सुधारिएको चुलो तथा शौचालयले स्थानीय दंग

गुल्मी, १० असार । आफ्नो गाविस जिल्लामै पहिलो उज्यालो गाविस बनेपछि म्यालपोखरीका स्थानीयवासिन्दा खुसीले दंग भएका छन् । जिल्लामा रहेका पाँच सय सात घरधुरीमा नवीकरणीय ऊर्जाको प्रयोग गरिएपछि गाविसलाई जिल्लामै पहिलो गाविस घोषणा गरिएपछि स्थानीय खुसी भएका हुन् । उज्यालो मात्रै हैन आफ्नो गाविस घरभित्रको वायु प्रदूषण मुक्त तथा खुला दिसामुक्त गाविस भएपछि स्थानीय अझ बढी खुसी भएका छन् ।

‘गाउँभर सबैको घरमा सोलार जडानगरेपछि गाविस नै उज्यालो भएको, हामी साह्रै खुसी भएक छौँ,’ म्यालपोखरीकी पार्वता कुँवर भन्छिन्, ‘अब अध्यारोमा बस्नुपर्ने समस्या हटेको छ । बालबालिकाले पनि उज्यालोमा पढ्नेछन् ।’ पछिल्लोपटक यो वर्ष गाविसका एक सय ६० घरधुरीमा १० वाटको सोलार जडान गरिएसँगै गाविस जिल्लामै पहिलो उज्यालो गाविस भएको हो । अरू घरधुरीहरूमा अघिल्लो वर्षमा नै सोलार बालिएको थियो । विपन्न परिवारलाई राहतका लागि विभिन्न संघ संस्थाले सोलार जडानका लागि आर्थिक सहयोग गरेका छन् ।
सोलार जडानका लागि जिल्ला विकास समिति गुल्मी तथा गाविसले आर्थिक सहयोग गरेको छ । पछिल्लोपटक जडान गरिएका एक सय ६० सोलारमा प्रति सोलारको दरले दुई हजार पाँच सय रुपियाँ जिल्ला विकास समितिले आर्थिक अनुदान उपलब्ध गराएको स्थानीय विकास अधिकारी हरि ज्ञवालीले बताए । ‘उज्यालो गाविस कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराएका हौँ । विशेषगरि विद्युत नपुगेका गाविसमाा सहयोग हुन्छ,’ ज्ञवालीले भने, ‘जिल्लाका अरू गाविसमा पनि विस्तारै उज्यालो बनाउने अभियानमा छौँ ।’ जिल्ला विकास समिति तथा गाविसको सहयोगमा ६ हजार पर्ने सोलारलाई तीन हजारमै बाल्न पाउँदा स्थानीय खुसी छन् ।
साथै गाविसलाई जिल्लाकै तेस्रो घरभित्रको वायु प्रदूषणमुक्त गाविस तथा जिल्लाकै १६औँ खुला दिसामुक्त गाविस पनि घोषण गरिएको छ । रेडा पाल्पा तथा जिविसको समन्वयमा गाविसका ११ जना महिला तथा पुरुषलाई वैशाख महिनामा चुलो बनाउने तालिम दिइएपछि अहिले घरघरमा सुधारिएको चुलो जडान भएको रेडा पाल्पाका गुल्मी संयोजक ज्ञानबहादुर महतराले बताए । गाविसमा जेठ महिनाभर सुधारिएिको चुलो बनाउने लहर चलेको थियो । अहिले गाविसका सम्पूर्ण घरधुरीमा सुधारिएको चुलो प्रयोग भएको छ ।
घरमा सुधारिएको चुलो प्रयोग भएपछि महिलाको स्वास्थ्यमा पनि सकरात्मक प्रभाव देखिन थालेको छ । गाविसलाई घरभित्रको धुँवा मुक्त बनाउनका लागि लालिगँुरास महिला समूह म्यालपोखरीले विशेष भूमिका निर्वाह गरेको गाविस सचिव डिल्लिराज भट्टराईले बताए । साथै जिल्लालाई खुला दिसामुक्त गाविस बनाउने अभियानअन्तर्गत १६औँ खुला दिसामुक्त गाविस बनाइएको हो ।

प्रतिक्रिया