिहासिक झापड हानेको र आफैँ बनाएको स्वाङ पार्ने काम त गरे तर झलनाथलाई चीनले बानाएको हो भन्दै हिँड्थे दलकै नेताहरू । बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँदा यिनी त दक्षिणका पक्का विश्वास पात्र हुन भनियो उनको काम गर्ने शैली पनि नेपाल राष्ट्र र जनतालाई भन्दा उताकालाई बढी हित हुने खालको थियो । केही राजनीतिक दलका नेताहरू देशभर अहिले खिलराज रेग्मीलाई बाह्यशक्तिको तागतमा त्यो ठाउँमा आएका हुन भनेर भाषण गरिरहेका छन्् । एउटा स्वतन्त्र राष्ट्रका लागि योभन्दा ठूलो बिडम्बना अरू केही हुन सक्दैन । राष्ट्रको आत्ममा चोट पुग्ने खालका यस्ता दुर्वाच्य शब्दहरू राजनीतिको नाममा दलका नेताहरू किन बोल्दैछन्् ? नेताहरू यसरी किन मात्तिएका हुन् ? यति छाडा बोल्ने मानिसले देशको राजनीति कसरी गर्न सक्छन्् ? नेपाली जनताले दलका नेताहरूको भाषा सुन्दैनन् अथवा बुझ्दैनन् ?
जनतालाई दलका नेताहरूले आफू सत्ता र शक्तिमा पुग्नका लागि मौका पर्दा प्रयोग गर्ने विवेकहीन औजार मात्र ठानेका हुन् भने यस्को मूल्य चुक्ता गर्न नेताहरूलाई कठिन हुनेछ । देशलाई बलियो कसरी बनाउने र जनतालाई शान्तिपूर्वक बाँच्ने वातावरण कसरी बनाइदिने भन्ने विषय कुनै पनि राजनीतिक दलका नेताको प्राथमिकताभित्र परेको छैन । राजनीतिको नाममा दलका नेताहरू देशको अस्मिता र जनताको जीवनलाई दाउमा राखेर मजाक गरिरहेका छन् । दलका नेताहरूले राजा र राजसंस्थालाई देशको उन्नति र प्रगतिको बाधक हो भनेका थिए । राजसंस्थालाई निलम्बन गर्दा र राजालाई राष्ट्रिय राजनीतिबाट अलग गर्दा जनताले कुनै प्रकारको असहमति जनाएनन् । आज को हो देश र जनताको प्रगतिको बाधक दलका नेताहरूले यो कुरा जनतालाई किन भन्दैनन् । राजनीतिक धरातल कमजोर भएको देशभित्रको राजालाई हटाउँदा आफूलाई बहादुर ठान्ने दलका नेताहरू देशको प्रगति र जनताको उन्नतिका निमित्त एक ठाउँमा आउन किन सक्दैनन् ? देशलाई समाल्नै नसकिने गरी रसातलमा पुगाउने तत्त्वको खोजी किन हुँदैन ? नेताहरू देशभक्त थिए भने देशको पुनर्निर्माण गर्न र जनतालाई स्वाधीन बनाउन उनीहरूलाई कसैले रोक्न सक्ने थिएन ।
सबै कुरा विदेशीका निर्देशनमा गर्ने हो भने राजनीतिक दलका नेताहरूलाई राष्ट्र र जनताले किन पाल्न पर्‍यो ? दलका नेताहरूले जनतालाई गर्व लाग्ने खालको राजनीतिक संस्कार देखाउन पर्दैन ? नेपाली जनताले अराजकता र अव्यवस्थालाई संस्थागत गर्नका लागि रगत बगाएका हुन् र ? लोकतन्त्र वा प्रजातन्त्रको बदनाम गर्ने काम दलका नेताहरू गर्वका साथ किन गर्दैछन् ? दलका नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध छन्् भने यि महत्वपुर्ण सवालको एक दिन जनतालाई चित्तबुझ्दो जवाफ दिनु पर्नेछ । दलका नेताहरूले मानवीय मुल्य मान्यता र नैतिकता बिनाको राजनीति कहिले सम्म गर्ने ? राष्ट्र र जनतालाई यो भन्दा बढी पराधीन कति बनाउने भन्ने बिषयमा दलका नेताहरू अव टुङोमा पुग्नुपर्छ । जनताका बीचमा बोलेका कुरा पुरा नगर्ने राजनीतिक दलका नेताहरूलाई सँधै लोकतन्त्रका पहरेदार हुन भनेर मान्नु पर्ने उचित आधार दलका नेताहरूले जनताका बीच प्रस्तुत गर्न आज सम्म सकेका छैनन् । दलका नेताहरूले छातिमा हाथ राखेर यो देशको राजनीति हाम्रा आफ्नै बिवेकले गरिरहेका छौं भन्न सक्दैनन् भने उनीहरूले देशलाई सहज मार्गमा लैजान सक्दैनन् । देश हिजो पनि थियो भोली पनि हुनेछ आजका नेताहरू मात्र यो राष्ट्रका आदि र अन्त्य होइनन् ।
नेपालको राजनीतिमा चासो राख्नेहरूले हेक्का राख्न सकुन हाम्रा कुकर्म र अर्कमण्यताका कारण राष्ट्रमा भाँडभैलो हुँदैछ । जात,भाषा,धर्मका कुरा गरेर समाजलाई बिभक्त गर्नेहरू गलत तरिका बाट आएको विदेशीको पैसामा रमाएका छन्् । उनीहरूका असन्तुलित बिचारलाई नियन्तण गर्ने राज्यको निति छैन । राजनीतिको नाममा दलका नेताका ढोका चाहर्दै हिड्नेहरूले यो राष्ट्रको महत्व र गरिमालाई ओझेलमा पार्ने काम गरेका छन्् ।
नेपालका राजनीतिक दलहरूले नेपालको सत्तामा को बस्ने र को कति टिकी राख्ने भन्ने गलत शोचका आधारमा आफ्नो राजनीतिक धारणा बनाउने र विदेशीहरू सँग पनि त्यही प्रकारको गलत सम्बन्ध र बिचार राख्नाले देश पुर्ण रूपमा पराधिन भएको छ । आत्मनिर्णय सहितको जातीय राज्य नेपाली जनताको माग थिएन । माग्नेहरूका माग जाहेज वा नाजायज जे भए पनि नेपाली जनताको मतका आधारमा भन्दा पनि परचक्रिहरूको गोप्य योजनाका आधारमा निर्माण हुने सत्ता र कुनै पनि सरकारले विदेशीको प्रभावमा परेर राज्यलाई खण्डित गर्न सक्दैन । जस्ले आफ्नो विवेकको तागतमा आफ्नो देशको सत्ता चलाउन सक्दैनन् तिनिहरूलाई राज्य खण्डित गर्ने राजनीतिक अधिकार जनताले कसरी दिन सक्छन् ?
आन्तरिक जनमतको अवमुल्यन गर्दै बाह्य शक्तिको आड लिने सवालमा सबै राजनीतिक दल उत्तिकै चुकेका छन् । राज्य व्यवस्थाको नाम प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि जे–जस्तो राखेपनि त्यो व्यवस्था सञ्चालनको विधी अथवा माध्यम मात्र हो । सबै कुराको समाधान नाम मात्रको व्यवस्थाले गर्न सक्दैन बिवेकको प्रयोग गरिनु पर्दछ । जनताको शान्ति पुर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकारलाई राजनीतिक दलका नेताहरूले आ–आफ्नो अधिनमा राखेर लोकतन्त्रको गफ गरिरहेका छन् । जनताको व्यवस्थामा यो गम्भिर अपराध मानिनु पर्दछ त्यो मानीएको छैन । राष्ट्रिय राजनीतिमा ब्याप्त दाश मानशिकताका कारण नेपाल राष्ट्रले यतिबेला बिश्व राजनीतिक रङमन्चमा हारेको छ । बाह्शक्तिहरूले पनि नेपालमा लोकतन्त्र स्थापना गर्न चाहेका होइनन् भन्ने कुरा तिनीहरूका पछिल्ला गतिबिधिहरूले प्रष्ट गरेको छ ।
दलका नेताहरूले देश र जनता प्रति गद्धारी गरेको हुनाले देशको माँया हुनेहरू जुनसुकै बिचारमा आबद्ध भएका हुन उनीहरूका मन भित्र आगो सल्केको छ । त्यो आगो निभाउन दलका नेताहरू सक्षम देखिदैनन् । उनीहरूले जनताको भोख मात्र जगाई दिए समाधान दिन सक्ने राजनीतिक र नैतिक तागत देखिदैन । देश जलाउने हर्कतलाई अव जनताले स्वीकार गर्न सक्दैनन् । दलका नेताहरू आफै स्वतन्त्र छैनन् उनीहरूले गर्ने कुनै पनि काम स्वतन्त्र हुन सक्दैन । सधै भरी देशलाई निचोरेर बाँच्ने दाउँमा रहेका नेताहरूले आफ्नो अनुहार जनताका सामु अब लुकाउन सक्दैनन् । नेपालका नेताहरू कस्को कुरा सुनेर नेपालको राजनीति गर्दैछन् भन्ने कुरा जनताले जानी सकेका छन्् । विदेशीले बोलाउँदा ससुराली गए जस्तो गरि रमाउनेहरू र विदेशीले भेट्दा शिर ठाडो गर्नेहरूको राजनीतिक तागत पनि जनताले देखि सकेका छन्् ।
देश प्रति ममताहीन मानिसहरूका पछाडि सँधै नेपाली जनता लाग्न सक्दैनन् । जनताका अनगिन्ति आकाक्षाहरू थिए दलका नेताहरूले पुरा गर्न सकेनन् नत राष्ट्र बलियो बनाउन सके । त्यतिमात्र होइन बारम्वार जनतालाई ढाँटने काम भयो । जनतालाई बिभक्त गराएर आफू मात्र बलियो बन्ने आम नेताको चरित्र उदाङो भएको अवस्था छ । यस्तो अवस्थामा ईमान्दारी पुर्वक जनताका बीचमा प्रस्तुत हुन खोज्नेहरूका लागि पनि सजिलो छैन । जनताको बिश्वास राजनीतिक दलहरूले जित्न सकेनन् उनीहरू प्रति जनताले शंका गर्न थालेका छन् । बोली र ब्यवहार फरक फरक गर्नेहरूलाई जनताले लोकतन्त्र प्रति प्रतिबद्ध छन्् भनेर बिश्वास गर्न पनि सक्दैनन् । लोकतन्त्र कुनै निश्चित बर्गको हाली मुहाली गर्ने माध्यम हुन सक्दैन भन्ने कुरा आम जनताले बुझेका छन्् ।
राजनीतिक दलका नेताहरू राष्ट्र र जनताका सामु यसरी किन प्रस्तुत भैरहेका छन् कसैले भन्न सक्दैन । आफ्नो राजनीतिक जीवन र अस्तित्व धरापमा पारेर काम गर्ने भनेको सजिलो कुरा होइन तर दलका नेताहरू त्यो काम सजिलो ढङले गरिरहेका छन् । यसको मुख्य कारण भनेको दलका नेताहरू विदेशीका सामु आफ्नो मत राख्नसक्ने अवस्थामा छैनन् अर्कोतर्फ नेपाली जनताप्रति भरोसा पनि छैन । जनतालाई खुसी बनाएर मात्र नेपालको राजनीतिमा रजाइँ गर्न सकिँदैन भन्ने कुरा दलका नेताहरूले जानेका छन् । जनता त नेताहरूका बुझाइमा भनी खेल्ने विचारहीन वस्तु मात्र हुन् । राष्ट्रिय राजनीतिलाई दलका नेताहरूले हल्का ढंगले लिएका हुन भने अब उनीहरू निस्कनै नसकिने गरी ढिलो चाँडो फस्दै छन् । जसले उनीहरूलाई काँधमा बोकेर शीर्षस्थानमा पुर्‍यायो उसैले सबैको दुर्दशा गराउँदै छ भन्ने कुरा दलका नेताहरूले बुझ्न सकेनन् भने यो चुरिफुरी धेरै समय टिक्नेवाला छैन । सबैलाई चेतना भया ।

प्रतिक्रिया