रेग्मी सरकारका सय दिन

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारले सय दिन पूरा गरेको छ । उच्चस्तरीय पूर्वकर्मचारी सम्मिलित सरकारले आफ्नो मधुमास अवधिमा केके गर्‍यो वा गरेन भन्ने सवाल आफ्नो ठाउँमा रहला तर आममानिसले यो अवधिमा केकति सुशासनको अनुभूति गरे भन्ने कुराले बढी महत्त्व राख्छ । यसअवधिमा जनताले के–कति अन्याय र अत्याचार भोगे अथवा के–कति राहत र त्राणको अनुभूति गरे भन्ने कुराको फेहरिस्त फेरि अर्कै होला र हुन पनि सक्छ ।
सामान्यतया कुनै पनि सरकारको पहिलो सय दिन भनेको सबै प्रकारका वैरभाव र दुस्मनी भुलेर राष्ट्रको जिन्दगीसँगै अगाडि बढाउन तम्सिनुपर्ने अवस्थाको आधारभूमि हो । त्यसैले केही नयाँ कार्यक्रम र केही नयाँ योजना आदि लिएर नयाँ सरकार अरूभन्दा भिन्न रूपमा प्रस्तुत हुन्छन् । यस्तोमा राज्यले मन्त्रालयका खास पदमा रहेका व्यक्तिलाई सरुवा–बढुवा गर्नेबाहेक अरू धेरै काम गर्नुपर्ने हुन्छ ।
सबै राजनीतिक दलबीच आम सहमति गराएर संविधानसभाको निर्वाचन गर्न बहालवाला प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएको हो । तसर्थ, सरकारले जति सक्दो छिटो मुलुकमा आमनिर्वाचन गराओस् भन्ने जनताको अपेक्षा थियो ।
यो बीचमा सरकारले के महत्त्वपूर्ण काम गर्‍यो भन्ने सवाल ज्यूँका त्यूँ छ । उसले विभिन्न राजनीतिक दलले के गरे भन्ने आफ्नो विषय बनाएको रहेनछ । सरकारको खास दायित्व भनेको असन्तुष्ट दललाई पनि निर्वाचनको् घेराभित्र लिएर आउनु नै थियो र हो । योबाहेक रेग्मी सरकारले निर्वाचनको मिति घोषणा गर्नु, निर्वाचन क्षेत्र पुन:संरचना आयोग गठन गर्नु, मतदाता नामावली अद्योपान्त गर्नु, सुरक्षा व्यवस्थाको जोडजाम गर्नु आदि अनेक दायित्व थिए ।
यीबाहेक, सरकारी संयन्त्रले नयाँ र पूर्णबजेट ल्याउने र निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पार्ने आदि विषयहरू छन् । यी सबै कुराको कुल जोड के हो भने रेग्मी सरकार जसले जे जसरी परिभाषित गरे पनि केवल चुनावी सरकार हो । त्यसकारण यसलाई सबैले पूर्ण सहयोग गरेर स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित निर्वाचन गराएर दुनियाँलाई देखाउन सकियो भने त्यो नै ठूलो उपलब्धि हुनेछ । अन्यथा, चुनावी सरकारले यस्तो वा उस्तो गरेन भनेर धारे हात लाउनुको कुनै तुक हुने छैन र हुँदैन पनि । सबैलाई यो कुराको चेतना भया ।
रेग्मी सरकार कुनै राजनीतिक सरकार होइन । यो त केवल चार प्रमुख दलले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको फगत एक हिस्सा मात्र हो । तसर्थ यसलाई सफल अथवा असफल बनाउने दायित्व पनि उनै दलहरूमाथि नै छ । राम्रो त के हो भने राजनीतिको दलदलमा जाकिनुभन्दा अगावै यही रेग्मी सरकारलाई अगाडि बढ्न दिने र संविधानसभाको नयाँ चुनाव गराउन सक्ने वातावरण तयार पार्नु हो । यही नै हालका लागि राम्रो उपलब्धि मानिनेछ ।

प्रतिक्रिया