कतिपय कलेजले नभएका कुरा राखी विज्ञापन गरेका छन्

Swagat-Shresthaनिजी कलेजहरूको शैक्षिक स्तर कस्तो छ ?
देशमा प्रजातन्त्र आएसँगै शिक्षा क्षेत्रमा पनि सुधार आएको छ । शिक्षाको भौतिक पूर्वाधारदेखि शिक्षामा गुणस्तर आएको छ । विगतको भन्दा अहिले देशकै शिक्षाका स्तर माथि उठेको छ । सरकारी शिक्षाको तुलनामा निजीले पनि राम्रै गर्दै आएका छन् । निजी कलेजले उत्पादन गरेका विद्यार्थी अहिले देशविदेशमा खपत भइरहेका छन् । निजीले शिक्षाको क्षेत्रमा धेरै प्रतिफल ओगट्दै आइरहेको छ भन्ने कुरा सर्वविदितै छ । तैपनि केही विकृतिबाहेक निजीले देशकै शैक्षिक गुणस्तरलाई राम्रो बनाउँदै लगेको छ । निजीकै कारण देशको शैक्षिक स्तर माथि उठेको छ ।
सरकारी र निजी कलेजमा के भिन्नता छ त ?
सरकारी विद्यालयका शिक्षक तालिम प्राप्त भएर पनि गुणस्तर शिक्षा दिन सकेका छैनन् । सरकारीमा बढी राजनीति भएका कारण शैक्षिक गुणस्तर हुन सकेको छैन । त्यहाँका शिक्षक दक्ष जनशक्ति भएर पनि नजिता राम्रो गर्न सकेका छैनन् । यसको मुख्य कारण राजनीति हो । उनीहरू दक्ष भए पनि राजनीतिक चपेटामा परी काम गर्दैनन् । अनुगमन गर्ने निकाय भए पनि भएको हुँदैन । अर्को कुरा देशको नीति निर्माण तहमा बस्ने व्यक्तिले पनि निजीमा नै आफ्ना छोराछोरी राखेका छन् । जसले गर्दा सरकारी कलेज सुर्धानेतर्फ कसैको ध्यान जान सकेको छैन । निजी कलेजमा सरकारी जस्तै दक्ष नभए पनि मिहिनेती शिक्षक रहेका छन् । उनीहरूकै मिहिनेतले निजी कलेजले गुणस्तर शिक्षा दिइरहेका छन् ।
सुधार गर्न केके गनुपर्ला ?
पहिलो कुरा त राजनीतिक अस्थिरता हट्नुपर्‍यो । त्यही अस्तिरताले गर्दा अहिले शिक्षाले फड्को मार्न सकेको छैन । अर्को कुरा हामी शिक्षा प्रणाली नै ठीक छैन । देश सुहाउँदो शिक्षा प्रणालीको परिमार्जन गर्नुपर्‍यो । हाम्रो देशमा कृषि प्रधान देश भए पनि कृषि विषयको त्यतिधेरै पढाइ भएको पाइँदैन । कृषि शिक्षालाई फोकस गरेर यहाँको शिक्षा लागू गर्नुपर्दछ । कम्तीमा उच्च शिक्षा लिइसकेपछि विद्यार्थीहरू आफैँले उत्पादनमुखी कार्य गर्न सकून् । त्यस्तो शिक्षा चाहिन्छ । सैद्धान्तिकभन्दा बढी व्यावहारिक शिक्षा लागू हुनुपर्‍यो
निजी कलेजका समस्याहरू केके हुन् ?
सरकारले गुणस्तर शिक्षा दिन नसकिरहेको अवस्थामा अहिलेको एकमात्र गुणस्तर शिक्षा दिने निजी कलेज हुन् । तर उनीहरूलाई सरकारले हेर्न सवालमा सकारात्मक सोच आएको छैन । हाम्रो लगानीको ग्यारेन्टी हुनसकेको छैन । सरकारले निजी विद्यालयको सञ्चालनका लागि स्पष्ट नीति ल्याउन सकेको छैन । हामीले निजी विद्यालय सञ्चालनका लागि छुट्टै ऐन मागेका छौँ तर सरकार त्यो दिने पक्षमा छैन । निजी र सरकारी एउटै नियममा सञ्चालन भएको हुनाले हाम्रो मुद्दाको सुनवाइ हुन सकेको छैन । हामीलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छ ।
निजी कलेजमा विकृति पनि छन् भन्नुभयो, केके छन् त ?
सबै निजी कलेज चोखा छन् भन्न मिल्दैन । केहीले त्यसो गरिरहेका छन् । विद्यार्थी तान्ने खेलमा पनि लागेका छन् । स्वस्थ प्रतिस्पर्धा गरौँ भन्दा मान्दैनन् । अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । विज्ञापन गर्दा भए/नभएको कुरा राखी प्रचारप्रसार गर्छन् । बढी प्रतिशत पास भएको देखाएर विद्यार्थीलाई तान्ने प्रयास गरिरहेका छन् । यो नराम्रो कुरा हो । यसले समग्र सबै कलेजप्रति नकारात्मक छाप पर्ने गर्छ । जसले गर्दा विद्यार्थी अभिभावक कुन कलेज छनोट गर्ने रनभुल्लमा पार्ने गरेका छन् । सबै मिलेर आचारसंहिता पनि गर्नुपर्छ तर गरिरहेका छैनन् ।
सकारले अहिले निजी विद्यालय समग्र सुधारका लागि ल्याएको आचारसंहिता कस्तो छ ?
सरकारले निजी कलेजहरूलाई सञ्चालनको लागि मापदण्ड ल्याएको छ । यो राम्रो सराहनीय हो । आचारसंहितामा धेरै पक्ष राम्रा छन् तर पनि अहिल्यै नै सबै लागू गर्नसक्ने अवस्था छैन । जस्तै, विज्ञापनको तडकभडक आचारसंहिताले रोकेको छ । यो राम्रो पक्ष हो । करोडौँ खर्च गरेर विद्यार्थी तान्ने परम्परा रोकिएको छ । अस्वस्थ प्रतिस्पर्धाको पनि अन्त्य भएको छ । जसले गर्दा कलेजहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न सजिलो बनाइदिएको छ । विद्यार्थी पनि दोधारमा पर्दैनन् । अन्य कुरा पनि राम्रा छन् तर पनि अहिल्यै लागू गर्न सकिँदैन । त्यो विस्तारै लागू हुन्छ । लागू गर्न नसक्ने कुराहरूलाई हामी पुन: छलफलबाट केकसरी गर्न सकिन्छ, त्यसमा लाग्नेछौँ ।
केके कुरा तुरुन्तै लागू गर्न सकिँदैन त ?
विद्यार्थी संख्या तोक्नु, भौतिक पूर्वाधार कलेजको नाम परिवर्तनजस्ता कुरा एकैपटक गर्न सकिँदैन । विस्तार गर्न सकिन्छ ।
अनि, अहिले पनि उच्च शिक्षा माध्यमिक परिषद्ले ल्याएको आचारसंहिताविपरीत कलेजहरूले तडकभडक विज्ञापन गरेको देखिन्छ नि ?
हो, अहिले पनि केही कलेजहरूले तडकभडक विज्ञापन गरिरहेका छन् । हामीहरू काठमाडौं जिल्लाका सबैले संयुक्त रूपमा विज्ञापन गर्दा केही कलेजले छुट्टै गरिरहेका छन्, यो नराम्रो हो । विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराउन मात्र विज्ञापन गर्ने हो । तर, यहाँले आफ्ना कलेजमा भए/नभएको कुरा राखेर विद्यार्थीलाई भ्रमित गर्ने खालेका विज्ञापन गरिरहेका छन् ।
शिक्षाका नाममा अर्बौं रुपियाँ बाहिरिएको छ । यसलाई रोक्न के प्रयास गर्नुभएको छ ?
अहिले बर्सेनि २० अर्ब रुपियाँ शिक्षाका लागि बाहिर गइरहेको छ । ती सबै प्राविधिक विषयका लागि बाहिर गएका हुन् । यसले हामीलाई धेरै क्षति पुर्‍याएको छ । व्यावहारिक शिक्षा समयमा पठनपाठन नहुनु, राजनीतिक कारण गर्दा विद्यार्थी बर्सेनि हजारौँ गइरहेका छन् । अहिले दैनिकजसो विदेश विद्यार्थी लैजानका लागि सेमिनार भइरहेका छन् । यसलाई रोक्न कोही लागि परेका छैनन् । विद्यार्थी संगठनहरू पनि विद्यार्थी लैजाँदा केही बोल्दैनन् । अहिले उनीहरू तात्तिने पर्ने हो तर त्यो भएको छैन ।
निजी कलेजले केही हदसम्म विद्यार्थीलाई रोकेका छन् । तैपनि यो पूर्णरूपमा रोकिएको छैन । हाम्रो प्रयासबाट केही दिनअघि मात्र विद्यार्थीलाई बिदेसिनबाट कसरी रोक्न सकिन्छ भनेर छलफल चलायौँ । यसले पनि केही हदसम्म विद्यार्थी रोक्ने प्रयास गर्दछ । तैपनि, शिक्षा मन्त्रालयले नै विद्यार्थीलाई यहि गुणस्तर र व्यावहारिक शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
निजी कलेज सेवामूलकभन्दा व्यावसायिक बन्दै गइरहेका छन् भनिन्छ नि ?
त्यस्तो केही देखिएको छ । जो शिक्षाभन्दा बाहिरका व्यक्तिले लगानी गरेकोमा, शिक्षामा लगानी घुसपैठ भएकोमा त्यस्तो देखिएको हो । जो अन्य क्षेत्रमा काम गरेका व्यक्तिले लगानी गर्दा तर हामी जो वर्षौंदेखि शिक्षाप्रति समर्पितले व्यवसायिकभन्दा सेवामूलक गरिहेका छौँ । हामी शिक्षाबाट आएको पैसा शिक्षामा लगानी गरिरहेका छौँ । शिक्षालाई कसरी गुणस्तर बनाउनतर्फ बढी केन्द्रित भएका छौँ । पहिलेको भन्दा अहिलेको शिक्षा गुणस्तर बन्दै गइरहेको छ । कक्षामा जानेका कुरा व्यावहारिक प्रयोगात्मक अभ्यास गर्न पाएका छन् विद्यार्थीहरूले ।
कलेजले लोभ्याउन किसिमले प्रचार गरिहेका छन् । विद्यार्थीले कसरी कलेज कसरी छान्ने त ?
विद्यार्थीहरू प्रचारप्रसारको भरमा कलेज छान्नु हुँदैन । कतिपय कलेजले भ्रम फैलाएर पनि प्रचारप्रसार गरिरहेका छन् । त्यस्ताको पछाडि लाग्नु हुँदैन । विद्यार्थी स्वयं कलेजमा गई बुझ्नुपर्छ । विद्यार्थीले कलेजको शिक्षाको गुणस्तर केकस्तो छ ? पहिले पढेका विद्यार्थीसँग पनि बुझ्नु पर्छ अनि मात्र छान्नु पर्छ ।
तपाईं हिसानको नेतृत्वमा आइसकेपछि केके गर्नुभयो त ?
म नेतृत्वमा आएपछि सबै कलेजहरूको परीक्षा प्रणालीमा एक रूपता ल्यायौँ । अहिले पनि विज्ञापनमा एक भएर प्रचारप्रसार गरिरहेका छौँ । यसबाट कलेजमा स्वस्थ प्रतिस्पर्धा भएको छ । विद्यार्थीलाई बिदेसिनबाट रोक्ने एउटा सेमिनार नै राखेका थियौँ । त्यसमा धेरै विद्यार्थीहरू आएका थिए । यसले पनि केही भए पनि विद्यार्थीलाई विदेश जानबाट रोक्ने गर्छ ।
प्रस्तुति : शरद शर्मा

प्रतिक्रिया